प्रतिनिधिसभा सदस्यमा इलाम–१ बाट पराजित भएका नेकपा (एकीकृ समाजवादी) का सम्मानित नेता झलनाथ खनालले आफ्नो क्षेत्रको चुनावी नतिजा विवादित रहेको बताएका छन् ।सोमबार एक विज्ञप्तिमार्फत खनालले निर्वाचन आयोगले मत गणना गरेर नतिजा घोषणा गरेपनि त्यसमा गम्भीर विवाद रहेको कुरा उल्लेख गरेका छन् ।
उनले कतिपय मतपेटिकामा खसेको मत संख्याभन्दा धेरै मत भेटिएको पनि दाबी गरेका छन् । उनले आफूले नतिजा स्वीकार गर्न नसकेको पनि बताएका छन् ।”मतदानको प्रक्रिया सुरुदेखि नै स्वास्थ नरहेको, विभिन्न प्रकारका अनियमितता भएको, एउटा मतपेटिकामा मत हाल्नु पर्ने मा अर्कै मतपेटिकामा मत हालेको,
कैयौँ मतपेटिकामा खसेको मत गणना गर्दा सयौँ मतपत्र नभेटिएको, सयौँ मतपत्रहरू गायब भएको, कतिपय मत पेटिकामा खसेको मतभन्दा सयौँ मत बढी भेटिएको जस्ता तथ्यहरूले मतदानको प्रक्रियामा योजनाबद्ध रूपमा अनियमितता भएको कुरा छर्लङ्ग पारेको छ ।
ती मतपत्रहरू कसरी गायब भए ? ती मतपत्रहरू कतिपय बाकसमा कसरी बढी हुन पुगे ? यी प्रश्नहरूको निर्वाचन आयोगले अहिलेसम्म तर्कसङ्गत जवाफ दिन सकेको छैन । त्यसैले मैले निर्वाचन अधिकृतले गराएको गणनाको नतिजालाई स्वीकार गर्न सकेको छैन,” उनले भने ।
साथै उनले अब कानुनी समाधान खोजिने पनि बताएका छन् । उता नेपाली कांग्रेसले सुनसरी–४ मा पुन: मतदान हुनुपर्ने माग गरेको छ । सोमबार अपराह्न इनरुवामा पत्रकार सम्मेलन गरेर कांग्रेसले कर्मचारीबाट मतगणनामा धाँधली भएको पुष्टि भएको र मतदानमा पनि धाँधली भएको हुनसक्ने भएकाले पुन: मतदान हुनुपर्ने बताएको हो ।
कांग्रेस सुनसरीका जिल्ला सभापति केदार भण्डारीले पत्रकार सम्मेलनमा भने, “हामी जनताको अभिमतमा विश्वास गछौँ, जनताको मतपेटिका सुरक्षित छ । मतगणनामा कर्मचारीले धाँधली गरेको पुष्टि भइसक्यो । अगाडि पनि धाँधली भएको हामीलाई लागेको छ । त्यसैले पुन: मतगणना हुनुपर्छ । यसबाट हामी पछि हट्दैनौँ । ”
एमालेले कर्मचारी घुसपेठ गरेर बढी मत प्रविष्टि गरान खोजेको कांग्रेसको आरोप छ । आजै दिउँसो एमालेले पत्रकार सम्मेलन गरेर मतगणना सुरु नगरे सडक आन्दोलन गर्ने चेतावनी दिएपछि कांग्रेसले पनि पत्रकार सम्मेलन गरेर पुन: मतदानको माग गरेको हो ।
शनिबार साँझबाट स्थगित भएको सुनसरी–४ को मतगणना कार्य अझै सुरु हुन सकेको छैन ।कांग्रेसका उमेदवार ज्ञानेन्द्रबहादुर कार्कीले मतगणनामा धाँधली भएको बताएका छन् ।
Leave A Comment