Latest
img

कतार विश्वकपको उपाधि जित्न अर्जेन्टिनाले अब यी ६ टिमलाई लगातार हराउनुपर्छ

काठमाडौं- २२औं संस्करणको बहुप्रतीक्षित फिफा विश्वकप फुटबल कतारमा जारी छ । आज विश्वकपको छैटौं दिन हो । ५ महादेशका ३२ देशले प्रतिस्पर्धा गर्ने विश्वकपमा ५–७ वटासम्म उपाधि दाबेदार देश छन् । आयोजक कतार भने लगातार २ खेल हारेपछि गत राति नै प्रतियोगिताबाट आउट भइसकेको छ ।

खेलाडी, प्रशिक्षक र समर्थकले विश्वकपको सम्भावित च्याम्पियनबारे आ–आफ्नै दाबी पेश गरिरहेका छन् । धेरै मानिसले साबिक च्याम्पियन फ्रान्स, ५ पटककको विजेता ब्राजिल र २ पटकको च्याम्पियन अर्जेन्टिनालाई प्रमुख दाबेदार मानेका छन् । यो विश्वकप धेरै लिजेन्ड र सुपरस्टार खेलाडीका लागि अन्तिम विश्वकप हुने भएकाले महत्त्वपूर्ण र भावनात्मक बन्नेवाला छ ।

आफ्नो समयका सुपरस्टार खेलाडीहरू अर्जेन्टिनाका लियोनल मेस्सी, पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र क्रोएसियाका लुका मोड्रिच लगायतका लागि यो अन्तिम विश्वकप हुनेछ ।७ पटक बालोन डिओर विजेता मेस्सीको देश अर्जेन्टिनाले यस विश्वकपमा राम्रो सुरुआत गरेको छैन । समूह चरणको पहिलो खेलमै उसलाई एसियाको कमजोर टिम साउदी अरबले नमिठो गरी २–१ ले हरायो ।

पहिलो खेल हारेपछि अर्जेन्टिना दबाबमा छ । उसले आजै राति दोस्रो खेल बलियो टिम मेक्सिकोसँग खेल्दै छ । यो खेल हुँदा अर्जेन्टिना पहिलो जितको खोजीमा हुनेछ । सन् २०१४ को ब्राजिल विश्वकपको फाइनलमा जर्मनीसँग १–० ले पराजित अर्जेन्टिना २०१८ को रसिया विश्वकपको अन्तिम १६ मा फ्रान्ससँग ४–३ ले पराजित भएर आउट भएको थियो ।

कप्तान मेस्सीका लागि अन्तिम हुने विश्वकपमा हुनै पनि हालतमा अर्जेन्टिना उपाधि जित्ने होडमा रहेको छ ।धेरैले अर्जेन्टिनालाई उपाधि जित्न सक्ने मुख्य दाबेदार मानेका छन् भने धेरै अनलाइन सर्वे तथा भविष्यवाणीले पनि अर्जेन्टिनाको पक्षमा अनुमान लगाएका छन् । के अर्जेन्टिनाले कतार विश्वकप जितेर तेस्रो उपाधि जित्दैछ ? मेस्सी करियरको अन्तिम विश्वकप जितेर सुख्द सन्यास लिँदैछन् ?

यो थाहा हुँदै जानेछ । सबैभन्दा पहिला अर्जेन्टिनाले आज राति मेक्सिकोलाई हराउन सक्नुपर्छ । आफ्नो खेलअघि पहिलो खेलमा अर्जेन्टिनालाई हराउने साउदी अरब र पोल्यान्डको खेल हुनेछ । यदि सो खेलमा साउदी अरब विजयी भयो अनि मध्यराति अर्जेन्टिना आफ्नो खेलमा मेक्सिकोसँग पराजित भएको खण्डमा अर्जेन्टिनाको विश्वकप यात्रा आजै राति सकिनेछ । घर, बेलैमा घर फर्किनेछ ।

यदि अर्जेन्टिना अहिलेको चुनौती छिचोलेर नकआउट चरण प्रवेश गर्छ भन्ने कुरामा विश्वास गर्ने हो भने अर्जेन्टिनाको कतार विश्वकप यात्रा कस्तो होला ? कहाँसम्म पुग्ला ? त्यसका लागि यो टिमले कुन चरणमा कुन–कुन टिमसँग भिड्नुपर्ला ? फिफाको घोषित ड्र अनुसार अर्जेन्टिनाले समूह चरणबाट अघि बढेपछि पाउने सम्भावित प्रतिस्पर्धीको बारेमा यहाँ चर्चा गरिएको छ ।

