चितवन २ बाट विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले काम गराउन फिल्डमा खट्नु पर्ने बताएका छन् ।खानेपानीको मुहानमा पुगेका लामिछानेले सामाजिक सञ्जालमा लेख्दै यस्तो बताएका हुन् ।उनले लेखेका छन्, ‘हो, विधायकको काम नीति निर्माण मा नै ध्यान दिने हो तर काम गर्नरगराउन फिल्डमा खट्नु पनि पर्छ।
हामी भुईँ मान्छेका मान्छेहरू हौ, भुईँ छोड्ने त कुरै आउँदैन नि।हामी आगो नलागोस् भन्ने कामना मात्र गर्दैनौँ आगो लागिहाले निभाउन पनि पुग्छौँ। नीतिहरू कागजमा मृत भएर बस्नु हुन्न, नागरिकले महसुस गर्ने गरी लागू पनि हुनु पर्छ। त्यसैले हामी संसद र सडक दुवै तिर हुन्छौँ। हामी यस्तै छौँ ।’
लामिछानेले आफू निर्वाचित भएको दिनदेखि नै काममा लागेको बताएका थिए । अहिले उनी आफ्नो निर्वाचन क्षेत्रमा रहेको खानेपानी समस्याको समाधानका लागि लागिरहेका छन् ।लामिछाने चितवन २ मा ४९ हजार २६१ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम् प्रतिनिधि सत्तारूढ गठबन्धनका तर्फबाट उम्मेदवार रहेका उमेश श्रेष्ठको १५ हजार ९९ मत ल्याएका थिए ।
यो पनि – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले हर्क साम्पाङलाई प्रशंसा गर्दै उनको भिडिओ अन्तरवार्ता सेयर गरेका छन् ।बालेनले फेसबुकमा भुषण दाहालले साम्पाङसँग लिएको अन्तरवार्ता सेयर गरेका हुन् । जहाँ हर्कले सुकुम्बासीका विषय उठान गरेका छन् ।
भिडिओमा उनले धरानमा सुकुम्बासीभित्रको अवस्थाबारे बोलेका छन् । काठमाडौंस्थित थापाथलीमा आइतबार सुकुम्बासीमा डोजर लगाउन खोज्दा स्थानीयबासी प्रतिकारमा उत्रिँदा नगर प्रहरीहरु घाइते भएका थिए । यसै विषयमा हर्कले सुकुम्बासी बन्ने बनाउने खेलमा राजनीतिक स्वार्थ रहेको भिडिओमा बताएका छन् ।
उनले यसको समस्याको लागि आफू एक्लैले नसक्ने भन्दै सबै नेताहरुलाई इमानदार बन्न अपील गरेका छन् । बालेनले यही प्रसंग उठाउँदै भिडिओ शेयर गर्दै आफ्नो सामाजिक संच्जाल मा लेखेका छन्, ‘हर्कजी तपाईंजस्तो इमानदार नेता यो देशमा अझै १०० वर्ष जन्मिँदैन’
यो पनि – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड परिवारसहित सिन्धुपाल्चोकको सुकुटेमा पुगेक छन् ।परिवारका सदस्यसहित माओवादीका नेता लिएर प्रचण्ड सुकुटे पुगेका हुन् । राजनीतिक तनावपछि रिफ्रेस हुन सु्कुटे पुग्ने गरेका प्रचण्ड अहिले निर्वाचनलगत्तै सुकुटे पुगेका हुन् ।
प्रचण्डसहितको टोलीले भोटेकोसीमा र्याफ्टिङ गरेका छन् । प्रचण्ड बुधबारको बास सुकुटेमै बिताउने भएका छन् । छोरीद्वय रेणु र गंगासहित परिवारिक सदस्य, अग्निप्रसाद सापकोटासहित माओवादी नेताहरु प्रचण्डसँगै रहेका छन् ।साथै हालै सम्पन्न निर्वाचनमा सिन्धुपाल्चोक २ बाट निर्वाचित भएका माधव सापकोटा, प्रदेशसभामा निर्वाचित सरल सहयात्री पनि प्रचण्डको टोलीमा देखिएका छन् ।
Leave A Comment