Latest
img

आयाेजक कतारलाई धक्का, २ गाेल उपहार दिदै नेदरल्यान्ड्स बन्यो समूह विजेता

२२औं संस्करणको फिफा विश्वकप फुटबलको आयोजक राष्ट्र कतारले लगातार तेस्रो हार बेहोरेको छ । आज मंगलबार राति भएको समूह ‘ए’को खेलमा पाहुना टोली नेदरल्यान्ड्सले कतारलाई उसकै घरेलु मैदानमा २–० ले हराएर आफू भने समूह विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको छ ।

अन्तिम खेलअघि यस समूहबाट नेदरल्यान्ड्स, सेनेगल र इक्वेडर गरी ३ वटै टोलीलाई अन्तिम १६ मा जाने बाटो खुला भएकोमा नेदरल्यान्ड्सले आयोजक कतारलाई एकपक्षीय रूपमा पराजित गर्दै आफू नकआउट चरणमा प्रवेश गर्न सफल भयो, त्यो पनि समूह विजेता बनेर ।

समूह ‘ए’का २ वटै खेल एकै समय राति ८ः४५बजेबाट सुरु भएकोमा कतार र नेदरल्यान्ड्स अल बेत रंगशालामा खेलेका थिए । जहाँ नेदरल्यान्ड्सले पहिलो र दोस्रो हाफमा १–१ गोल गरेर खेल जित्यो । नेदरल्यान्ड्सका लागि खेलको २६औं मिनेटमा युवा खेलाडी कडी गाक्पोले गोल गरेर अग्रता दिलाए ।

उनको गोलमा क्लासेनले असिस्ट गरेका थिए । गाक्पोले विश्वकपमा पहिलो खेलबाटै तेस्रो खेलसम्म लगातार ३ खेलमा १–१ गोल गरेका छन् । उनले पहिलो खेलमा सेनेगलविरुद्ध हेडिङ गोल गर्दा दोस्रो खेलमा इक्वेडरविरुद्ध लेफ्ट फुटले गोल गर्दा आज कतारविरुद्ध राइट फुटले गोल गरे ।

तेस्रो खेलमा जित निकालेपछि नेदरल्यान्ड्स ३ खेलबाट ७ अंक जोडेर समूह विजेता बन्यो । ऊ अपराजित रहँदै २ खेलमा जित निकाल्दै एक खेलमा भने बराबरी गर्यो । सन् २०१८ को विश्वकपमा छनौट नै नभएको नेदरल्यान्ड्स यसपटक ठीकठाक अन्तिम १६ प्रवेश गर्न पनि सफल भएको छ ।

यता, कतारले भने आयोजक राष्ट्र भएर पनि समूह चरणका ३ वटै खेल हारेर शतप्रतिशत हारका साथ विश्वकप यात्रा आफ्नै घरमा सिध्याएको छ । कतारले यसपटक पहिलोपटक विश्वकप खेलेको हो, त्यो पनि आफैंले आयोजना गरे । यस विश्वकपमा कतारले जम्मा १ गोल हान्यो ।

कतारको विश्वकप यात्रा निकै खराब र बिर्सनलायक बन्यो । उसले इतिहासकै सबैभन्दा महँगो र भव्य विश्वकप त आयोजना गर्यो तर उसले प्रतियोगितामा ३ खेलमा एउटा पनि जित्न सकेन । उसले बराबरी पनि खेल्न सकेन । ३ वटै खेलमा पराजय भोग्दै उसले आफैंले आयोजना गरेको ऐतिहासिक विश्वकपको सुनौलो यात्रामा निकै बिजोगपूर्ण अवस्थाबाट अन्त्य गरेको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment