Latest
img

‘नेपालीको मिहिनेतले कतारमा विश्वकप सम्भव भएको हो’, ‘नेपालीबिना हाम्रो समृद्धि सम्भव थिएन

कतारको प्रतिष्ठित मिडिया ग्रुप दार अलशर्कका उप प्रमुख कार्यकारी निर्देशक जाबर अल हर्मीले नेपाली श्रमिकको मिहिनेतले कतारमा फिफा विश्वकप फुटबल आयोजना गर्न सम्भव भएको बताएका छन्। कतार भ्रमणमा रहेका नेपाली पत्रकारहरुसँग बुधबार भेटवार्ता गर्दै हर्मीले कतारमा विश्वकप सफल बनाउन नेपालीहरुले उल्लेखनीय योगदान पुर्याएको बताएका हुन्।

कतारको निजी मिडिया दाल अलशार्क ग्रुपले अरबी दैनिक,अल शार्क,अल अरब लुसेल (आर्थिक दैनिक), दि पेनिनसुला अंग्रेजी पत्रीका प्रकाशन गर्दै आएको छ। उप प्रमुख कार्यकारी निर्देशक हर्मीले सो अवसरमा नेपाली श्रमिकले विकास निर्माणमा पुर्याएको योगदान कतारले कहिल्यै नभुल्ने बताए।

‘नेपालीहरु मिहिनेती र इमानदार छन्। यहाँको सरकारले नेपाली समाजको भूमिकालाई निकै सकारात्मक रुपले हेरेको छ,’ उनले भने, ‘नेपालीबिना हाम्रो समृद्धि सम्भव थिएन। हामी नेपालीहरुको योगदानलाई कहिल्यै बिर्सन सक्दैनौं।’ विश्वकपमा नेपालीले पुर्याएको योगदानले नेपाल र कतारबीचको सम्बन्ध अझ मजबुत गराउने उनको बिश्वास छ।

‘सरकार-सरकारबीचमा मात्र होइन। अब हाम्रो सम्बन्ध नागरिकस्तरमा हुनुपर्छ। कतारी नागरिकले नेपालीहरुलाई अथाह माया गर्छन्,’ उनले भने।कतारको बारेमा विदेशी मिडियाहरुले प्रकाशन गरेका समाचारमा सत्यता नभएको र आप्रवासी कामदारलाई कतारले कहिल्यै विभेद नगरेको दावी उनले गरे।

‘पश्चिमा मिडियाले भनेजस्तो मृत्युदर छैन। यो सबै कतारलाई असफल गराउन गरिएको प्रपोगाण्डा हो। स्टेडियम बनाउँदा मृत्यु भएका भनेर सार्वजनिक गरिएको तथ्याङक गलत छ,’ उनले भने, ‘मृत्यु नभएको भन्नेचाँही होइन। तर, धेरै कम हो। मृत्युमा केही प्राकृतिक कारण छ।’

कतारले असहज परिस्थितिमा पनि विभिन्न अवरोधलाई चिर्दै बिश्वकपलाई उदाहरणीय बनाइरहेको र कुनै कमजोरी भए अझै सुधार गर्ने तयार रहेको बताए। नेपालले पनि कतारबाट सिकेर आगामी दिनमा बिश्वका मानिस नेपाल जाने वातावरण बनाउनु पर्ने सुझाव हर्मीको छ।

विश्वकप जस्तो ऎतिहासिक खेलमा धेरै नेपालीले प्रत्यक्ष रुपमा मजा लिइरहेको देख्दा आफूलाई खुशी लागेको हर्मीले बताए। नेपाली पत्रकार र संचारमाध्यमसँग सहकार्य गर्न आफू तयार रहेको उनको भनाइ थियो। भेटवार्तामा नेपालका सचारकर्मीले बिश्वलाई नै चकित पारेर कतारले बिश्व कप आयोजना गर्दा सबैभन्दा बढी गर्व नेपाल र नेपालीले गरेको बताए।

उनीहरूले सानो देश कतारले सर्वाधिक ठूलो कार्यक्रम सफलतापूर्वक आयोजना गर्नु सबैका लागि उदाहरण बनेको र भोलिका दिनमा दुई देशबीचको सम्बन्ध अझ प्रगाढ हुनुपर्ने बताए। मानव अधिकार आयोगका नेपाली समाजका संयोजक रमजान अलिमियाले संयोजन गरेको भेटवार्तामा वैदेशिक रोजगार पत्रकार समाजका अध्यक्ष उद्वब भट्टराई,

जनसवाल रास्ट्रीय दैनिकका रामजी बगाले, प्रवास खबरका बिनेश खनाल, टिभी सन्डेका किरण मरहठ्ठा, एबसी टेलिभिजनका विष्णु पोख्रेल, उद्वार न्यूजका रवी रोशी र नेपाली समाजका प्रतिनिधि श्रीकृष्ण भट्टराईको सहभागीता थियो।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment