Latest
img

अमेरिकी दूतावासले पनि हटायो दुनियालाई उल्लु बनाएकी कित्तियाको हिउँ चितुवाका ‘फेक तस्बिर’

काठमाडौँ – केहि समय अगाडी सामाजिक संजालमा भाइरल भएका अमेरिकी फोटोग्राफर भनिएकी कित्तिया पाव्लोभ्स्कीले नेपालको खुम्बु क्षेत्रमा पुगेर खिचेको दाबी गरिएका भाइरल तस्बिरहरू अमेरिकी दूतावासले आफ्नो सामाजिक सञ्जालबाट हटाएको छ ।

अमेरिकी फोटोग्राफरले खिचेको तस्बिर भन्दै केही समयअघि दूतावासले उक्त फोटोहरू आफ्नो फेसबुक र इन्स्टाग्राम पेजबाट सेयर गरेको थियो जुन त्यतिबेला निकै चर्चित पनि भएको थियो । अहिले आएर फ्रान्सेली अल्पाइन म्यागाजिनका विज्ञहरूले सो तस्बिर सम्पादित र विभिन्न तस्बिरहरूको मोन्टाज भएको भन्ने प्रमाण प्रस्तुत गरेपछि कित्तिया सामाजिक सञ्जालहरूबाट गायब भएकी छिन् ।

तर उनको वेबसाइटमा अझै पनि उनको यात्रा विवरण र तस्बिरहरू यथावत छन्, जहाँ उनले आफूले अमेरिकी दूतावाससँग काम गरेको दाबी पनि गरेकी छन् ।’हामी केही समयअघि हामीले सेयर गरेका तस्बिरहरू हटाउँदैछौं,’ पोस्टमा भनिएको छ, ‘उनले दाबी गरेजस्तो हाम्रो उनीसँग कुनै साझेदारी छैन ।’

तथ्यजाँच लेखको बारेमा आफूले थाहा पाएको र फोटोग्राफरले आफ्नो सामाजिक सञ्जालहरू बन्द गरेपनि वेबसाइट अझै सञ्चालनमा रहेको पनि दूतावासले आफ्नो पोस्टमार्फत जानकारी गराएको छ ।सामाजिक सञ्जालमा सेयर भएका पोस्टहरू नहटाउने र हटाउनुपर्ने भएमा जानकारी दिएर हटाउने अन्तर्राष्ट्रिय प्रचलन रहेको छ।

यो सबै विवादका बीचमा फोटोग्राफर भनिएकी कित्तियाको तर्फबाट यो समाचार लेख्दासम्म केही औपचारिक प्रतिक्रिया आएको छैन । ती तस्बिरहरू वास्तविक नभएको बाहिर आएपछि सामाजिक सञ्जालमा अमेरिकी दूतावासलाई मेन्सन गरेर प्रश्न सोध्ने र हाँसिमजाक गर्ने क्रम भने जारी रहेको छ ।

यो पनि -सगरमाथा क्षेत्रमा खिचेको भनिएको हिउँचितुवाको फोटो नक्कली भएको पुष्टि भएपछि उक्त फोटो खिचेको दाबी गर्ने कितिया पावलोस्कि सामाजिक सञ्जालबाट गायब भएकी छन् । आफूले सगरमाथा क्षेत्रमा दुर्लभ हिउँचितुवाको फोटो खिचेको भनेपछि उनी विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यममा छाएकी थिइन् ।

उनले आफ्नो सामाजिक सञ्जालका अकाउन्ट इन्स्टाग्राम र फेसबुकमा राखेका फोटोले राम्रो चर्चा पाएका थिए । तर, शनिबार अल्पाइन इन्टरनेसनल म्यागजिन नामक फ्रान्सेली मिडियाले कितियाले सगरमाथामा खिचेको भनेर दाबी गरेको तस्वीर फोटोशप गरेको पुष्टि गरेपछि उनी पुनः चर्चामा आइन् ।

इन्टरनेटमा आलोचित बनेपछि कितियाले सामाजिक सञ्जालका अकाउन्ट बन्द गरेकी छन् । उनको फेसबुक र इन्स्टाग्राम अकाउन्ट अहिले उपलब्ध छैनन् ।उनको वेबसाइट भने लाइभ छ, जहाँ उनले फोटोशप गरी तयार पारेको हिउँचितुवाको फोटो राखेकी छन् ।

म्यागजिनमा प्रकाशित ‘द फेक स्नो लियोपार्ड: फोटोमोन्टेज स्प्रेड अराउन्ड द वर्ल्ड’ नामक एक लेखमा उक्त हिउँचितुवाको तस्वीर नक्कली भएको पुष्टि गरिएको थियो । हिमाल र आरोहीहरूको बारेमा लेख्ने उक्त म्यागजिनमा कितिया वास्तविक फोटोग्राफर पनि होइनन् ।

तर उनको फोटोशप गर्ने सीप भने उत्कृष्ट रहेको उल्लेख गरेको छ । उनी वास्तविक फोटोग्राफर होइनन् भनेर उनको सामाजिक सञ्जालले पनि प्रमाणित गरेको छ । सामाजिक सञ्जालको यो समयमा कुनै पनि फोटोग्राफरले आफ्नो कामहरू सामाजिक सञ्जालमार्फत देखाउन चाहन्छन् ।

तर कितियाको ५० हजार फलोअर भएको इन्स्टाग्राममा भने पाँचओटा मात्र फोटो छन्; एउटा उनको आफ्नै र बाँकी चार उनले खिचेको भनेको हिउँचितुवाको फोटो । उनले खिचेको बताइएको हिउँचितुवाको फोटोमा भने सगरमाथा क्षेत्रको स्थानहरू नै गलत छन् ।

साथै उनले खिचेको तस्वीरको विवरणको आधार मान्ने हो भने उनले दिएको पृष्ठभूमि र वास्तविक पृष्ठभूमि भने गलत रहेको अल्पाइनको दाबी छ ।नेपालमा भने यो तस्वीरले निकै चर्चा पाएको थियो । नेपालका सञ्चार माध्यमहरूमा यो फोटो र फोटो खिच्ने अमेरिकी फोटोग्राफरको बारेमा राम्रै चर्चा पनि भएको थियो ।

यतिमात्र नभएर सामाजिक सञ्जालका प्रयोगकर्ताबीच अमेरिकी फोटोग्राफरले खिचेको तस्वीरमात्र शेयर गर्ने नेपाली फोटोग्राफरले नै खिचेको तस्वीरलाई भने वास्ता नगर्ने भन्ने खालका विवाद पनि उठेको थियो ।यो विषयले फेसबुक, ट्वीटर, टिकटक सबैतिर स्थान पाएको थियो ।उनले आफ्नो वेबसाइट मार्फत उक्त तस्बिर निकै महँगो मूल्यमा बेच्दै आएकी थिइन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment