Latest
img

ओलीका दुत बिशेष सन्देश बोकेर देउवालाई भेट्न बालुवाटार पुगे, राजनीतिले अर्कै मोड लिन सक्ने

काठमाडौँ- नेकपा (एमाले)का उपमहासचिव तथा गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार गएका छन्।उनी शुक्रबार दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर फर्किएको बालुवाटारनिकट स्रोतले जनाएको छ।

प्रधानमन्त्री देउवा र उपमहासचिव गुरुङबीच ३३ मिनेट भलाकुसारी भएको हो। संसदीय अंक-गणित र आगामी नयाँ सरकारबारे एमाले अध्यक्ष केपी शर्मा ओलीको सन्देश बोकेर दूतका रुपमा बालुवाटार गएका गुरुङले देउवालाई चुनावी जीतको बधाई तथा शुभकामनासमेत दिएका छन्।

‘एमालेका अध्यक्ष केपी शर्मा ओलीको नयाँ सन्देश बोकेर उपमहासचिव पीएस कमरेड बालुवाटार जानुभएको थियो,’ गुरुङनिकट एक केन्द्रीय सदस्यले भने, ‘सम्भवतः ओली र देउवाबीच चाडै भेटवार्ता हुनसक्छ।’प्रधानमन्त्री देउवालाई भेटेलगतै गुरुङ बालुवाटारबाट निस्केर बागबजारस्थित प्रेस चौतारी नेपालले आयोजित कार्यक्रममा गएका हुन्।

सत्ता राजनीतिका दृष्टिकोणले उनीहरूको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ। उता एमाले नेता शेरधन राईले पार्टी अध्यक्ष केपी ओलीलाई नेपाली कांग्रेससँग सहकार्यका लागि संवाद थाल्न सुझाव दिएका छन्। शुक्रबार दिउँसो श्रीमतीसहित बालकोट पुगेका पूर्वमुख्यमन्त्री राईले जनताको जनादेशलाई आत्मसात गर्दै पहिलो र दोस्रो शक्ति र हैसियतमा जनअनुमोदित एमाले र कांग्रेसबीच संवाद सुरु गर्न ओलीलाई आग्रह गरेका हुन्।

उनले निर्वाचन परिणामबाट पाठ सिक्दै स्थायी राजनीतिक शक्तिहरु मिलेर अगाडि बढ्न, देशलाई राजनीतिक स्थायित्व दिन, सुशासन कायम गर्न, विकास र समृद्विको अभियानलाई तीव्रता दिन बलियो र स्थिर सरकार बनाउनुपर्ने, सरकार बनाउने र भत्काउने फोहोरी खेल बन्द गर्नुपर्ने भन्दै कांग्रेससँग किन संवाद नथाल्ने भन्दै प्रश्न गरेका छन्।

उनले गठबन्धनको औचित्य सकिएको भन्दै कांग्रेस र एमालेबीच सहकार्य हुनुपर्नेमा जोड दिएका छन्।‘देश र जनताको हित र स्वार्थलाई केन्द्र भागमा राखेर सहकार्य र प्रतिस्पर्धा किन नगर्ने ? कि नेपाली कांग्रेस अस्थिर शक्ति र समूहहरुकै वैशाखी टेकेर देश भाँडमै जावस भन्ने चाहन्छ ? देश र जनताको हितार्थ बहस, छलफल र संवाद थाल्न बिलम्ब नगरौं,’ राईले सामाजिक सञ्जालमा लेखेका छन्।

उनले चौतर्फी घेराबन्दीका बाबजुद पनि ओलीको नेतृत्वमा एमाले सग्लो र प्रमुख शक्तिका रूपमा स्थापित हुन सफल भएको भन्दै अध्यक्षलाई बधाई पनि दिएका छन्। भोजपुरबाट प्रतिनिधिसभा सदस्यमा उठेका राई माओवादी उम्मेदवार सुदन किराँतीसँग पराजित भएका हुन्।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment