एजेन्सी। विश्वकपकाे शुक्रबारकाे दाेस्राे खेलमा आयोजक कतारले अफ्रिकी च्याम्पियन सेनेगलसँग प्रतिस्पर्धा गर्दैछ। याे खेल नेपाली समयअनुसार साँझ ६:४५ बजेपछि हुनेछ। समूह चरणको दोस्रो राउन्डकाे खेलमा दुवै टोली पहिलो अंककाे खाेजीमा छन्।
यी दुवै टोली आफ्नो पहिलो खेलमा पराजित भएका थिए। कतारले इक्वेडरसँग तथा सेनेगलले नेदरल्यान्ड्ससँग २–० को हार बेहोरेका थिए। पहिलोपटक विश्वकपमा प्रतिस्पर्धा गरिरहेको कतार घरेलु मैदानमा कम्तीमा एक खेल जित्न चाहान्छ। तर अफ्रिकी च्याम्पियनविरुद्धको याे खेल पनि कतारलाई त्यति सहज नहुने देखिन्छ।
सेनेगलका लागि भने चाेटका कारण विश्वकपबाट बाहिरिएका मुख्य स्ट्राइकर साडियो मानेकाे अभाव याे विश्वकप भरि नै खड्किरहने छ। कतार र सेनेगलबीचको यो हालसम्म कै पहिलो अन्तर्राष्ट्रिय खेल हो। उता विकेटकिपर टम लाथमको सानदार शतकमा न्युजिल्यान्डले पहिलो ओडिआई खेलमा भारतमाथि ७ विकेटको सानदार जित हात पारेको छ ।
योसँगै तीन ओडिआई खेलको सिरिजमा १-० को अग्रता लिएको छ ।जितको लागि ३ सय ७ रनको बलियो लक्ष्य पछ्याएको न्युजिल्यान्डले ४७.१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । न्युजिल्यान्डको जितमा टम लाथमले १ सय ४ बलमा १९ चौका र ५ छक्कासहित १ सय ४५ रनको सानदार अविजित इनिङ खेले ।
लाथमको यो ओडिआई करिअरको सर्वोत्कृष्ट र सातौं शतक हो । यसअघि लाथमको ओडिआईमा उत्कृष्ट प्रदर्शन यसै वर्ष नेदरल्यान्ड्सविरुद्ध १ सय ४० रन अविजित थियो । कप्तान केन विलियम्सन ९८ बलमा ७ चौका र १ छक्कासहित ९४ रनमा अविजित रहे ।
चौथो विकेटका लागि विलियम्सन र लाथमले २ सय २१ रनको अविजित साझेदारी गरेका थिए । एक समय ३८ ओभरको खेल सकिँदा केन विलियम्सन ७२ र लाथम ६९ रनमा अविजित थिए । तर ४० औं ओभरमा शार्दुल ठाकुरलाई लाथमले एक छक्का र चार चौका प्रहार गर्दै कुल २५ रन जोडेपछि केन विलियम्सनलाई पछि पारेका थिए ।
त्यसपछि लाथमले लगातार आक्रामक ब्याटिङका साथ सहज जित दिलाए ।ओपनर फिन एलेन २२, डेभन कन्वे २४ र डर्याल मिचेल ११ रनमा आउट भए । भारतका उमरान मलिकले दुई र शार्दुल ठाकुरले एक विकेट लिए ।त्यअसघि इडेन पार्क अकल्यान्डमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३ सय ६ रन बनायो ।
भारतका श्रेयस ऐरले ७६ बलमा ४ चौका र ४ छक्कासहित सर्वाधिक ८० रनको योगदान दिए । भारतलाई ओपनर शुभमन गिल र कप्तान शिखर धवनले पहिलो विकेटका लागि २३.१ ओभरमा १ सय २४ रनको शतकीय साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए ।
लोकी फर्गुसनको बलमा गिल डेभन कन्वेबाट क्याच भएपछि साझेदारी तोडिएको थियो । शिखर धवन ७७ बलमा १३ चौकासहित ७२ रनमा आउट भए । धवन गिल आउट भएको अर्को ओभरमा टिम साउथीको बलमा फिन एलेनबाट क्याच आउट भएका थिए ।
लोकी फर्गुसनले ऋषभ पन्तलाई १५ रनमा बोल्ड गरे । सूर्यकुमार यादव फर्गुसनको बलमा ४ रनमा क्याच भएपछि भारत १६०–४ को अवस्थामा पुगेको थियो । पाँचौं विकेटका लागि श्रेयस र स्यामसनले ९४ रनको साझेदारी गर्दै भारतको धरमराएको इनिङ उकासेका थिए ।स्यामसन ३८ बलमा ४ चौकासहित ३६ रनमा क्याच आउट भए ।
वासिन्टन सुन्दर १६ बलमा ३ चौका र ३ छक्कासहित ३७ रनमा अविजित रहे ।न्युजिल्यान्डका लोकी फर्गुसनले १० ओभरमा १ मेडनसहित ५९ रन खर्चेर ३ विकेट लिए ।टिम साउथीले १० ओभरमा ७३ रन खर्चेर ३ विकेट लिए । एडम मिल्नेले एक विकेट लिए । दोस्रो खेल आइतबार र तेस्रो खेल बुधबार हुनेछ ।
Leave A Comment