Latest
img

एसियाली टोली इरानले वेल्सलाई हरायो

खेलको अन्तिम समयमा दुई गोल गर्दै फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह बी को खेलमा इरानले वेल्सलाई २-० ले पराजित गरेको छ ।खेल अवधिभर आक्रमक देखिएको इरान विरुद्ध गोलरक्षक वायन हेनेसी पटक पटक बाधक बनेका थिए ‌‌। इरानको दुई प्रहार पोस्टमा पनि लागेको थियो ।

तर अन्त्यतिर हेनेसी रातो कार्ड खाँदै बाहिरिएपछि इरानले इन्ज्युरी समयमा त्यसको फाइदा उठाउँदै दुई गोल गर्यो ।१२ औं मिनेटमा वेल्सको अग्रता लिने प्रयासमा गोलरक्षक होसेनी बाधक बने । कनर रोबर्ट्सको क्रसमा किएफर मुरको प्रहारलाई उनले पोइन्ट ब्लान्क रेन्जबाट बचाए ।

१५ औं मिनेटमा इरानले गोल गरेपनि त्यसले मान्यता पाउन सकेन । सरदार अजमौनले दिएको पासमा अली घोलीजादेहले गोल गरेपनि उनी खाली पोस्टमा प्रहार गर्नुअघि अफसाइड रहेको देखिएका थिए ।पहिलो हाफको इन्ज्युरी समयमा पुन: अजमौनकै पासमा इरानले अग्रता लिन सकेन ।

पेनाल्टी क्षेत्रभित्र उनले दिएको बललाई अहमद नुरल्लाहीले गोल गर्न सकेनन् । त्यसपछि उनले लामो दुरीबाट गरेको प्रहार गोलरक्षक वायन हेनेसीले बचाए ।दोस्रो हाफको सुरुवातमा इरान पुन: अग्रता लिनबाट चुक्यो । लगातार दुई पटक पोस्ट बाधक बन्दा इरान अघि बढ्न सकेन ।

अजमौनले वन भर्सेस वनमा गरेको प्रहार पोस्टमा लागेर फर्केपछि घोलीजादेहले पेनाल्टी क्षेत्र‌बाहिरबाट गरेको शक्तिशाली प्रहार पनि पोस्टमै लाग्यो । उक्त रिबाउन्डमा अजमौनको प्रयास गोलरक्षक हेनेसीले बचाए ।७३ अ‍ौं मिनेटमा पुन: एकपटक हेनेसीले खेल बराबरीको अवस्थामा राखे ।

साइद एजातोलाहीले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार उनले दायाँतर्फ डाइभ दिँदै पोस्टबाट बाहिर राखे ‌।८४ अ‍ौं मिनेटमा वेल्सको प्रयासमा गोलरक्षक होसेनी बाधक बने । बेन डेभिसले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहारलाई क्रसबार माथि पठाए ।८६ अ‍ौं मिनेटमा वेल्स १० खेलाडीमा समेटियो ।

गोलरक्षक वायन हेनेसीले पेनाल्टी क्षेत्र बाहिर बल रोक्ने प्रयासमा इरानका फरवार्डलाई लडाएपछि रेफ्रीले भिएआरको सहायता लिँदै रातो कार्ड दिए । वैकल्पिक गोलरक्षक ड्यानी वार्डले त्यसपछि आरोन राम्जीको स्थान लिए । लगत्तै मेहदी तोराबीको प्रहार पोस्टबाट बाहिरियो ।

इन्ज्युरी समयमा रुज्बेह चेस्मीले गोल गर्दै इरानलाई अग्रता दिलाए । उनले थप गरिएको नवौं मिनेटमा पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार बटम कर्नरमा गोल भएको थियो ।त्यसको केहिबेरमा नै इरानले अर्को गोल थप्यो । वेल्स बराबरी गोल गर्न अघि बढेको अवस्थामा काउन्टर अट्याकमा रमिन रेजानले गोल गरे ।

थप समयको ११ औं मिनेटमा मेहदी तारेमीले दिएको पासलाई नियन्त्रणमा लिँदै उनले संयमित फिनिस गर्दै २-० को जित सुनिश्चित गरे ।यससँगै इरानले पहिलो खेलमा बेहोरेको हार बिर्साउँदै नकआउट चरणमा पुग्ने सम्भावना जिवित राखेको छ । इंग्ल्यान्डले १ खेलमा ३ अंक जोडेको छ र आज अमेरिकासँग खेल्नेछ । वेल्स र अमेरिकाको १-१ अंक छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment