काठमाडौ- फिफा विश्वकप फुटबलमा समूह ‘सी’बाट दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिना र युरोपियन राष्ट्र पोल्यान्डको खेल पहिलो हाफमा गोल रहित बराबरीमा सकिएको छ । खेल स्टाडियम ९७४ मा नेपाली समय अनुसार मध्य राति १२ः४५ बजेदेखि शुरु भएको हो ।
पहिलो हाफमा अर्जेन्टिनाले बल पोसेसन र आक्रमणमा दबाब कायम गरेपनि अग्रता भने लिन सकेको छैन । पोल्यान्डका गोलरक्षक वोजसिएक सेचेज्नीले एक पेनाल्टीसहित अर्जेन्टिनाको लगातार आक्रमण विफल पार्दै खेल गोलरहित राखेका छन् । पोल्यान्डलाई बराबरीले पनि नकआउट चरण पुग्न पर्याप्त रहने कारण टोली रक्षात्मक खेलमा बढी ध्यान दिइरहेको छ ।
सातौं मिनेटमा मेस्सीले पेनाल्टी क्षेत्रबाहिर पोल्यान्डका तीन डिफेन्डर बिट गरेपनि अन्तिम प्रहार फितलो हुन पुग्यो । दशौं मिनेटमा मेस्सीले कठिन एंगलबाट गरेको शक्तिशाली प्रहार गोलरक्षक वोजसिएक सेचेज्नीले बचाए । त्यसपछि अर्जेन्टिनाले लगातार आक्रमण बुनेपनि पोलिस डिफेन्स सजग रहीरह्यो ।
२९ औं मिनेटमा मार्कस अकुनाको प्रहारले पोस्टको दिशा लिन सकेन । ३४ औं मिनेटमा एन्जल डी मारियाको कर्नर प्रहारलाई उनकै क्लब युभेन्टसबाट खेल्दै आएका गोलरक्षक सेचेज्नीले नै बल्लतल्ल बचाए ।३५ औं मिनेटमा सेचेज्नी अर्जेन्टिनाको अग्रतासामु पुन: बाधक बने ।
जुलियन अल्भारेजसँग वन भर्सेस वनको अवस्थामा उनले राम्रो बचाउ गरे । लगत्तै अल्भारेजले दिएको क्रस बचाउने प्रयासमा सेचेज्नीको हातले मेस्सीको अनुहारमा लागेको थियो । रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्रीको सहयता लिँदै अर्जेन्टिनालाई पेनाल्टी दिए ।तर मेस्सीले उक्त पेनाल्टीमा गोल गर्न सकेनन् ।
सेचेज्नीले आफ्नो बायाँतर्फ डाइभ दिँदै मेस्सीको पेनाल्टी प्रहार विफल पारे । जारी विश्वकपमा उनको यो दोस्रो पेनाल्टी बचाउ हो । यसअघि उनले साउदी अरेबियाका अल दसारीको पेनाल्टी पनि बचाएका थिए । ४३ औं मिनेटमा अल्भारेजको प्रहारमा पुन: सेचेज्नी बाधक बने ।
यस खेल बराबरीमा सकिएको अवस्थामा पोल्यान्ड अघिल्लो चरणमा पुग्नेछ । अर्जेन्टिनाका लागि भने अर्को खेलको नतिजाले अन्तिम १६ नतिजा भर पर्नेछ । दुवै खेल बराबर भए पोल्यान्ड र अर्जेन्टिना अघि बढ्नेछन् ।आफ्नो जितले भने अर्जेन्टिना नकआउट चरणमा पुग्नेछ ।
Leave A Comment