काठमाडौं उपत्यकाभित्रका तीन जिल्लामध्ये काठमाडौंमा सबैभन्दा बढी सुकुम्बासी समस्या देखिएको छ । सहज व्यवस्थापन नहुने अवस्थामा रहेको यो समस्या छिमेकी ललितपुर महानगरले पनि भोगेको थियो । ललितपुर महानगरका प्रवक्ता राजु महर्जनका अनुसार यहाँ ०४५ सालताका सुकुम्बासी बस्ती बसेको थियो ।
तर, महानगरको साथ लिएर स्थानीयले सुकुम्बासीलाई लखेटेका थिए । ‘त्यतिबेला काठमाडौंको शंखमुल क्षेत्रमा खासै बस्ती बसेको थिएन । खोला किनारमा १४/१५ घर मात्रै सुकुम्बासी थिए । बागमती वारिपारि अधिकांश जग्गा गुठीको भएकोले यहाँ खेती गर्दै आएका थिए ।
उनीहरू ललितपुरसम्म बस्ती बसाइरहेका थिए । तर, स्थानीयले लखेटेपछि सुकुम्बासीले थापाथलीदेखि शंखमुल पुलसम्मै अधिपत्य जमाए,’ उनले भने । त्यतिबेला ललितपुरबाट लखेटिएका सुकुम्बासी समस्या अहिले काठमाडौं महानगरपालिकाको मेयर बालेन्द्र शाह ‘बालेन’को टाउको दुखाइ बनेको छ ।
गत सोमवार काठमाडौं थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउने महानगरको प्रयास विफल भएको छ । महानगरले बस्ती हटाउन डोजर लगेपछि बस्तीमा तनाव उत्पन्न भएको थियो । जसका कारण महानगर पछि हट्न बाध्य भएको थियो । सुकुम्बासीले बस्न खोजेको ललितपुरतर्फको क्षेत्रमा अहिले युएन पार्क निर्माण भएको छ ।
बागमती किनारबाट यात्रा गर्ने जो कोहीलाई पनि पार्कको दृष्य लोभ्याउने गरेको छ । करिडोर, व्यवस्थित हुँदै गरेको घाट, ठाउँठाउँमा पार्क र सार्वजनिक भवन मात्रै छैनन्, खेलमैदान समेत बनाइएको छ । बाबुराम भट्टराई नेतृत्वको सरकारका पालामा बागमतीबाट सुकुम्बासी हटाएर धोविघाटमा राख्ने योजना पनि बनाएको थियो ।
तर, स्थानीयले आन्दोलन नै गरेपछि यो योजना यत्तिकै रोकिएको ललितपुर महानगरका प्रवक्ता बताउँछन् । उनका अनुसार ललितपुरलाई सुकुम्बासीरहित जिल्ला घोषणा गर्न खोजिएको छ । अहिले ललितुरको महालक्ष्मी नगरपालिका वडा नं २ मा ४/५ घर सुकुम्बासी छन् ।
त्यहाँ अहिले पुल निर्माण भइरहेको छ । तर, सुकुम्बासीका कारण बाटो बिस्तारमा समस्या भएपछि उनीहरूलाई छलफलको लागि बोलाइएको र सोमबार छलफल गर्ने योजना भएको पनि उनले जानकारी दिए ।
Leave A Comment