फिफाले सुरुआतमै फाइनलसम्मको ड्र तय गरेकाले फेरि गोलाप्रथा गर्नुपर्दैन । अन्तिम १६, अन्तिम ८ र अन्तिम चारको ड्र भइककेको छ । मात्रै ती खालि ठाउँमा जाने टिमको तय हुन बाँकी छ । त्यसरी जाने टिमको दृश्य समूह चरणका खेल सकिएर अन्तिम १६ मा जाने १६ टिम तय भएपछि देखिने नै छ ।

यसको अर्थ यदि कुनै टिम अन्तिम १६ प्रवेश गरेपछि उसले अघिल्ला चरणमा कुन–कुन टिम प्रतिस्पर्धा पाउँछ भन्ने विषयमा अहिले नै अधिकतम् अनुमान गर्न सकिन्छ । अर्जेन्टिनाको विषयमा हामीले यहाँ त्यहीं अनुमान गरेका छौं ।मानौं, अर्जेन्टिना समूह चरणमा विजेता वा उपविजेता बनेर अन्तिम १६ मा गए उसले अगाडि कुन–कुन टिम पाउन सक्छ ?

अन्तिम १६, क्वार्टरफाइनल र सेमिफाइनलमा उसले कुन–कुन देश पाउला ? त्यसको सम्भावित दृश्य अहिले नै देख्न सकिन्छ । अब सिधैं कुरा कुरौं अर्जेन्टिनाले अन्तिम १६ बाट उता पाउने प्रतिस्पर्धी देशको । यदि अर्जेन्टिना नकआउट चरणमा प्रवेश गर्न सके उसले अन्तिम १६ मा डेनमार्क प्रतिस्पर्धी पाउने सम्भावना प्रबल छ ।

अर्जेन्टिना आफ्नो समूहमा विजेता बन्छ भन्ने कुरा विश्वास गर्ने हो भने उसले अन्तिम १६ मा समूह ‘डी’बाट उपविजेता बनेर आउने टिमसँग खेल्नुपर्ने छ । यसका लागि समूह ‘डी’बाट डेनमार्क उपविजेता बन्नुपर्छ । सो समूहमा फ्रान्स, अस्ट्रेलिया, डेनामार्क र ट्युनिसिया परेका छन् ।

अर्जेन्टिना आफ्नो समूहको विजेता बनेको खण्डमा उसले समूह ‘डी’को उपविजेता सँग खेल्नुपर्छ । तर, समूह ‘डी’बाट फ्रान्स उपविजेता बनेर अघि बढे अर्जेन्टिनाले अन्तिम १६ मै फ्रान्ससँग भिड्नुपर्ने छ । वा, अर्जेन्टिना उपविजेता बन्यो र फ्रान्स विजेता बनेको खण्डमा पनि अन्तिम १६ मा फ्रान्स र अर्जेन्टिनाकै खेल हुनेछ ।

बुझ्नुपर्ने कुरा के हो भने, समूह ‘सी’ र समूह ‘डी’बाट अन्तिम १६ मा पुगेका टप–२ टिमले अन्तिम १६ मा एकअर्काविरुद्ध भिड्ने तय छ । जहाँ समूह विजेताले अर्को समूहको उपविजेता र उपविजेताले अर्को समूहको विजेतासँग खेल्नुपर्ने । जो–जो विजेता र उपविजेता बने पनि यदि बलिया टिम अन्तिम १६ मा प्रवेश गर्छन् भन्ने कुरामा विश्वास गर्ने हो भने अन्तिम १६ अर्जेन्टिनाले फ्रान्स र डेनमार्क मध्ये एक टिम पाउने पक्का छ ।

यो केवल अनुमान हैन, फिफाको ड्रबाटै तय भएको टाई हो । किनभने, ड्र अनुसार समूह ‘ए’का २ शीर्ष टिमले अन्तिम १६ मा समूह ‘बी’का २ शीर्ष टिमसँग खेल्नुपर्ने छ ।त्यसैगरी, समूह ‘सी’का २ शीर्ष टिमले छेवैको समूह ‘डी’का शीर्ष २ सँग खेल्नुपर्ने । छ । त्यस्तै गरी, समूह ‘ई’ र समूह ‘एफ’का टप २ टिमले अन्तिम १६ मा एकअर्काविरुद्ध खेल्नेछन् ।

यो ड्र र टिमको अवस्था हेर्दा अन्तिम १६ मा अर्जेन्टिनाले फ्रान्स र डेनामार्क मध्ये कुनै एक टिम पाउने सम्भावना धेरै छ । त्यसैगरी, फ्रान्सले साउदी–अर्जेन्टिना–मेक्सिको–पोल्यान्ड मध्ये कुनै एक टिमसँग खेल्नुपर्ने छ । यदि सो समूहबाट अर्जेन्टिना र पलिो खेल जितिसकेको साउदी अघि बढ्छन् भन्ने कुरा विश्वास गर्ने हो भने फ्रान्सले ती दुई मध्ये कुनै एक टिमसँग भिड्नुपर्ने छ ।

अन्तिम १६ मा जान समूह ‘सी’मा साउदी, अर्जेन्टिना, मेक्सिको र पोल्यान्डबीच कडा प्रतिस्पर्धा भइरहेको छ । साउदीले पहिलो खेलमा अर्जेन्टिनालाई हराएपछि त्यहाँको समीकरण कठिन बनेको छ ।यदि समूह चरण पारे गरे अर्जेन्टिनाले प्रि–क्वार्टरफाइनलमा दुई युरोपियन देश डेनमार्क र फ्रान्स मध्ये कुनै एक टिम पाउने सम्भावना धेरै छ ।

२०१८ को विश्वकपमा पनि अर्जेन्टिना र फ्रान्स अन्तिम १६ मा भिडेका थिए, जहाँ अर्जेन्टिना ४–३ ले पराजित भएको थियो । यसपटक पनि यी दुईको प्रतिस्पर्धा हुने सम्भावना धेरै छ । अन्तिम १६ मा अर्जेन्टिनाले फ्रान्स र वा डेनामार्क मध्ये कुनै एक टिमलाई हराएर अघि बढे उसले क्वार्टरफाइनल (अन्तिम आठ)मा युरोपियन देश नेदरल्यान्ड्स प्रतिस्पर्धी पाउने सम्भावना धेरै छ ।

यदि नेदरल्यान्ड्स आफ्ना खेल जित्दै अघि बढ्छ भन्ने कुरा विश्वास गर्ने हो भने । त्यसैगरी, अर्जेन्टिनाले अन्तिम आठमा डच टिमलाई हराएर अघि बढे उसले सेमिफाइनलमा आफ्नै महादेशको ब्राजिलसँग भिड्नुपर्ने हुन्छ ।यसो भए यो खेल तगडा हुनेछ ।एक वर्षअघि यी दुई देश कोपा अमेरिकाको फाइनलमा भिड्दा ब्राजिल आफ्नै घरमा ०–१ ले पराजित भएको थियो ।

यसपटक यी दुई देशको भिडन्त विश्वकपको सेमिफाइनलमा हुने सम्भावना धेरै छ । यदि अर्जेन्टिना र ब्राजिल दुवै आफ्ना खेल जित्दै अघि बढेको खण्डमा । यसपटक यी दुवै देश उपाधि जित्ने होडमा छन् । दुवै देश फाइनल पुग्न चाहन्छन् भने उनीहरूले सेमिफाइनलमा एकअर्काको सामना गर्नुपर्ने हुन सक्छ ।

सिधा अर्थमा बुझौं– यदि अर्जेन्टिना र ब्राजिल दुवैले लगातार जित्दै गए उनीहरूको भेट सेमिफाइनलमा हुनेछ । त्यहाँबाट एक टिम आउट हुनेछ भने एक टिम फाइनल प्रवेश गर्नेछ ।अर्जेन्टिनाले फाइनलमा कसलाई पाउला ? यसको पनि चर्चा गरिहालौं ।मानौं, अर्जेन्टिना विश्वकपको फाइनल पुग्यो ।

यदि यसो भयो भने उपाधिका लागि फाइनलमा फ्रान्स, बेल्जियम र पोर्चुगल मध्ये कुनै एक टिमसँग भिड्नुपर्ने छ । पोर्चुगल, फ्रान्स र बेल्जियम मध्ये जुन देशले आफ्ना खेल जित्दै अघि बढ्छ, त्यही टिमसँग अर्जेन्टिनाको फाइनल खेल हुनेछ । यदि मेस्सीको देश पनि अघि बढ्यो र क्रिस्टियानो रोनाल्डोको देश पनि अघि बढ्यो भने पनि कतार विश्वकपको फाइनलमा रोनाल्डो र मेस्सीको रोमाञ्चक प्रतिस्पर्धा हेर्न पाइनेछ ।

पोर्चुगलले आफ्नो पहिलो खेल जितेको छ । यसो भए यो विश्वकप इतिहासको सबैभन्दा चर्चित, प्रतीक्षित र रोमाञ्चक विश्वकप हुने पक्का छ । जित्नैपर्ने दबाब रहेका समूह चरणका २ खेल (मेक्सिको र पोल्यान्डविरुद्ध) सहित अर्जेन्टिनाले विश्वकपको उपाधि जित्नका लागि अब ६ खेल लगातार जित्न सक्नुपर्छ । र, यो यात्रा ज्यादै कठिन हुनेवाला छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment