काठमाडौं । ब्राजिलले बिहीबार कतार विश्वकपमा सर्बियाविरुद्ध २–० को विजय हासिल गर्दा बेन्चमा रहेका नेइमार रोइरहेका थिए । नेइमारको आँसु हर्षको थिएन, त्यो पीडाको थियो ।नेइमार खुट्टामा लागेको चोटका कारण ७९औँ मिनेटमा मैदानबाट बाहिर आएका थिए ।
नेइमारको कुर्कुच्चामा लागेको चोट कति गम्भीर छ भन्ने आज मात्र थाहा हुने बताइएको छ । जसका कारण नेइमारले विश्वकपका बाँकी खेल खेल्न सक्छन् कि सक्दैनन् भन्नेमा शंका उत्पन्न भएको छ ।‘‘हामीलाई विश्वास छ, नेइमारले विश्वकपका बाँकी खेल खेल्नेछन्,’’ ब्राजिलका प्रशिक्षक टिटेले भने ।
सर्बियाका निकोला मिलेन्कोभिकसँग ठोक्किँदा नेइमारको दायाँ कुर्कुच्चामा चोट लागेको हो । चोट लागेपछि पनि ११ मिनेटसम्म नेइमारले खेल्ने प्रयास गरेका थिए । त्यसपछि उनले खेल्न सकेनन् र मैदान छाडे । उनको स्थानमा एन्टोनी मैदान छिरेका थिए ।
“नेयमारको दाहिने घुँडामा चोट लागेको छ,’’ ब्राजिल टिमका डक्टर रोड्रिगो लास्मारले भने, ‘‘हामीले तुरुन्तै उनको उपचार सुरु गर्यौँ । उनले फिजियोथेरापीबाट पनि उपचार जारी राखेका छन् । एमआरआईमार्फत चोटको प्रकृतिबारे राम्रोसँग बुझ्नको लागि २४ देखि ४८ घण्टा चाहिन्छ ।
शुक्रबार मात्र हामीले उनको अवस्थाबारे थाहा पाउनेछौँ । अहिले यस विषयमा कुनै टिप्पणी गर्न सक्दैनौँ ।’’ब्राजिलले ६२औँ मिनेटमा रिचार्लिसनको गोलबाट अग्रता लिएको थियो । ७३औँ मिनेटमा रिचार्लिसनले नै ब्राजिलको अग्रता दोब्बर बनाएका थिए ।जितसँगै तीन अंक जोडेको ब्राजिल समूह ‘जी’को शीर्ष स्थानमा छ ।
यो समूहमा समान तीन अंक जोडेको स्वीट्जरल्यान्ड दोस्रो स्थानमा छ । सर्बिया र क्यमारुन अंकविहीन छन् । बिहीबारै सम्पन्न खेलमा स्वीट्जरल्यान्डले क्यामरुनलाई १–० ले हराएको थियो ।ब्राजिलले अब दोस्रो खेल स्वीट्जरल्यान्डविरुद्ध खेल्नेछ । सर्बियाले क्यामरुनविरुद्ध खेल्नेछ ।
यो पनि – घानाका प्रशिक्षक ओटो अद्दोले पोर्चुगलविरुद्ध खेलमा रेफ्रीले आफ्नो पक्षमा निर्णय नदिएको कारण नै हार बेहोरेको बताउँदै रोनाल्डोलाई रेफ्रीले पेनाल्टी उपहार दिएको बताएका छन् ।विहीबार रंगशाला ९७४ मा पोर्चुगलविरुद्ध ३-२ को हार बेहोरेपछि पत्रकार सम्मेलनमा बोल्दै ओटोले रेफ्रीको निर्णयका कारण खेल हार्न पुगेको बताए ।
‘पेनाल्टीसम्म हामीले राम्रो खेल्यौं । कम अवसर पाएपनि हामीले राम्रो डिफेन्स गरेका थियौं । पोर्चुगलले गोल गरेपछि खेल परिवर्तन भयो । त्यो पेनाल्टी गलत निर्णय थियो । बल हामीले खेलेका थियौं र त्यो अवस्थामा खेलाडी जुध्दा त फल थिएन नै भन्ने लाग्छ,’ उनले भने ।
कप्तान आयुलाई परिवर्तन गर्नुले खेलमा असर नगरेको उनको बुझाइ थियो । ‘कप्तान आन्द्रेलाई पहेंलो कार्ड पाएपछि अन्त्यमा परिवर्तन गरेका थियौं । नयाँ खेलाडीले जोश प्रदान गर्ने सोचेको थिएँ । खेल १-१ को बराबरीमा हुँदा उनलाई विश्राम दिएको थियौं । उनको अनुपस्थितिले असर परेको थिएन,’ ओटोले थपे ।
रेफ्रीको निर्णयप्रति भने ओटो निकै निराश देखिए । ‘हामी अलिकति अभागी भयौं । रेफ्रीले पनि हाम्रो पक्षमा निर्णय दिएनन् । आज हामीले राम्रो खेलेका हौं, तर नतिजा निकाल्न नसक्दा दुखी छौं ।’‘हामीले रेफ्रीका कारण हार्यौं भन्न सक्छौं । खेल दुवै तर्फ जान सक्थ्यो ।
इनाकीले अन्तिममा बराबरी गर्ने अवसर पनि पाएका थिए, तर दुर्भाग्य उनी चिप्लिन पुगे । विश्वको उत्कृष्ट मध्यको टोलीसँग यो स्तरको खेल देखाउँदा खुसी नै छु ।’‘हामीले रेफ्रीसँग खेलपछि बोल्ने प्रयास पनि गरेका थियौं । तर रेफ्री मिटिङमा व्यस्त रहेको भन्दै बोल्न पाएनौं । यस्तो निर्णय दिएपछि त्यसबारे हामीले बोल्न पनि पाउनुपर्छ ।’
ओटोले अफ्रिकी राष्ट्रले जारी विश्वकपको पहिलो खेल सकिँदा जित हासिल गर्न नसकेकोमा पनि आफ्नो धारणा राखे । ‘अफ्रिकी राष्ट्रको कुरा गर्दा हाम्रो महादेशबाट ५ राष्ट्र मात्र आएका छन् । युरोपबाट १२-१४ देश आउँछन् । हामीले आज प्रतिस्पर्धा गर्यौं, सेनेगलले पनि नेदरल्यान्ड्सलाई चुनौती दिएको छ । हामीले नराम्रो खेलेका छैनौं,’ उनले बताए ।
घाना अझैपनि नकआउट चरण जान सक्नेबारे ओटो सकारात्मक देखिए ।’हामीसँग अझै अघि बढ्ने अवसर छ । अर्को खेल बराबरी भएकाले पनि हामीलाई अवसर छ । अर्को खेलमा हामी र पोर्चुगल दुवैले जित हासिल गरे हामी दोस्रो स्थानमा जानेछौं ।अर्को खेल कोरियासँग कठिन हुनेछ । उनीहरु पनि दबाबमा नै छन्,’ ओटोले भने ।
ओटोलाई रोनाल्डोले पाँचौ विश्वकप खेल्दै सबै संस्करणमा गोल गरेकोबारे प्रश्न सोधिएको थियो । तर उनले रोनाल्डोबारे खुलेर बोल्न चाहेनन् । ‘गोल गर्ने हरेक खेलाडीलाई बधाई दिन चाहन्छु । रोनाल्डोलाई पनि बधाई छ । तर आजको गोल उपहार थियो । रोनाल्डोले रेफ्रीबाट विशेष उपहार पाए,’ उनले थपे ।
Leave A Comment