काठमाडौं । कतारमा भइरहेको विश्वकपमा क्रिस्टियानो रोनाल्डो, लिओनल मेसी, किलिएन एमबाप्पे जस्ता स्टार खेलाडीले कीर्तिमान बनाइरहेका छन् ।सम्भवतः आफ्नो अन्तिम विश्वकप खेलिरहेका रोनाल्डो र मेसीले पाँच विश्वकप खेल्ने कीर्तिमान बराबरी गरिसके ।
यस्तै ३७ वर्षीय रोनाल्डोले पाँच विश्वकपमा गोल गर्ने र ३५ वर्षीय मेसी पाँच विश्वकपमा असिस्ट गर्ने पहिलो खेलाडीको कीर्तिमान पनि बनाए ।अर्का युवा सुपर स्टार एमबाप्पेले भने वर्षौं अघि पेलेको राखेको कीर्तिमान बराबरी गर्दै आएका छन् ।उनले कतारमा ३ गोल गरिसकेका छन् ।
२०१८ को विश्वकपमा ४ गोल गरेका एमबाप्पेले विश्वकपमा कूल ७ गोल गरिसकेका छन् । उनले २४ वर्ष लाग्नुअघि विश्वकपमा ७ गोल गर्ने पेलेको कीर्तिमान बराबरी गरेका छन् ।चार वर्षअघि रुसमा भएको विश्वकपमा फ्रान्सले उपाधि जित्दा पनि एमबाप्पेले पेलेकै कीर्तिमान बराबरी गरेका थिए ।
उनी फाइनलमा गोल गर्ने पेले पछि पहिलो टिनएजर खेलाडी बनेका थिए भने विश्वकपको एकै खेलमा दुई गोल गर्ने पेले पछिकै पहिलो खेलाडी बनेका थिए । पेलेले सन् १९५८ मा १७ वर्षको उमेरमै विश्वकपमा गोल गरेका थिए । एमबाप्प्ले १९ वर्षको उमेरमै विश्वकप पनि जिते ।
अहिले उनै एमबाप्पेको प्रदर्शनमा फ्रान्स लगातार दोस्रो पटक विश्वकप जित्ने लक्ष्यमा छ ।अहिले कतारमा भइरहेको २२औं संस्करणको फिफा विश्वकपमा एमबाप्पेले आफूलाई प्रमाणित गरिरहेका छन् ।एमबाप्पेकै दुई गोल मद्दतमा शनिवार डेनमार्कलाई २९१ ले हराएर फ्रान्स जारी विश्वकपको अन्तिम १६ मा स्थान बनाउने पनि पहिलो टिम बनेको छ ।
एमबाप्पेले विश्वकपमा जम्मा ९ खेल खेल्दा नै ७ गोल गरेका हुन् ।एमबाप्पे अहिले उत्कृष्ट लयमा छन् । पेरिस सेन्ट जर्मेनबाट खेल्ने उनले फ्रान्सका लागि पछिल्लो १२ खेलमा १४ गोल गरिसकेका छन् ।अहिलेको पुस्ताका उत्कृष्ट खेलाडी क्रिस्टियानो रोनाल्डो र लिओनल मेसीले पाँच पटक विश्वकप खेल्दा भर्खर ८ गोल पुर्याएका छन् ।
तर, एमबाप्पेले भने २३ वर्षको उमेरमै विश्वकप जित्नेदेखि ७ गोल गर्ने सफलतासम्म हात पारिसकेका छन् ।यस्तै उनी फ्रान्सका लागि सर्वाधिक गोल गर्नेमा जिनेदिन जिदानसँगै संयुक्त रुपमा सातौं स्थानमा उक्लेका छन् । दुवैले समान ३१ गोल गरेका छन् ।जिदानले त्यसका लागि १०८ खेल खेलेका थिए । एमबाप्पेले ६१ खेलमै उक्त उपलब्धी हात पारिसकेका छन् ।
भेट्रान फरवार्ड करिम बेन्जेमा देखि मिडफिल्डर पउल पोग्बासम्म चोटका कारण कतार विश्वकपमा छैनन् । फ्रान्सको उपाधि रक्षा अभियान धेरै हदसम्म एमबाप्पेकै प्रदर्शन निर्भर रहनेछ ।सन् १९६२ मा ब्राजिलपछि लगातार दुई विश्वकप जित्ने लक्ष्यमा रहेको फ्रान्सका लागि एमबाप्पेकै प्रदर्शन महत्वपूर्ण हुनेछ ।
Leave A Comment