Latest
img

नागरिकता विधेयक जस्ताको तस्तै पठाउने गठबन्धनको निर्णयप्रति ओलीको आपत्ति

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिले संसदमा फिर्ता पठाएको नागरिकता विधेयकलाई जस्ताको तस्तै फिर्ता पठाउने सत्तारुढ गठबन्धनको निर्णयप्रति आपत्ति जनाएका छन्।

अध्यक्ष ओलीले संसदले एक पटक विचार गरोस् भनेर राष्ट्रपतिले पठाएको सो गम्भिर महत्वको विधेयकलाई संसद बाहिरै बसेर सत्तारुढ गठबन्धनले सो निर्णय गरेको भन्दै आक्रोश समेत व्यक्त गरे।

बुधबार ललितपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले संसदमा सो विधेयकको विषयमा बहस समेत गर्न नदिएर सत्तारुढ गठबन्धनले ‘आफूलाई खोपडी नभएको मसले’को रुपमा प्रस्तुत गरेको जिकीर समेत गरे।

संसदीय अभ्यासको समेत ख्यालै नगरी सत्तारुढ गठबन्धनले आफ्नो बहुमतको तागत देखाईदिने भन्दै सो विधेयक राष्ट्रपतिलाई जस्ताको तस्तै फिर्ता पठाउने निर्णय गरेको अध्यक्ष ओलीको भनाई थियो। सत्तारुढ गठबन्धनको सो निर्णयमा बहुमतको घमण्ड चढेको उल्लेख गर्दै उनले त्यस्ताहरुको हातमा देश चल्न नसक्ने बताए।

ओलीले भने, ‘नागरिकता विधेयक राष्ट्रपतिले संसदमा एकपटक विचार गरोस्, कमीकमजोरी नरहोस्। यो धेरै गम्भिर महत्वको प्रश्न हो भनेर फिर्ता पठाउनु भएछ। संसदमा होइन् बाहिर बसेर राष्ट्रपतिले फिर्ता पठाउनु भएपछि पाखुरी छामेर राष्ट्रपतिले फिर्ता पठाउने?

जस्ताको तस्तै फिर्ता पठाउने। हिजो निर्णय गरे। संसदमा छलफल हुनै बाँकी छ। के छलफल हुन्छ अव। पाखुरेहरुले पाखुराको भाषा बोलिसके हिजै–जस्ताको तस्तै पठाईदिने। हाम्रो बहुमतको तागत देखाई दिने। को हो राष्ट्रपति, संसदलाई विचार गर्नु भन्ने?

यस्ता घमण्डीहरुले तर्क छैन, तार्किकता होइन। बल, पाखुरा, मसलका कुरा गर्नेहरु। यस्तो देश चलाउँछन? देशको दूर्भाग्य हो यो। यस्तो सरकार छ देशमा। यो संसदीय अभ्यास नै होइन। संसदमा काँग्रेस होला, माओवादी केन्द्र भन्नेहोला। माधव नेपालको पार्टी होला।

गठबन्धनको पार्टी होला नि संसदमा। त्यहाँ बहस गरे हुन्छ नि। अनि बाहिर यसै फिर्ता गर्ने निर्णय त भईसक्यो उनीहरुको। कस्तो संसदीय अभ्यास। विचारविमर्श नगर्ने, सोझै पठाई दिने–जस्ताको तस्तै। कुरा राम्रो, नराम्रोको मतलव छैन। हाम्रो पाखुराको कुरा हो यो।

यस्तालाई सरकारका राख्नुहुन्छ ? नेपाली जनताले। यी खोपडीमा टाउकामा नभएका, पाखुरामा मसल मात्रै भएका हुन। खोपडीहीन मसले।’

अध्यक्ष ओलीले सत्तारुढ गठबन्धनले मुलुकलाई बर्बाद पार्ने भएकाले आगामी निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याउनुपर्ने पटकपटक दोहोर्‍याए।
nagariknews

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment