कतारमा जारी फिफा विश्वकप फुटबलको समूह चरणको पहिलो खेल हारेको अस्ट्रेलियाले अन्तिम १६ को ढोका खुला गरेको छ । समूह ‘डी’ अन्तर्गत आज भएको दोस्रो खेलमा अस्ट्रेलियाले ट्युनिसियामाथि १–० को साँघुरो जित निकाल्दै नकआउट प्रवेशलाई खुला गरेको हो ।
यसअघि अस्ट्रेलिया पहिलो खेलमा फ्रान्ससँग ४–१ ले पराजित भएको थियो । पहिलो खेलमा खराब हार बेहोरेको अस्ट्रेलियाले दोस्रो खेलमा सुखद् नतिजा निकाल्दै नकआउट जाने बाटो खुला गरेको हो ।अल जानोउव रंगशालामा दिउँसो ३ः४५ बजेबाट सुरु भएको खेलमा अस्ट्रेलियाले पहिलो हाफमा गरेको १ मात्रै गोलको मदतमा जित निकाल्यो ।
खेलमा ट्युनिसियाले ज्यादा प्रभाव देखाए पनि नतिजा भने अस्ट्रेलियाको पक्षमा गयो । अस्ट्रेलियाका लागि खेलको २३औं मिनेटमा मिचेल ड्युकले हेडिङमार्फत् गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । अन्ततः सोही गोलको अग्रता अन्तिमसम्म नै बचाएर अस्ट्रेलियाले १–० ले खेल जित्यो ।
आजको खेलमा ट्युनिसियाले ५९ प्रतिशत बल पकडमा राख्दा उसले जम्मा १३ पटक सट प्रहार गरेकोमा उसका ४ वटा सट अन टार्गेट रहे पनि गोल निकाल्न सकेन । उता, अस्ट्रेलियाले भने ४१ प्रतिशत बल पाउँदा ९ पटक सट हानेकोमा २ वटा मात्रै अन टार्गेट सट रहेकोमा एक सट गोलमा परिणत भएको थियो ।
अब यो जितपछि अस्ट्रेलियाले २ खेलबाट ३ अंक जोडेर दोस्रो स्थानमा चढेको छ । अस्ट्रेलियाका लागि आजको जित विश्वकप फुटबलमा सन् २०१० पछि पहिलो जित हो । यो जितपछि अस्ट्रेलियाले नकआउट प्रवेश गर्ने ढोका खुला गरेको छ ।अस्ट्रेलियासँग पराजित भएपछि पराजित ट्युनिसिया १ अंकका साथ चौथो स्थानमा छ ।
३ अंकका साथ शीर्षमा रहेको फ्रान्स र १ अंकका साथ तेस्रोमा भएको डेनमार्क आजै राति ९ः४५ बजेबाट खेल्दैछन् । यो खेलको नतिजापछि अन्तिम १६ मा जाने टिमको मोटामोटी दृश्य देखिनेछ । आज पराजित भएको ट्युनिसियाका लागि भने अब अन्तिम १६ को बाटो लगभग बन्द भयो भन्दा हुन्छ । तर, अंकगणितीय झिनो आशा भने जीवितै छ ।
Leave A Comment