काठमाडौँ – चोटको समस्यासँग जुधिरहेको उपाधि दावेदार ब्राजिलका दुई खेलाडीले फिफा विश्वकप कतार २०२२ को बाँकी खेल गुमाउने भएका छन् । यससँगै ब्राजिलको छैटौं पटक विश्वकप जित्ने लक्ष्यमा ठूलो धक्का लागेको छ ।
शुक्रबार क्यामरुनविरुद्ध खेलमा चोट बोकेका फरवार्ड ग्याब्रीएल जेसस र डिफेन्डर एलेक्स टेलेसले विश्वकपको बाँकी खेल गुमाउने भएका हुन् । दुवै खेलाडीले शुक्रबार खेल दौरान घुँडामा चोट बोकेका थिए । ब्राजिलले एक विज्ञप्तिमार्फत दुवै खेलाडी विश्वकपका बाँकी खेलका लागि उपलब्ध नहुने जानकारी दिएको छ ।
‘शनिबार विहान गरिएको परिक्षणको नतिजा अनुसार एलेक्स टेलेस र ग्याब्रीएल जेससले फिफा विश्वकपको बाँकी खेलका लागि ठिक नहुने भएका छन्,’ ब्राजिल फुटबल महासंघले जनाएको छ ।ब्राजिलले सोमबार हुने अन्तिम १६ को खेलमा दक्षिण कोरियाको सामना गदैछ ।
ब्राजिलका पहिलो रोजाइका विंगब्याक ड्यानिलो र एलेक्स सान्ड्रो दुवै चोटका कारण विश्राममा छन् । टेलेसको चोटसँगै अब ब्राजिलले सेन्टर ब्याक खेल्ने खेलाडीलाई विंगब्याकमा उतार्नुपर्ने देखिएको छ ।ब्राजिलका लागि क्यामरुनविरुद्ध ड्यानी आल्भेसले कप्तानी गर्दै राइट ब्याक खेलेका थिए ।
त्यस्तै टिटेले मार्किन्हसलाई विंगब्याकमा खेलाएर थियागो सिल्भा र इडर मिलिसाओ बिचमा खेलाउन पनि सक्छन् । फाबिन्होले पनि यसअघि सेन्टर डिफेन्समा खेलेका छन् ।२६ सदस्यीय टोलीमा रहेका तीन विंगब्याक घाइते हुँदा ब्राजिल समस्यामा परेको हो ।
आ क्रमणमा भने दोस्रो रोजाइका फरवार्ड ग्याब्रीएल जेससको स्थान लिन पर्याप्त खेलाडी ब्राजिलको टोलीमा छन् । स्टार खेलाडी नेयमार पनि कोरियाविरुद्ध पुनरागमन गर्ने प्रयासमा छन् । कतारमा जारी फिफा विश्वकप २०२२ को नकआउट समीकरण पूरा भएको छ ।
शुक्रबार राति भएको समूह जी अन्तर्गत ब्राजिल र क्यामरुन तथा सर्बिया र स्वीटजरल्याण्डको खेलपछि नकआउट चरणमा पुग्ने १६ वटै टिमको टुंगो लागेको हो । सर्बियालाई ३-२ ले हराउँदै समूह उपविजेता बनेको स्वीटजरल्याण्ड अन्तिम १६ मा पुग्ने अन्तिम टोली बन्यो ।
ब्राजिल समूह जी को विजेता तथा स्वीजरलयाण्ड उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेका हुन् । २२औं संस्करणको विश्वकपमा सहभागी ३२ राष्ट्रलाई ८ समूहमा विभाजन गरेर खेलाइएको थियो । हरेक समूहमा ४-४ टिम थिए । समूह चरणको ४८ खेलपछि १६ टिम अन्तिम १६ मा प्रवेश गर्दा १६ टिमको चुनौती भने समाप्त भएको छ ।
हरेक समूहको समूह विजेता र समूह उपविजेता अन्तिम १६ मा पुगेका हुन् । यसपटक समूह चरणका खेलहरु रोमाञ्चक रहे । जहाँ केही अप्रत्याशित टीम पनि आए । उपाधि दाबेदार मानिएको पूर्व च्याम्पियन जर्मनीदेखि स्वर्णिम पुस्ताको बेल्जियम समूह चरणबाटै बाहिरिए ।
यस्तै उरुग्वे, मेक्सिको, डेनमार्कले पनि समूह चरण पार गर्न सकेनन् ।यता, जापान र मोरोक्को उत्कृष्ट प्रदर्शन गर्दै समूह विजेता बने । एसियाबाट पहिलो पटक तीन टिम विश्वकपको नकआउट चरणमा पुग्यो । अब नकआउट चरणमा फाइनलसहित कुल १६ खेल हुनेछ । नकआउट चरणमा युरोपियन टिमकै वर्चस्व छ ।
युरोपबाट सर्वाधिक ८ राष्ट्र नकआउट चरणमा प्रवेश गर्दा एसियाबाट ३, दक्षिण अमेरिका र अफ्रिकाबाट २/२ दुई तथा उत्तर अमेरिकाबाट एक टिम छन् । समूह ए बाट नेदरल्याण्ड्स र सेनेगल, समूह बी बाट इंग्ल्याण्ड र अमेरिका, समूह सी बाट अर्जेन्टिना र पोल्याण्ड,
समूह डी बाट फ्रान्स र अष्ट्रेलिया, समूह इ बाट जापान र स्पेन, समूह एफबाट मोरक्को र क्रोएसिया, समूह जी बाट ब्राजिल र स्वीटजरल्याण्ड तथा समूह एचबाट पोर्चुगल र दक्षिण कोरिया अन्तिम १६ मा प्रवेश गरेका छन्।
Leave A Comment