फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह जी को खेलमा क्यामरुन र सर्बियाले पहिलो अंक जोड्ने क्रममा बराबरी खेलेका छन् । गोलको वर्षा भएको खेलमा दुवै टोलीले अग्रता बचाउन नसक्दा खेल ३-३ को बराबरीमा सकियो ।अल जनौब रंगशालामा पहिलो हाफको मध्यतिर अग्रता क्यामरुनले सुरुवाती अग्रता लिएको थियो ।
तर इन्ज्युरी समयको दुई मिनेट अन्तरमा दुई गोल गर्दै सर्बिया हाफ टाइममा अग्रता लिन सफल भयो । दोस्रो हाफको सुरुवातमै सर्बियाले अग्रता बढाउँदै जिततर्फ अग्रसर रहेको थियो ।तर डिफेन्समा गल्ती गर्दा युरोपेली टोलीले अग्रता जोगाउन सकेन ।क्यामरुनका लागि वैकल्पिक फरवार्ड भिन्सेन्ट अबुबकारको उच्च प्रदर्शनमा क्यामरुन खेलमा फर्कियो ।
अफसाइड ट्रयाप बिट गर्दै २ मिनेटको अन्तरमा लगातार २ गोल फर्काउँदै क्यामरुनले खेल बराबरीमा ल्यायो ।क्यामरुनका लागि खेलको २९ औं मिनेटमा जान चार्ल्स कास्टेलेटोले सुरुवाती गोल गरे । उनले कर्नरमा आएको बल निअर पोस्टमा फ्लिक भएपछि फार पोस्टमा सहजै गोल गरे ।
सर्बियाका सबै डिफेन्डर एकैतर्फ व्यस्त हुँदा अन्मार्क रहेका कास्टेलेटोले सहजै गोल गरेका थिए ।इन्ज्युरी समयको पहिलो मिनेटमा सर्बियाले बराबरी गोल फर्कायो । कप्तान डुसान टाडिचको फ्रिकिकमा स्ट्राहिना पाभ्लोभिचले गोल गरे । उनले पेनाल्टी क्षेत्र भित्रबाट गरेको हेडर गोलरक्षक डेविस एपासीले बचाउने कुनै अवसर पाएनन् ।
बराबरी गोल फर्काएको दुई मिनेटमै सर्बियाले अग्रता लियो । यसपटक सर्गे मिलिन्कोभिच साभिचले गोल गर्दै युरोपेली टोलीलाई अघि बढाए । उनले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार गोलरक्षक एपासीको हातमा लाग्दै गोल भएको थियो ।दोस्रो हाफको ५३ औं मिनेटमा सर्बियाले अग्रता दोब्बर पार्यो ।
जिभ्कोभिचकै पासमा एलेक्जेन्डर मित्रोभिचले गोल गर्दै जिततर्फ उन्मुख गराए । पेनाल्टी क्षेत्र भित्रबाट गोलरक्षक पोजिसनमा नरहेको अवस्थामा मित्रोभिचले खाली पोस्टमा गोल गरेका थिए ।तर ५५ औं मिनेटमा क्यामरुनले मार्टिन होंगलाको स्थानमा भिन्सेन्ट अबुबकारलाई मैदान प्रवेश गराएपछि खेलको रुप बदलियो ।
अबुबकारले ६० औं मिनेटमा गरेको प्रहार गोलरक्षक भान्जा मिलिन्कोभिच साभिचले विफल पारे ।त्यसको तीन मिनेटपछि नै अबुबकारले अफसाइड ट्रयाप बिट गर्दै उत्कृष्ट गोल गरे । डिफेन्डरलाई छक्याएपछि गोलरक्षक भान्जालाई चिप गर्दै उनले सुन्दर गोल गरे ।
असिस्टेन्ट रेफ्रीले उक्त गोल अफसाइड दिएपनि भिडियो असिस्टेन्ट रेफ्रीले मान्यता दिएको थियो ।अग्रता घटाएको २ मिनेटपछि नै क्यामरुनले बराबरी गोल फर्कायो । पुन: एकपटक अबुबकार नै गोलमा निर्णायक सावित भए । उनले अफसाइड ट्रयाप बिट गर्दै अघि बढाएको बल पेनाल्टी क्षेत्रभित्र पुगेपछि एरिक म्याक्सिम चुपो मोटीङलाई दिए ।
डिफेन्डर र गोलरक्षक बिट गर्दै अबुबकारले दिएको पासमा चुपो मोटीङले गोल गर्दै खेल बराबरीमा ल्याए ।यस समूहमा ब्राजिल र स्विटजरल्यान्डको ३-३ अंक छ । सर्बिया र क्यामरुनले बराबरीका साथ १-१ अंक बाँड्दै खाता खोलेका छन् । आजै रातको ९:४५ बजे हुने खेलमा ब्राजिलले स्विटजरल्यान्डको सामना गर्दैछ ।
यो नतिजाले समूह जी का ब्राजिल र स्विट्जरल्याण्डलाई तनाव दिन सक्ने देखिएको छ। आज पराजित हुने टोली बाहिरिने सम्भावना रहनेछ। ब्राजिल र स्विट्जरल्याण्डको समान ३ अंक छ। तर यी टोली आजै राति भिड्दैछन्। यो खेल जित्ने टोलीको अघिल्लो चरण पक्का हुने छ। तर हार्ने टोली बाहिरिने सम्भावना कायम रहनेछ।
Leave A Comment