प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा यही निर्वाचनबाट उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वाधिक ३४ हजार ३१२ मतान्तरले चुनाव जितेका छन् । पूर्वसञ्चारकर्मी लामिछानेले चितवन क्षेत्र नं. २ मा सत्ता गठबन्धनबाट उम्मेदवार रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् राज्यमन्त्री उमेश श्रेष्ठलाई भारी मतान्तरसहित पराजित गरेका हुन् ।
यो क्षेत्रमा कुल ८४ हजार ३१५ मत खसेको थियो । त्यसमध्ये लामिछानेले ४९ हजार ३०० अर्थात् ५८।४७ प्रतिशत मत ल्याएर जितेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी राज्यमन्त्री श्रेष्ठले १४ हजार ९८८ मत ल्याएका छन् ।लामिछानेपछि सर्वाधिक मतान्तरले चुनाव जित्नेमा नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल छन् ।
उनले ३४ हजार ३१२ मतान्तरले जितेका छन् । सुवालले ४२ हजार ७६१ मत ल्याउँदा नेकपा एमालेका नवराज गेलालले ११ हजार ९६८ मत पाएका छन् ।त्यस्तै, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका खगेन्द्र अधिकारीलाई २८ हजार ५७६ मतान्तरले जितेका छन् ।
उनले ०७४ मा उनै अधिकारीलाई २८ हजार ८४२ मतान्तरले जितेका थिए । अधिकारीले यसपटक २६६ मतान्तर घटाएका छन् । ओलीले ५२ हजार ३१९ मत पाउँदा अधिकारीले २३ हजार ७४३ मत ल्याएका थिए । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले पनि २५ हजार २२९ मतान्तरले चुनाव जितेका छन् ।
उनले रोल्पाबाट नेकपा एमालेका पूर्ण बुढामगरलाई फराकिलो अन्तरले पराजित गरेका हुन् । पुनले ४१ हजार ७१४ मत पाए भने बुढामगरले १६ हजार ४८५ मत ल्याएका छन् ।उता नेपाली कांग्रेसका महामन्त्री एवम् झापा १ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले अर्का महामन्त्री गगनकुमार थापालाई प्रधानमन्त्री बनाउने अभियान सुरु गर्ने बताएका छन् ।
मंगलबार काठमाडौंस्थित महामन्त्री थापाको घरमा बधाई ज्ञापन गर्न पुगेका महामन्त्री शर्माले गगन थापालाई प्रधानमन्त्री बनाउने अभियान सुरु गर्ने बताएका हुन् ।झापा १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि काठमाडौं आएका शर्मा विमानस्थलबाट सिधै थापा निवास रातोपुल पुगेर बधाई तथा प्रधानमन्त्री बन्ने शुभकामना व्यक्त गरे ।
उनले आफू थापालाई सांसद भएकोमा बधाई दिनका लागि मात्रै नआएको भन्दै प्रधानमन्त्री बनाउने अभियान सुरु गर्नका लागि आएको बताए ।उनले महामन्त्री थापा पटक पटक सांसद भइसकेको र मन्त्री भएर अनुभवपनि हासिल गरिसकेको भन्दै अब देशको आवश्यकतालाई बुझेर प्रधानमन्त्री पदको लागि नेतृत्व गर्नेगरी अगाडी बढ्नुपर्ने बताए ।
उनले भने, ‘म महामन्त्री गगन थापालाई बधाई दिन आएको भनेको काठमाडौं ४ बाट निर्वाचित हुनुभयो तपाई सांसद बन्नुभयो भनेर होइन । सांसद पहिल्यै भइसक्नु भएको हो पटक पटक । मन्त्री भएर अनुभव पनि हाँसिल गरिसक्नुभएको हो । अब देशको आवाज के हो ?
देशको आवश्यकता के हो ? त्यो आवश्यकतालाई बुझेर नेतृत्व गर्ने ढंगले तपाई अब, प्रधानमन्त्री पदको लागि नेतृत्व गर्ने ढंगले अगाडी बढ्नुस् भन्नका लागि म आएको हो । त्यो भन्ने कुरा मात्रै होइन त्यस विषयको अभियानलाई सुरु गर्नलाई पनि म आएको हो ।’
महामन्त्री शर्माले गगन थापालाई संसदीय दलको नेता बनाउन पार्टीभित्रका शीर्ष नेताहरु र सांसदहरुसँग छलफल अगाडी बढाउने बताए । उनले गगन थापालाई संसदीय दलको नेताका लागि पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतको समर्थन जुटाउनु आफ्नो जिम्मेवारी र कर्तव्य भएको पनि बताए ।
Leave A Comment