Latest
img

एमबाप्पेको दुइ गोलले डेनमार्कलाई हराउदै फ्रान्स बन्यो अन्तिम १६ प्रवेश गर्ने पहिलो टिम

साबिक च्याम्पियन फ्रान्स कतारमा जारी फिफा विश्वकप फुटबलको नकआउट चरण (अन्तिम १६) प्रवेश गर्ने पहिलो टिम बनेको छ । आज शनिबार राति भएको समूह चरणको दोस्रो खेलमा फ्रान्सले परिचित प्रतिस्पर्धी डेनमार्कमाथि २–१ को रोमाञ्चक जित निकाल्दै अन्तिम खेलअघि नै नकआउट चरण प्रवेश गरेको हो ।

यससँगै फ्रान्स यस विश्वकपमा अन्तिम १६ प्रवेश गर्ने पहिलो देश पनि बनेको छ । पहिलो खेलमा फ्रान्सले अस्ट्रेलियामाथि ४–१ को जित निकाल्दै विजयी सुरुआत गरेको थियो ।स्टाडियम ९७४ मा भएको खेलमा फ्रान्सलाई जिताउन युवा स्टार केलियन एमबाप्पेले उत्कृष्ट प्रदर्शन गर्दै २ गोल गरे ।

फ्रान्सले खेलमा पहिला अग्रता लिएर त्यसपछि गोल खाए पनि खेलको अन्तिम समयमा एमबाप्पेले गोल गरे टिमलाई नकआउटको टिकट दिने महत्त्वपूर्ण जित दिलाए । टिमको जितमा २ गोल गरेका एमबाप्पे आजको खेलको नायक बने । उनले यसअघि अस्ट्रेलियाविरुद्धको खेलमा पनि १ गोल गरेका थिए ।

उनले लगातार दोस्रो खेलमा गोल गर्न सफल भएका हुन् ।खेल अवधिभर निकै आक्रामक रुपमा प्रस्तुत भएको साविक विजेता फ्रान्सले पहिलो हाफमा भने गोल गर्न सकेको थिएन । डेनमार्कका कप्तान तथा गोलरक्षक कास्पर स्माइकलले फ्रान्सको आक्रमणलाई विफल पारेका थिए ।

तर दोस्रो हाफको सुरुवातमै एमबाप्पेले फ्रान्सलाई अघि बढाए । त्यसको केहीबेरमा नै डेनमार्क बराबरी गोल गर्न सफल भएपनि एमबाप्पेले अन्तिम समयतिर विजयी गोल गरे ।६१ औं मिनेटमा एमबाप्पेले अग्रता दिलाएका थिए । उनले थिओ हर्नान्डेजसँग दायाँ विंगमा सुन्दर वन टु पास खेल्दै अवसर सिर्जना गरेका थिए ।

अन्त्यमा हर्नान्डेजकै कटब्याकमा एमबाप्पेको प्रहार डिफेन्डरलाई लाग्दै गोल भएको थियो ।६८ औं मिनेटमा डेनमार्कले बराबरी गोल फर्कायो । आन्द्रेस क्रिस्टेन्सनले कर्नरमा आएको बललाई हेडरमार्फत गोल गरेका थिए । क्रिस्टियन एरिक्सनको कर्नरमा जोअचिम एन्डरसनले बलको दिशा परिवर्तन गरेपछि क्रिस्टेन्सनले ६ यार्ड बक्स नजिकबाट हेडर गोल गरे ।

निर्धारित समयको ४ मिनेट बाँकी रहँदा फ्रान्सले एमबाप्पेकै गोलमा पुन: अग्रता लियो । एन्टोइन ग्रिजमनको क्रसमा एमबाप्पेले फार पोस्टमा आफ्नो शरीरले गोल गर्दै अग्रता दिलाए । उनले डिफेन्डरको मार्किङ तोडेर पोस्ट नजिकबाट बललाई गोललाइन पार गराएका थिए ।

यस नतिजासँगै समूह डी बाट फ्रान्स नकआउट चरणमा प्रवेश गरेको छ । उपाधि रक्षा गर्ने लक्ष्यसहित कतार आएको टोली जारी विश्वकपमा समूह चरण पार गर्ने पहिलो टोली पनि बन्यो । फ्रान्सको २ खेलमा ६ अंक छ । अष्ट्रेलियाको ३ तथा डेनमार्क र ट्युनिसियाको १-१ अंक छ । अन्तिम खेलमा फ्रान्सले ट्युनिसिया र डेनमार्कले अष्ट्रेलियासँग खेल्नेछ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment