फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह चरणको दोस्रो खेलमा मोरक्कोले बेल्जियमलाई पराजित गरेको छ । मोरक्कोले पहिलो जित दर्ता गर्ने क्रममा बेल्जियमलाई २-० ले पराजित गरेको हो ।मोरक्कोका लागि अब्देलहामिद साबिरीले दोस्रो हाफमा गरेको फ्रिकिक गोलमा अग्रता लियो ।
इन्ज्युरी समयमा दोस्रो गोल थप्दै मोरक्कोले जित पक्का गर्यो । खेलमा तुलनात्मक रुपमा बढी आक्रमण बुनेको मोरक्कोले पहिलो हाफमै अग्रता लिएपनि भिडियो असिस्टेन्ट रेफ्रीबाट मान्यता पाउन सकेको थिएन । दोस्रो हाफमा पनि दबाब कायम राख्दै मोरक्को जित हासिल गर्न सफल रहेको हो ।
पहिलो खेलमा औसत प्रदर्शन गरेपनि जित हासिल गरेको बेल्जियमले दोस्रो खेलमा पनि राम्रो प्रदर्शन गर्न सकेन ।पहिलो हाफको इन्ज्युरी समयमा मोरक्को हाकिम जिएचको फ्रिकिक गोलले मान्यता पाउन सकेन । जिएचले दायाँ विंगबाट प्रहार गरेको फ्रिकिक सिधै गोल भएको थियो ।
तर अफसाइड पोजिसनमा रहेका खेलाडीले गोलरक्षक थिबाउट कोर्टुवाअघि आएर बलको दिशा छेकेपछि भिडियो असिस्टेन्ट रेफ्रीले गोललाई मान्यता दिएनन् ।त्यसअघि बेल्जियमको दुई प्रहारमा गोलरक्षक मुनिर एल काजुइ बाधक बनेका थिए । उनले खेलको पहिलो मिनेटदेखि नै यासिन बोनोउको स्थान लिएका थिए ।
राष्ट्रिय गानमा बोनोउ सरिक भएपनि टिम फोटोमा भने वैकल्पिक गोलरक्षक मुनिर आएका थिए । फिफाले खेलाडी सुचिमा बोनोउ घाइते रहेको जनाएको छ ।५१ औं मिनेटमा इडेन हाजार्डले मिडफिल्डदेखि बल अघि लग्दै पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहारलाई गोलरक्षक मुनिरले विफल पारे ।
५६ औं मिनेटमा सोफियान बौफालले पेनाल्टी क्षेत्रको बायाँ भागबाट गरेको प्रहार पोस्टलाई छुँदै बाहिरियो ।खेलको ७३ औं मिनेटमा फ्रिकिक गोलमै मोरक्कोलले अग्रता लियो । यसपटक अब्दुलहमिद सबिरीले बायाँ विंगको पेनाल्टी क्षेत्रबाहिर प्राप्त फ्रिकिकलाई सिधै गोलमा परिणत गरे ।
यसपटक पनि गोलरक्षक कोर्टुवाले बलको दिशा ठम्याउन सकेनन् ।इन्ज्युरी समयमा मोरक्कोका लागि जाकारिया अबोउखलालले गोल गरे । उनले हाकिम जिएचको पासलाई पेनाल्टी क्षेत्र भित्रबाट गोलको दिशा दिँदै गोलरक्षक कोर्टुवालाई कुनै अवसर दिएनन् ।
यस जितसँगै मोरक्को समूहको शीर्षस्थानमा उक्लिएको छ । मोरक्कोको २ खेलमा ४ अंक तथा बेल्जियमको ३ अंक छ । क्रोएसिया १ अंक र क्यानडा अंकविहिन छ । आजै ९:४५ बजे सुरु हुने खेलमा क्यानाडा र क्रोएसिया भिड्नेछन् ।
Leave A Comment