एजेन्सी- कतारमा चलिरहेको फिफा विश्वकप फुटबलमा पोल्यान्डले गत राति एसियन देश साउदी अरबलाई २–० ले हरायो । समूह ‘सी’को खेलमा पोल्यन्डलाई सो जित अघि बढ्न अतिआवश्यक थियो । पराजित भएको भए पोल्यान्डका लागि अन्तिम १६ को यात्रा कठिन बन्ने थियो ।
पहिलो खेल मेक्सिकोसँग ०–० खेलेको पोल्यान्डले दबाबका बीचमा पहिलो खेलमा अर्जेन्टिनालाई २–१ ले पराजित गर्ने साउदीलाई मिठो गरी २–० को ले जित्यो । पोल्यान्डले २ सुन्दर गोल गरेर खेल जित्दा ऊ अहिले समूहको शीर्ष स्थानमा छ । र, अन्तिम १६ मा जानका लागि सबैभन्दा सजिलो अवस्थामा छ– अन्तिम खेल खेल्नुअघि ।
अन्तिम खेलमा खराब नतिजा नआए पोल्यान्ड अर्को चरणमा छनौट हुने सम्भावना प्रबल छ ।गत राति साउदीलाई पराजित गर्ने क्रममा पोल्यान्डका कप्तान तथा स्टार खेलाडी रोवर्ट लेवानडोस्की हिरो बने । खेलको म्यान अफ् द म्याच पनि आफैं बने । टिम कठिन अवस्थामा रहेका उनले टिमका लागि पहिलो गोलमा असिस्ट मात्रै गरेनन्, दोस्रो गोल आफैंले गरेर जितलाई सहज पारे ।
साउदीसँग हार्दा र जित्दा के हुन्छ भन्ने कुरा मिनेट–मिनेट याद गरेको पोल्यान्डले खेलभरि डटेर खेल्यो । र, चाहिएको नतिजा निकाल्यो । सो क्रममा ३४ वर्षका स्टार स्ट्राइकर लेवानडोस्कीले सम्झनायोग्य योगदान दिए । उनले पहिलो गोलमा उत्कृष्ट असिस्ट मात्रै मिलाएनन्, दोस्रो गोल पनि आफैंले गरे ।
गत राति पोल्यान्डका २ सट बार र पोलमा लागेर फर्किए । लेवानडोस्की आफैंको एक ब्याकहिल प्रहार पोलमा लागेर फर्किएको थियो ।लेवानडोस्कीले ३९औं मिनेटमा पिओट्र लिजेन्स्कीले गरेको गोलमा असिस्ट गरेका थिए भने ८२औं मिनेटमा आफैंले बडा सुन्दर गोल गरेका थिए ।
मैदानमा सबैभन्दा भावुक दृश्य त त्यत्तिबेला देखियो, जब लेवानडोस्कीले गोल गरे । देशका लागि धेरै गोल गरेका उनले आजसम्म विश्वकप फुटबलमा भने कहिल्यै गोल गर्न सकेका थिएनन् । गत राति साउदीविरुद्ध उनले गरेको गोल विश्वकपको मञ्चमा गरेको करियरै पहिलो गोल थियो ।
जब उनले गोल गरे, तब उनको सेलिब्रेसन मुड अर्कै थियो । उनी दौडिएर अघि बढे । अनि, भुइँमा स्लाइड हाने । तब उनका सहकर्मीले उनलाई माथिबाट थिचेर निकै मिठो गरी सेलिब्रेसन गरे । जब सहकर्मीले उनलाई छाडे, लेवानडोस्की उठ्दा उनका आँखाभरि आँसु थियो ।
टिम कठिन समयमा रहेका बेला जित सुनिश्चित गर्ने गोल अनि विश्वकपमा आफ्नो पहिलो गोल जीवनको ३४औं वर्षमा । त्यो पनि अन्तिम विश्वकप खेल्दै गर्दा । यस्तो बेला गरेको गोलमा लेवानडोस्कीका आँखा रसाउनु स्वभाविक नै थियो । गोलको सेलिब्रेसन सकेर जब लेवानडोस्की सेन्टरतर्फ लागे, उनका आँखामा आँसु छल्किरहेको देख्न सकिन्थ्यो ।
उनी खुसीका आँसु पुछ्दै पुनः खेलतर्फ लागे । उनलाई सहकर्मीले पहिलो विश्वकप गोलका लागि बधाई थिए । समर्थकले उनका नाममा ठूला–ठूला ब्यानर देखाए । लेवानडोस्कीले कतारमा दोस्रो खेल खेल्ने क्रममा पहिलो गोल गर्दाको यो दृश्यको चर्चा पोल्यान्डका मिडियाले गरिरहेका छन् ।
३४ वर्ष पुगेका लेवानडोस्की अन्तिम विश्वकप खेलिरहेका छन् । उनले देशका लागि १३६औं खेल खेल्ने क्रममा कूल ७७औं गोल गरे । यस वर्ष २०२२ मा उनले हालसम्म ८ खेलबाट ३ गोल गरेका छन् । गत वर्ष उनले १२ खेलबाट ११ गोल गरेका थिए । उनले अझै विश्वकपमा थप गोल गर्ने सम्भावना छ ।
अब पोल्यान्डले समूह चरणको अन्तिम खेल अर्जेन्टिनासँग खेल्नेछ । यो खेलमा स्पष्ट जित वा कम्तीमा पनि बराबरी भए पनि पोल्यान्ड अर्को चरण जानेछ । यदि अर्को खेलमा साउदी र मेक्सिको खेल्दा साउदीले जित्यो या पोल्यान्डले बराबरी मात्रै खेले अर्जेन्टिना भने समूह चरणबाटै आट हुनेछ ।
Leave A Comment