काठमाडौँ – अभिनेता सलोन बस्नेत विवाह बन्धनमा बाँधिएको छ । उनले प्रेमिका करिश्मा केसीसँग विवाह गरेका हुन् ।सोमबार चन्द्रागिरि रिसार्टमा भएको विवाहमा परिवारका सदस्य, आफन्त र फिल्मकर्मीहरुको उपस्थिति रह्यो ।
त्यस क्रममा १२ सय जना जन्तीका साथ सलोनलाई डोलीमा चढाएर विवाह समारोह स्थल भालेश्वर मन्दिरमा लगेका थिए ।महिलाहरुको समूहले नौमती बाजा बजायो । सलोनका बुबा शोभित बस्नेतका अनुसार सबैले भुल्दै गएको नेपाली वैवाहिक संस्कृतिलाई जगेर्ना गर्न नौमती बाजा र डोली प्रयोग गरिएको हो ।
रिल र रियल लाइफमै पनि भुवन केसी र शोभित बस्नेतका परिवार निकट छन् । पर्दामा होस् वा बाहिर उनीहरु सँगै देखिन्छन् । सलोन र अनमोलको पुस्तामा पनि यस्तो निकटता देखिन्छ ।सलोन र अनमोलले धेरै फिल्ममा सहकार्य गरिसकेका छन् ।रजत पटमा मात्र होइन, सलोन र अनमोलको केमेस्ट्री वास्तविक जीवनमै पनि देखिन्छ ।
सोमबार सलोनलाई विवाहको बधाई दिन अनमोल र उनका पिता भुवन केसी चन्द्रागिरि उक्लिए ।भुवनसँगै वैवाहिक समारोह स्थल भालेश्वर मन्दिरमा पुगेका अनमोलले सलोन र प्रेमिका करिश्मा केसीलाई विवाहको बधाई तथा शुभकामना दिए । बुधबार हुने रिसेप्सनमा जान नभ्याउने भएपछि आफू विवाह समारोहमा आइपुगेको अनमोलले जनाए ।
अभिनेत्री वर्षा राउत र उनका पति एवं अभिनेता सञ्जोग कोइराला पनि विवाहमा पुगेका छन् । अभिनेत्री पूजा शर्मा पनि विवाहमा पुगिन् ।सलोनका साथी समेत रहेका कलाकार आमेश भण्डारी पनि विवाहमा नाचगान गर्दै गरेको बेला देखिए । कोरियोग्राफर रामजी लामिछाने, कलाकार सुशान्त श्रेष्ठ पनि त्यहाँ पुगेका छन् ।
सलोन र करिश्माको विवाह समारोह सोमबार चन्द्रागिरिस्थित भालेश्वर मन्दिर क्षेत्रमा भइरहेको छ ।सलोनको विवाह भोज भने १४ गते बुधवार राखिएको छ ।सलोन अभिनीत फिल्म ‘मिलन’ हलमा प्रदर्शनरत छ ।
Leave A Comment