Latest
img

यसपालि सबै मिलेर देउवालाई हराउनुपर्छ, नत्र उनले देश बेच्छन् : कर्ण मल्ल

नेपाली कांग्रेस (विपी) का वरिष्ठ उपाध्यक्ष कर्णबहादुर मल्लले अबको प्रतिनिधि सभाको निर्वाचनमा सबै मिलेर प्रधानमन्त्री रहेका शेरबहादुर देउवालाई पराजित गर्नुपर्ने बताएका छन्।सोमबार बोलन्या थली धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले देउवा छैठौं पटक प्रधानमन्त्री भए देश बेचिने तर्क गरेका हुन्।

‘एमसीसी, एसपीसी र नागरिकता विधेयक ल्याएर विदेशी दलाललाई यो देश बेच्न उहाँ लागिरहनुभएको छ। २०५१ सालको निर्वाचनबाट हालसम्म उहाँले पश्चिम सेतीको नारा लगाइरहनु भएको छ। सुदूरपश्चिमका सबैलाई रोजगारी दिन्छु भनेर उहाँले ठगिरहनु भएको छ’ मल्लले भने, ‘त्यसैले यसपालि सबै मतदाता मिलेर उहाँलाई हराउनुपर्छ, नत्र छैठौंपटक प्रधानमन्त्री हुनुभयो भने उहाँले देश बेच्नुहुन्छ।’प्रधानमन्त्री देउवाले बारम्बार डडेल्धुराका नागरिकलाई झुटो आश्वासन दिइरहेको मल्लले तर्क गरेका छन्।

उनले देउवा निर्वाचनका बेलामात्रै जिल्लामा आउने र त्यसछि मुख नदेखाउने बताएका छन्। ‘उहाँले डडेल्धुराका जनतालाई रैतीको रुपमा हेर्छन्’ मल्लले भने। यस्तै देउवाले २०७४ सालदेखि हालसम्म आफ्नो सम्पत्ति सार्वजनिक नगरेको उल्लेख गर्दै मल्लले अब सुदूरपश्चिमका हरेक नागरिकले उक्त प्रश्न गर्नुपर्ने बेला आएको बताएका छन्।

देउवा हिन्दुवादी होइनन्कर्ण मल्लले आफूलाई काँग्रेसबाट निकालिनुको २ कारण समेत बताएका छन्। आफूले नेपालमा हिन्दुत्वको नारा लगाएको र पार्टीभित्रको अप्रजातान्त्रिक पद्धतीको बारेमा बोलेका कारण कारवाही भएको उनले स्पष्ट पारेका छन्।

‘मैलै निरन्तर हिन्दुत्वको नारा लगाए। तर त्यो उहाँ(देउवा) को रुचिको विषय थिएन। किनकी उहाँ हिन्दुवादी होइन। उहाँलाई उहाँका विदेशी क्रिस्टियन प्रभूहरुको दबाब थियो’ पत्रकार सम्मेलनमा बोल्दै मल्लले भने, ‘अर्को कारण उहाँलाई मैले पार्टीभित्रको अप्रजातान्त्रिक विषयमा बोलेको मन परेन।

त्यसैले त बहालवाला जिल्ला सभापतिलाई बाहिर राखेर डडेल्धुरामा जिल्ला अधिवेशन गरियो।’प्रदेश सरकार जनताप्रति उत्तरदायित्व भएन

कर्णबहादुर मल्लले सुदूरपश्चिम प्रदेश सरकारले ५ वर्षसम्म विभिन्न प्रकरणबाहेक केही नगरेको आरोप लगाएका छन्। उनले प्रदेश सरकार जनताप्रति उत्तरदायित्व हुन नसकेको दाबी गरेका छन्।

‘त्रिलोचन भट्ट नेतृत्वको प्रदेश सरकारले व्यक्तिका नाममा बजेट दिने, निर्माण व्यवसाय तथा गाउँका टाठाबाठासँग अग्रिम रकम लिएर योजना हाल्ने बाहेक यो सरकारका कुनै उपलब्धीमुलक काम हुन सकेन’ उनले भने, ‘कोरोनाका कहरका बेला यहाँका मुख्यमन्त्रीसहित मन्त्रीहरुले कुनै सम्वेदनशिलता देखाउन सकेनन्।

उनीहरुलाई आफूले गरेका अनियमितताका बारेमा कुनै मतलब नै छैन। बस् उनीहरुलाई अहिलेको ५ दलीय गठबन्धनको दम्भ छ।’

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment