Latest
img

नागरिकता ऐन संशोधन विधेयक हुबहु आजै पारित गर्ने !

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरी फिर्ता पठाइदिएको नागरिकता ऐन संशोधन विधेयक आजको प्रतिनिधि सभा बैठकबाट पारित गर्ने तयारी गरिएको छ ।

नागरिक ऐन संशोधन विधेयक पारित गर्ने सम्भावित कार्यसूची संसद सचिवालयले सार्वजनिक गरिसकेको छ । प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले नागरिक विधेयक पारितको सबै प्रक्रिया आजै पूरा हुन सक्ने बताए ।

३१ साउनमा बसेको सत्ता गठबन्धनको बैठकले राष्ट्रपतिले पुनर्विचार गर्न भनेर फिर्ता पठाएको विधेयक हुबहु अघि बढाउने निर्णय गरेको थियो ।

संसदका दुवै सदनबाट पास भइसकेको नागरिकता सम्बन्धी विधेयक १५ साउनमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिकहाँ प्रमाणीकरणका लागि पठाएका थिए । तर राष्ट्रपति भण्डारीले १५ बुँदे सन्देशसहित २९ गते उक्त विधेयक प्रतिनिधिसभामै फिर्ता पठाएकी थिइन् । त्यसको भोलिपल्टको प्रतिनिधि सभा बैठकमा विधेयक फिर्ताको सन्देश पेस भएको थियो ।

प्रतिनिधि सभाका सचिव योगीले सरकारसँगको परामर्शका आधारमा विधेयक पारित गर्ने सम्भावित कार्यसूची तय गरिएको बताए ।

आजको प्रतिनिधि सभा बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले राष्ट्रपतिबाट सन्देशसहित फिर्ता आएको विधेयकमा विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्नेछन् । त्यसपछि सन्देशमा उठाइएका विषयमा आधारित भएर छलफल हुनेछ । छलफलपछि विधेयक पारितको कार्यसूची रहनेछ ।

राष्ट्रपतिले कुनै विधेयक सन्देश सहित फिर्ता गरेमा त्यस्तो विधेयकमाथि दुवै सदनले पुनर्विचार गरी त्यस्तोे विधेयक जस्ताको तस्तै वा संशोधन सहित पारित गरी पुनः राष्ट्रपतिकहाँ प्रमाणीकरणका लागि पठाउने गरिन्छ ।

यसरी आएको विधेयकलाई राष्ट्रपतिले १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था छ । पुनः आएको विधेयक फिर्ता गर्न सक्ने अधिकार राष्ट्रपतिलाई संविधानले दिएको छैन ।
Onlinekhabar

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment