काठमाडौँ- चोटका कारण ५ जना प्रमुख खेलाडीबिनै कतार विश्वकपमा होमिएको फ्रान्सलाई अझै चोटको पिरलो थपिएको छ । टोलीका सबैभन्दा मुख्य खेलाडी युवा स्टार केलियन एमबाप्पेले प्रशिक्षण दौरान चोट बोकेका छन् ।
फ्रान्सको पत्रिका ‘लेक्विपे’ले यो पुष्टि गरेको छ कि, समूह चरणको तेस्रो खेलको तयारी दौरान एमबाप्पेले चोट बोकेका हुन् । फ्रान्सले आजै राति ८ः४५ बजेबाट समूह चरणको तेस्रो खेल ट्युनिसियासँग खेल्दै छ । सो खेलमा एमबाप्पे नहुने करिब तय छ ।तर, एमबाप्पेको चोट सामान्य रहेको रिपोर्टमा बताइएको छ ।
एमबाप्पेको प्रशिक्षण दौरान कुर्कुच्चाको पछाडिको भागमा सामान्य चोट परेको बताइएको छ । जसका कारण उनलाई आज राति हुने खेलमा आराम दिइने करिब पक्का छ । तर, त्यसपछि उनले खेलमा भने उनी फिट हुनेछन् । चोट सामान्य रहेकाले उनलाई थप जोखिम बढ्न नदिन र अन्तिम १६ को महत्त्वपूर्ण खेलका लागि फिट राख्न पनि आज रातिको खेलमा उनलाई आराम दिइनेछ ।
फ्रान्स यसअघिकै खेलबाट अन्तिम १६ मा प्रवेश गरिसकेकाले आजको खेल हारे पनि कुनै फरक पर्दैन । तर, फ्रान्स समूह चरणमा अपराजित रहँदै वा शतप्रतिशत जितका साथ नकआउट चरणमा प्रवेश गर्न चाहन्छ । ट्युनिसिया कमजोर टिम भएकाले एमबाप्पेबिना पनि फ्रान्सले खेल जित्न सक्छ ।
एमबाप्पेले सुरुआतका दुवै खेल खेल्दै उनले ३ गोल गरिसकेका छन् । आजको खेल गुमाउँदा सर्वाधिक गोलकर्ताको दौडमा उनलाई धक्का लाग्न सक्छ । यस विश्वकपमा फ्रान्स ५ जना प्रमुख खेलाडी चोटका कारण नहुँदा पनि उत्कृष्ट लय देखारहेको छ ।२ जना प्रमुख मिडफिल्डर पाउल पोग्बा र एन्गोलो कान्टेदेखि प्रमख फरवार्ड करिम बेन्जेमा पनि चोटका कारण विश्वकपमा छैनन् ।
बेन्जेमाको नाम अझै पनि विश्वकप खेल्ने २६ जनाको टोलीमा छ । तर, उनले खेल्ने सम्भावना कम छ । यदि फ्रान्स फाइनलसम्म पुगे बेन्जेमाले आश्चार्यजनक ढंगले टोलीमा कमब्याक गर्न सक्छन् । डिफेन्डर प्रेस्नल किमपेम्बे र युवा खेलाडी क्रिस्टोफ कुन्कु पनि चोटका कारण टोलीमा समावेश छैनन् । साबिक च्याम्पियन फ्रान्सलाई यसपटक पनि विश्वकपमा एक प्रमुख उपाधि दाबेदार मानिएको छ ।
Leave A Comment