Latest
img

ब्राजिलले गोल गर्न सकेन , स्विट्जरल्याण्ड र सर्बिया बराबरी

फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह जी को अन्तिम खेल चलिरहेको छ । पहिलो हाफमा सर्बिया र स्विटजरल्यान्ड २-२ को बराबरीमा रहँदा ब्राजिल र क्यामरुनको खेलमा गोल भएको छैन ।स्वीस टोलीले खेलमा सुरुवाती अग्रता लिएपनि सर्बियाका दुई फरवार्डले लगातार गोल गर्दै अग्रता बदलेका थिए ।

तर पहिलो हाफको अन्त्यतिर स्विटजरल्यान्डले गोल गर्दै खेल बराबरीमा ल्यायो । यस खेलमा सर्बियालाई नकआउट समीकरण जीवित राख्न जित आवश्यक छ भने स्विटजरल्यान्ड जित हासिल गरे अघि बढ्ने पक्का हुनेछ ।खेलको पहिलो मिनेटमा नै स्विटजरल्यान्डको अग्रता लिने प्रयासमा सर्बियाका गोलरक्षक भान्जा मिलिन्कोभिच साभिच बाधक बने ।

ग्रानिट झाकाको पहिलो प्रहार विफल पारेका उनले स्वीस खेलाडीको दोस्रो प्रयासलाई पनि पोस्टतर्फ जान दिएनन् ।११ औं मिनेटमा सर्बियाको अग्रतासामु पोस्ट बाधक बन्यो । आन्द्रिजा जिभ्कोभिचले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहारमा गोलरक्षक ग्रेगोर कोबेल बिट भएपनि बल पोस्टमा लाग्यो ।

शक्तिशाली प्रहारबाट आएको रिबाउन्ड पोस्टअघि रहेका एलेक्जेन्डर मित्रोभिच र डुसान भ्लाहोभिचलाई लाग्दै गोलरक्षक कोबेलकै हातमा पुगेको थियो ।२० औं मिनेटमा स्विटजरल्यान्डले जेर्डान शाकिरीको गोलमा अग्रता लियो । मोहमाथ सोउले पेनाल्टी क्षेत्रभित्र मिलाएको पासमा शाकिरीले गरेको शक्तिशाली प्रहार डिफेन्डरलाई लाग्दै गोल भएको थियो ।

२७ औं मिनेटमा सर्बिया मित्रोभिचको गोलसँगै खेल बराबरी गर्न सफल भयो । कप्तान डुसान टाडिचको क्रसलाई मित्रोभिचले हेडरमार्फत गोल गरेका थिए । उनको हेडर गोलरक्षक कोबेलले बचाउन सकेनन् ।३५ औं मिनेटमा सर्बियाले भ्लाहोभिचको गोलमा अग्रता लियो ।

मित्रोभिचले स्विस डिफेन्स र मिडफिल्डको बिचमा फुस्किएको बल अघि बढाउँदै खेलेको चलाखीपूर्ण पास खेले । उक्त पासलाई स्वीस डिफेन्सले क्लियर गर्न नसक्दा भ्लाहोभिचले गोलरक्षक कोबेललाई कुनै अवसर नदिई गोलमा परिणत गरे ।४४ औं मिनेटमा स्विटजरल्यान्डले पनि बराबरी गोल फर्कायो ।

सिल्भान विडमरको लो क्रसलाई ब्रील एम्बोलोले सहजै गोलमा परिणत गरे ।समूहको अर्को खेलमा ब्राजिलले एकतर्फी दबाब कायम गरेपनि गोल गर्न सकेको छैन । क्यामरुनका गोलरक्षक एपासीले मार्टिनेलीको हेडर उत्कृष्ट ढंगले विफल पारे । इन्ज्युरी समयमा क्यामरुनको बिरलै देखिएको आक्रमणमा गोलरक्षक एडरसनले उत्कृष्ट बचाउ गरे ।

पहिलो हाफको स्कोर कायम रहे ब्राजिल ७ अंकसाथ समूह विजेता बन्नेछ । स्विटजरल्यान्ड ४ अंकसहित दोस्रो बन्नेछ । क्यामरुन र सर्बिया २-२ अंक सहित समूह चरणबाट बाहिरिनेछन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment