काठमाडौँ – फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह ए को खेलमा नेदरल्यान्ड्स र इक्वेडरले १-१ को बराबरी खेल्दै अंक बाँडेका छन् ।खलिफा रंगशालामा शुक्रबार नेदरल्यान्ड्सले खेलको सुरुवातमा अग्रता लिएपनि त्यसलाई जोगाउन सकेन ।
कोडी गाक्पोले अग्रता दिलाएको नेदरल्यान्ड्सले खेल अघि बढ्दै जाँदा आक्रमणलाई निरन्तरता दिन सकेन । जवाफमा इक्वेडरले भने पटक पटक डच टोलीको डिफेन्सलाई समस्या दियो । इक्वेडरले दोस्रो हाफको सुरुवातमै कप्तान एनर भ्यालेन्सियाको गोलमा पुनरागमन गर्यो ।
त्यसपछि पाएको अवसर सदुपयोग गर्न नसक्द खेल बराबरीमा सकियो ।खेलको पाँचौ मिनेटमा नै कोडी गाक्पोले नेदरल्यान्ड्सलाई अग्रता दिलाए । पेनाल्टी क्षेत्र बाहिर डेभी क्लासेनले दिएको चलाखीपूर्ण पासलाई उनले अघि बढाउँदै गोलमा परिणत गरे । पहिलो हाफको इन्ज्युरी समयमा इक्वेडरले गोल फर्काएको थियो ।
तर भिडियो असिस्टेन्ट रेफ्रीले उक्त गोललाई मान्यता दिएन । गोल हुने क्रममा गोलरक्षकलाई अफसाइडमा बसेको खेलाडीले छेकेका कारण गोलले मान्यता पाउन सकेन ।दोस्रो हाफको सुरुवातमा भने इक्वेडरले बराबरी गोल फर्कायो । उद्घाटन खेलमा दुई गोल गरेका कप्तान एनर भ्यालेन्सियाले इक्वेडरलाई खेलमा फर्काए ।
पेर्भिस एस्तुन्पियानको प्रहारलाई गोलरक्षक एन्द्रिज नोपर्टले विफल पारेपनि रिबाउन्डमा भ्यालेन्सियाले बललाई सहजै पोस्टको दिशा दिए ।५९ औं मिनेटमा इक्वेडरको अग्रता लिने प्रयासमा क्रसबार बाधक बन्यो । क्लियर नभएको क्रसमा गोन्जालो प्लाटाले गरेको शक्तिशाली प्रहार गोलरक्षक नोपर्टले जोगाउन नसक्दा क्रसबारमा लागेर फर्केको थियो ।
त्यसअघि समूह ए को खेलमा आयोजक कतार सेनेगलसँग ३-१ ले पराजित भएको थियो । पहिलो हाफको अन्त्यतिर बोउलाए डियाको गोलमा अग्रता लिएको सेनेगलले दोस्रो हाफको सुरुवातमै फामारा देधिउको गोलमा अग्रता बढाएको थियो । तर मोहमद मुन्टारीले कतारका लागि विश्वकप इतिहासकै पहिलो गोल गर्दै खेलमा फर्कने संकेत दिए ।
थकित डिफेन्सविरुद्ध वैकल्पिक खेलाडी बाम्बा डीएङले गोल थप्दै सेनेगललाई जित दिलाए ।समूह ए मा नेदरल्यान्ड्स र इक्वेडरको समान ४-४ अंक छ । तेस्रो स्थानको सेनेगलको ३ अंक छ भने कतार दुवै खेल हार्दै विना अंक पुछारमा छ ।
Leave A Comment