काठमाडौँ – समूह चरणको अन्तिम खेलमा साउथ कोरियासँग नमिठो हार भोगे पनि क्रिस्टियानो रोनाल्डोको टिम पोर्चुगल समूह विजेता बन्दै कतारमा जारी फिफा विश्वकप फुटबलको अन्तिम १६ मा प्रेश गरेको छ ।
यसअघि दोस्रो खेलबाटै पोर्चुगल अन्तिम १६ मा प्रवेश गरे पनि समूहको विजेता टिमको टुंगो लागिसकेको थिएन । आज शुक्रबार उसले समूह चरणको अन्तिम खेलमा साउथ कोरियासँग खेल्दा २–१ को हार भोग्यो । तर, यो हारका बाबजुद पनि पनि पोर्चुगल समूह ‘एच’को विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको छ ।
पोर्चुगलले पहिलो खेलमा घानालाई ३–२ ले हराउँदा दोस्रो खेलमा उरुवेलाई २–० ले हराएको थियो । अन्तिम खेलमा पोर्चुगल हारे वा जिते पनि फरक पर्ने अवस्थामा थियो । तर, ऊ कोरियासँग जित निकाल्दै वा कम्तीमा पनि बराबरी गर्दै अन्तिम १६ का लागि तयार रहन चाहन्थ्यो ।
तर, कोरियाले तेस्रो खेलमा पोर्चुगललाई नमिठो गरी २–१ ले हरायो । खेलमा पोर्चुगलले पहिला अग्रता लिए पनि कोरियाले २ गोल फर्काएर कमब्याक जित निकाल्न सफल भयो ।कोरियालाई अघि बढ्नका लागि आज पोर्चुगलमाथि स्पष्ट जितका साथै अर्को खेलमा घाना र उरुग्वेको बराबरी वा उरुग्वेको साँघुरो गोल अन्तरको बराबरी भए पुग्ने अवस्था थियो ।
भयो पनि त्यस्तै । कोरियाले आफ्नो खेलमा पोर्चुगललाई २–१ ले हराउँदा अर्को खेलमा उरुग्वेले घानालाई २–० ले हराए पनि गोल अन्तरमा कोरिया अघि रहेर अन्तिम १६ मा प्रवेश पायो भने १ गोलको अभावमा उरुग्वेको अन्तिम १६ को सपना खरानी हुन पुग्यो ।
यदि उरुग्वेले घानाविरुद्ध ३–० को जित निकालेको भए फेरि कोरिया आउट हुने थियो अनि उरुग्वे गोल अन्तरमा अघि रहेर अन्तिम १६ मा जाने थियो ।कोरिया र उरुग्वेको अंक तथा गोल अन्तर बराबरी भए पनि खाएको र गरेको गोलमा कोरिया अघि रहेपछि उरुग्वे अभागी साबित भयो ।
आज पोर्चुगल र साउथ कोरिया एजुकेसन सिटी रंगशालामा खेल्दा पहिलो हाफ १–१ को बराबरीमा सकिएको थियो । केही प्रमुख खेलाडीलाई आराम दिइएको खेलमा पार्चुगलका लागि युवा खेलाडी रिकार्डो होर्ताले खेलको पाँचौं मिनेटमै गोल गरेर अग्रता दिलाए । डिएगो डालोटले पोस्टको बायाँ लाइन भागबाट दिएको पासमा अगाडि रहेका होर्ताले वान टचमै बललाई जाली चुमाएका थिए ।
पोर्चुगलले खेलमा निकै चाँडो अग्रता लिएर खेल आफ्नो पक्षमा पारेको थियो । खेलको १७औं मिनेटमा कोरियाले फ्रि किकको मुभमा गोल गरे पनि त्यो अफसाइड थियो । त्यसपछि ३०औं मिनेटमा पोर्चुगलका लागि कप्तान रोनाल्डोले वान भर्सेस वानमा सजिलै गोल गर्नबाट चुके ।
कोरियाका लागि २७औं मिनेटमा कि योङ ग्वोनले बराबरी गोल फर्काएपछि खेल बराबरीतर्फ लागेको थियो । तर, ९० मिनेटपछि थप भएको समयको पहिलो मिनेटमै कोरियाका लागि ह्वाङ ही च्यानले गोल गरेपछि खेल कोरियाले जित्यो । सो गोलमा कप्तान सनले बढा संघर्षका साथ असिस्ट मिलाएका थिए ।
सनले ठूलो दुःख र संघर्षका साथ पोर्चुगलका ३ जना खेलाडीका बीचबाट बल अघि पास मिलाएका थिए, जसमा ही च्यानले कुनै गल्ती नगरी गोल गरेपछि खेल कोरियाले जित्यो । सनको त्यो अद्भुत असिस्ट र ही च्यानको त्यही गोलले कोरियालाई विश्वकपको अन्तिम १६ मा प्रवेश गरायो ।
उता, उरुग्वेले घानाविरुद्ध २–० को उत्कृष्ट जित निकाले पनि कोरियाले जित्दा उसको अन्तिम १६ जाने सपना पूरा हुन पाएन । अब समूह ‘एच’बाट पोर्चुगल ६ अंकका साथ विजेता बनेर अर्को चरण जाँदा कोरिया ४ अंकका साथ उपविजेता बनेर अघि बढ्यो ।
Leave A Comment