कतारमा जारी फिफा विश्वकप फुटबलमा युरोपियन देश पोल्यान्डले पहिलो जित दर्ता गरेको छ । समूह ‘सी’ अन्तर्गत आज शनिबार राति भएको खेलमा पोल्यान्डले एसियन देश साउदी अरबमाथि २–० को मिठो जित निकाल्दै प्रतियोगितामा आफूलाई अन्तिम १६ नजिक पुराएको छ ।
यसअघि पहिलो खेलमा उत्तर अमेरिका महादेशको मेक्सिकोसँग गोलरहित ०–० मा रोकिएको पोल्यान्डले दोस्रो खेल जितेपछि नकआटको मुखमा पुगेको हो । एजुकेसन सिटी स्टेडियममा भएको खेलमा साउदीले पटक–पटक गल्ती गर्दा पोल्यान्डले त्यसको फाइदा उठाउँदै खेल जित्न सफल भयो ।
पहिलो हाफमा पोल्यान्डले १–० को अग्रता लिएको थियो । पहिलो हाफमै खेलमा पछि परेका बेला साउदीले पाएको पेनाल्टी मिस गर्दा साउदीले खेलमा फर्किन अवसर गुमाएको थियो । पोल्यान्डका लागि खेलको ३९औं मिनेटमा पिट्रोअ जिलेन्स्कीले गोल गरेर साउदीलाई झट्का दिएका थिए ।
उनको गोलमा कप्तान रोवर्ट लेवानडोस्कीले सुन्दर असिस्ट प्रदान गरेका थिए । त्यसपछि पहिलो हाफको अन्तिम समयमा साउदीले पेनाल्टी पायो । बक्सभित्र पोलिस खेलाडीले साउदीका खेलाडीमाथि खराब फउल गरेर लडाएपछि रेफ्रीले भिएआर रिभ्यूबाट साउदीलाई पेनाल्टी दिने निर्णय गरेका थिए ।
तर, टिम पछि परेका बेला पाएको पेनाल्टी प्रहारमा सालेम अल्दावासरी चुके । उनले प्रहार गरेको पेनाल्टी पोल्यान्डका गोलकिपर सिजेस्नीले शानदार गरी बचाए । साउदीका खेलाडीले रिबाउन्ड बलमा समेत गोल गर्न नसकेपछि साउदी स्तबध बन्यो ।पेनाल्टी प्रहार र रिबाउन्डमा आएको सट पनि सिजेस्नीले बचाएका थिए ।
साउदी सो पेनाल्टीमा गोल गरेको भए खेलको अवस्था अर्कै हुने थियो । पहिलो हाफमा पोल्यान्डमाथि साउदीले ज्यादा दबाब बनाए बनाए पनि पेनाल्टी समेत मिस गर्दा साउदीमाथि बेलैदेखि दबाब बढेको थियो । दोस्रो हाफम ापनि साउदी ‘ब्लन्डर’ गल्ती गर्दा खेल पोल्यान्डकोा पक्षमा गएको थियो ।
साउदी दोस्रो हाफको सुरुआतबाटै खेलमा फर्किन ठूलो संघर्षमा रहेका बेला सले पटक–पटक गोलका अवसर बनाए पनि फिनिसिङमा चुक्दा गोल निकाल्न सकेन । बरु, दोस्रो हाफमा साउदीका २ प्रहार बार र पोलमा लागेर फर्किएका थिए । ६२औं मिनेटमा पोलिस खेलाडीको हेडिङ बारमा लागेर फर्किंदा ६५औं मिनेटमा कप्तान लेवानडोस्कीको ब्याक हिल पोलमा लागेर फर्किंदा पोल्यान्ड सम्भावित २ गोलबाट चुकेको थियो ।
यी अवसरमा गोल गर्न नसकेको पोल्यान्डले ८२औं मिनेटमा दोस्रो गोल हान्यो । यसपटक कप्तान लेवानडोस्की आफैंले गोल गरेर टिमको जित तय गरेका थिए ।बक्सबाहिर आफ्ना गोलकिपरबाट पाएको बलमा साउदीका डिफेन्डरले कन्ट्रोल गर्न नसक्दा नजिकै रहेका लेवानडोस्कीले बल खोसेर केही अघि बढाई कडा लो सटमा गोल गरेका थिए ।
सो गोलमा साउदीका डिफेन्डरको ठूलो गल्ती हुँदा उसको खेलमा फर्किने सम्भावना त्ययसै बिन्दुबाट सकिएको थियो । दोस्रो गोल खाउपछि पनि साउदीले गोल फर्काउने अवसर बनाएको थियो । उताm खेलको ९०औं मिनेटमा पोल्यान्डका लेगवानडोस्कीले वान भर्सेस वानमा गोलको राम्रो अवसर पाए पनि उनी फिनिसिङमा चुक्दा उनी दोस्रो गोलबाट पनि चुके ।
लेवानडोस्की सो अवसरमा चुकेपछि खेलमा दुवै तर्फबाट थप गोल नहुँदा खेल पोल्यान्डले २–० ले जित्यो । ३४ वर्षका लेवानडोस्कीले आज साउदीविरुद्ध गरेको गोल उनले विवकप फुटबलका गरेको पहिलो गोल हो । यसअघि उनले कहिल्यै पनि विश्वकपमा गोल गरेका थिएनन् । टिमको जित तय गर्न तथा आफ्नो पहिलो गोल गरेपछि सेब्रिेनस गर्ने क्रममा लेवानडोसकी आँसुसरी बनेका थिए ।
Leave A Comment