कतारमा जारी फिफा विश्वकप फुटबलको एक प्रमुख उपाधि दाबेदार मानिएको अर्जेन्टिनाले नकआउट चरणमा तुलनात्मक रूपमा सजिलो प्रतिस्पर्धी पाएको छ । गत राति समूह ‘सी’ र ‘डी’बाट अन्तिम १६ मा जाने ४ टिमको टुंगो लागेसँगै अन्तिम १६ मा अर्जेन्टिनाले पाउने प्रतिस्पर्धी तय भएको हो ।
अब क्वार्टरफाइनल (अन्तिम आठ) प्रवेशका लागि लियोनल मेस्सीको टिम अर्जेन्टिनाले अस्ट्रेलियासँग खेल्नुपर्ने भएको छ । यसअघि भएको ड्र अनुसार समूह चरणबाट विजेता र उपविजेता बनेर जाने देशले अन्तिम १६ मा एकअर्कासँग खेल्नुपर्छ । अहिले फिफा वरीयतामा अर्जेन्टिना तेस्रो स्थानमा छ भने अस्ट्रेलिया ३८औं स्थानमा रहेको छ ।
समूह ‘सी’ र ‘डी’बाट शीर्ष दुईमा रहेर अघि बढेका ४ देशबीच ड्र भएको छ । अर्जेन्टिना आफ्नो ‘सी’बाट समूहबाट विजेता बनेर अन्तिम १६ मा पुग्दा ‘डी’बाट दोस्रो स्थानमा रहेर अस्ट्रेलिया अघि बढेकाले यी दुई देशले अन्तिम १६ मा एकअर्काको सामना गर्नुपर्ने छ ।
समूह ‘सी’ र ‘डी’का शीर्ष दुई देश बीचक्रस ड्र भएको हुँदा एक समूहको विजेताले अर्को समूहको उपविपजेता र अर्को समूहको विजेताले अर्को समूहको उपविजेतासँग खेल्नेछन् । समूह ‘सी’बाट अर्जेन्टिना विजेता र पोल्यान्ड उपविजेता बन्यो । उता, समूह ‘डी’बाट फ्रान्स विजेता र अस्ट्रेलिया उपविजेता बन्यो ।
यस अनुसार समूह ‘सी’को विजेता अर्जेन्टिनाको खेल समूह ‘डी’को उपविजेता अस्ट्रेलियासँग र समूह ‘सी’को उपविजेता पोल्यान्डको खेल समूह ‘डी’को विजेता फ्रान्ससँग हुने पक्का भएको छ । यी दुई समूहलाई हेर्दा पोल्यान्ड र अस्ट्रेलिया दुवैलाई कठिन प्रतिस्पर्धी परेका छन् ।
यदि फ्रान्स र अर्जेन्टिना एक विजेता र अर्को उपविजेता बनेका थिए भने यी दुईको भेट अन्तिम १६ मै हुने पक्का थियो । तर, दुवै देशले समूह विजेता बन्दा उनीहरूको भेट अन्तिम १६ मा नहुने पक्का भएको हो । अब यदि फ्रान्स र अर्जेन्टिनाको भेट हुन सक्छ भने फाइनलमा मात्रै हुनेछ ।
त्यसअघि कुनै चरणमा पनि हुनेछैन ।गत राति समूह चरणको अन्तिम खेलमा फ्रान्स कमजोर ट्युनिसियासँग १–० ले पराजित भयो भने अर्जेन्टिनाले पोल्यान्डमाथि २–० को जित निकाल्यो । समूह ‘डी’बाट फ्रान्स ३ खेलमा २ खेलमा जित र एकमा हार बेहोर्दै ६ अंकका साथ
अन्तिम १६ मा गयो भने अस्ट्रेलियाले पनि समान ६ अंक बनाएर उपविजेता बन्यो । उता, समूह ‘सी’बाट अर्जेन्टिना दुईमा जित र एक खेल हारेर ६ अंकका साथ विजेता बन्यो भने पोल्यान्ड मेक्सिकोलाई गोल अन्तरमा पछि पारेर ४ अंकका साथ अन्तिम १६ मा गयो ।
Leave A Comment