काठमाडौँ – कतार विश्वकप २०२२ अन्तर्गत सोमबार समूह एचका दुई टोलीहरु पोर्चुगल र उरुग्वेबीच प्रतिस्पर्धा हुँदै छ। नेपाली समयअनुसार मध्यराति पौने १ बजे सुरु हुनेछ। यो खेल कतारको लुसेल स्टेडियममा हुनेछ।
सोमबार हुने खेलमा जित हात पार्दै पोर्चुगल एक खेलअघि नै माथिल्लो चरणमा आफ्नो स्थान पक्का गर्न चाहन्छ भने उरुग्वे सोमबारको खेलमा जित हात पार्दै माथिल्लो चरणको सम्भावना बलियो पार्ने दाउमा हुनेछ। सोमबारको खेलमा पराजित भए उरुग्वेको माथिल्लो चरणको सम्भावना कमजोर बन्नेछ।
त्यसैले दुवैका लागि सोमबारको खेलमा महत्वपूर्ण हुनेछ। क्रिस्टियानो रोनाल्डोको टिम पोर्चुगलले समूह चरणमै लुइस सुवारेजको टिम उरुग्वे प्रतिस्पर्धी पाएको हो। कुनै समयका यी दुई स्टार कट्टर प्रतिद्वन्द्वी हुन्। ला लिगा क्लब बार्सिलोनामा सुवारेज र रियल मड्रिडबाट रोनाल्डो खेल्थे। मेस्सीसँगै यी दुईबिच पनि गोल्डेन बुटको प्रतिस्पर्धा चल्थ्यो।
मेस्सीका सहकर्मी सुवारेजले एक सिजन रोनाल्डोलाई पछि पार्दै सर्वाधिक गोलकर्ता समेत बनेका थिए। पछिल्लो समय यी दुवै स्टार ला लिगाबाट बाहिरिएका छन्। सधैं भेटिने सुवारेज र रोनाल्डोका देश पोर्चुगल र उरुग्वेको भने विश्व फुटबलमा बिरलै भेट हुने गरेको छ।
अहिलेसम्म यी दुई टोली जम्मा तीन पटक भिडेका छन्। तर लगातार दोश्रो पटक विश्वकपमा प्रतिस्पर्धा हुन लागेको हो। २०१८ को विश्वकपमा अन्तिम १६ मा भेट भएका थिए। जतिबेला उरुग्वेले २–१ ले पराजित गर्दै पोर्चुगलको यात्रा टुंग्याइदिएको थियो। त्यसअघि १९७२ मा १–१ को बराबरी खेलेका यी टोली १९६६ मा भेट हुँदा भने पोर्चुगल ३–० ले विजयी भएको थियो।
तर ती दुवै खेल मैत्रीपुर्ण थिए। विश्वकपमा भने यो दोश्रो भेट हो। कतारमा जारी फिफा विश्वकप अन्तर्गत सोमबार समूह एचमा रहेका दक्षिण कोरिया र घाना भिड्दैछन् । यो खेल साँझ पौने ७ बजे एजुकेसन सिटी स्टेडियममा सुरु हुनेछ । समूहचरणको पहिलो खेलमा दक्षिण कोरियाले उरुग्वेलाई गोलरहित बराबरीमा रोकेको थियो ।
घाना भने रोमाञ्चक खेलमा पोर्चुगलसँग ३-२ ले पराजित भएको थियो । दुवै टोली पहिलो जित निकाल्ने लक्ष्यमा हुनेछन् ।घानालाई नकआउट चरण पुग्ने सम्भावना कायम राख्न पनि जित आवश्यक छ । पहिलो चरणमा अफ्रिकाका पाँच वटै राष्ट्रले जित निकाल्न सकेका थिएनन् ।
दोस्रो चरणमा सेनेगलले आयोजक कतार र मोरक्कोले बेल्जियमलाई पराजित गरिसकेको छ । घाना पनि अफ्रिकन टिमको त्यो लयलाई निरन्तरता दिन चाहन्छ । ट्युनिसिया भने दोस्रो चरणमा अष्ट्रेलियासँग पराजित भइसकेको छ । अर्को अफ्रिकन राष्ट्र क्यामरुनले सोमबारै सर्बियासँग खेल्दैछ ।
दक्षिण कोरिया लगातार छैटौं पटक विश्वकप खेल्दैछ । सन् २००२ मा जापानसँग मिलेर संयुक्त रुपमा विश्वकप आयोजना गर्दा सेमिफाइनलसम्म पुगेको कोरिया फेरि त्यस्तै नतिजाको खोजीमा छ । त्यसबेला टर्कीसँग पराजित हुँदै कोरिया चौथो भएको थियो । कोरिया विश्वकपमा एसियाबाट सबैभन्दा राम्रो नतिजा ल्याउने टिम हो ।
उता अफ्रिकाबाट घानाले पनि त्यस्तै उपलब्धि हासिल गरेको छ । सन् २००६ मा पहिलो सहभागितामै अन्तिम १६ मा पुगेको घाना त्यसलाई अझ सुधार गर्द २०१० मा क्वाटरफाइनलसम्म पुगेको थियो । अफ्रिकाबाट अहिलेसम्म क्यामरुन, सेनेगल र घाना क्वाटरफाइनलसम्म पुगेका छन् ।
सन् २०१४ मा भने घाना समूह चरणबाटै बाहिरिएको थियो भने २०१८ को विश्वकपमा छनोट हुन सकेन ।घाना विश्वकपमा पछिल्ला ५ खेलमा जितविहिन छ । जसमा दुई बराबरी छ भने तीन हार रहेको छ । सन् २०१८ मा साविक पूर्वविजेता जर्मनीलाई समूह चरणमा पराजित गरेको दक्षिण कोरिया भने समूह चरणबाट बाहिरिएको थियो ।
कोरिया २०१६ पछि अन्तिम १६ मा पुग्ने लक्ष्यमा छ । घाना र कोरियाबीच अहिलेसम्म ६ खेल भएका छन् र सबै मैत्रीपूर्ण खेल छन् । जसमा दुवै टिमले ३-३ खेल जितेका छन् ।
Leave A Comment