Latest
img

Breaking: स्वीट्जरल्यान्डलाई हराउदै ब्राजिल बन्यो बिजयी

फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह जी को खेलमा ब्राजिलले दोस्रो खेलमा स्विटजरल्यान्डलाई पराजित गर्दै नकआउट चरणमा स्थान पक्का गरेको छ ।सोमबार रंगशाला ९७४ मा ब्राजिलले १-० को जित दर्ता गर्ने क्रममा क्यासेमिरोको गोल निर्णायक सावित भयो ।

पहिलो हाफमा ब्राजिलको लगातार आक्रमणमा गोलरक्षक यान सोमर बाधक बनेका थिए । दोस्रो हाफमा भिनीसियसले गरेको गोल भीएआरले मान्यता नदिँदा ब्राजिल बराबरीमा रोकिने देखिएको थियो । तर अन्तिम समयमा क्यासेमिरोले उत्कृष्ट गोल गर्दै ब्राजिललाई लगातार दोस्रो जित दिलाए ।

२७ औं मिनेटमा ब्राजिलको अग्रतासामु गोलरक्षक यान सोमर बाधक बने । राफिन्हाले दिएको बलमा भिनीसियसको सुन्दर प्रहारलाई सोमरले उत्कृष्ट बचाउ गरे । ३१ औं मिनेटमा राफिन्हाको प्रहारमा पुन: सोमरले सहज बचाउ गरे ।६५ औं मिनेटमा भिनिसियस जुनिअरले गोल गरेपनि त्यसले भिडियो असिस्टेन्ट रेफ्रीको मान्यता पाउन सकेन ।

गोल निर्माण हुने मुभमा ब्राजिलका फरवार्ड अफसाइड देखिएपछि रेफ्रीले गोललाई मान्यता दिएनन् ।८३ औं मिनेटमा कासेमिरोले गोल गर्दै ब्राजिललाई अग्रता दिलाए । उनले पेनाल्टी क्षेत्रभित्र रोड्रीगोले दिएको पासलाई पहिलो टचमै गोलको दिशा दिए ।क्यासेमिरोको प्रहार डिफेन्डरलाई डिफ्लेक्ट हुँदा गोलरक्षक सोमरले बचाउने कुनै अवसर पाएनन् ।

इन्ज्युरी समयमा ब्राजिलले अग्रता बढाउने अवसर पाएको थियो । तर रोड्रीगोले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहारलाई स्विस डिफेन्डरले बाहिर पठाए ।यसअघि समूह जी कै खेलमा क्यामरुन र सर्बियाले ३-३ को बराबरी खेलेका थिए । दुवै टोलीले अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा अंक बाँड्नुपरेको थियो ।

ब्राजिल यस जितसँगै २ खेलमा ६ अंकसाथ समूहको शीर्षस्थानमा उक्लिएको छ । स्विटजरल्यान्डको ३ अंक छ भने सर्बिया र क्यामरुनले १-१ अंक जोडेका छन् । अब अन्तिम चरणको खेलमा क्यामरुनले ब्राजिल र सर्बियाले स्विटजरल्यान्डको सामना गर्नेछ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment