जारी फिफा विश्वकप फुटबलमा अन्तिम १६ अन्तर्गत दोस्रो खेलमा आज मध्यराति १२ः४५ बजेबाट अर्जेन्टिना र अस्ट्रेलियाको खेल हुँदैछ । सो खेल हुँदा अर्जेन्टिनाका सुपरस्टार लियोनल मेस्सीका लागि धेरै अर्थमा विशेष हुनेछ ।
एक अर्थमा मेस्सी आज यो खेल जिताएर टिमलाई प्रतियोगितामा एक कदम अघि बढाउन चाहन्छन् । अर्को अर्थमा ३५ वर्षका खेलाडीका लागि आजको खेल करियरको १०००औं खेल हुनेछ । आज राति अर्जेन्टिनाले विश्वकपको मञ्चमा अस्ट्रेलियाको सामना गर्दा मेस्सीका लागि यो समग्र खेल जीवनको १०००औं खेल हुनेछ ।
सिजन २००४–०५ बाट स्पेनिस क्लब बार्सिलोनाबाट फुटबलको यात्रा सुरुआत गरेका मेस्सी पछिल्लो समय फ्रान्सको क्लब पिएसजीबाट खेलिरहेका छन् । मेस्सीले अर्जेन्टिनाको राष्ट्रिय टोलीमा सन् २००५ सालबाट खेल्न थालेका थिए । यी तीन फरक–फरक टिमका साथ खेल्दै आएका मेस्सीले हालसम्म कूल ९९९ खेल खेलिसकेका छन् ।
आज राति विश्वकपका अस्ट्रेलियाविरुद्ध खेल्दा मेस्सीले १ हजार खेल खेल्नेछन् । यो उनका लागि करियरको एक खास कोसेढुंगा हुनेछ । मिठो कुरा के छ भने, मेस्सीले जीवनको १०००औं खेल विश्वकपको मञ्चमा खेल्दैछन् ।मेस्सीले हालसम्म ९९९ खेल खेल्ने क्रममा अर्जेन्टिनाका लागि १६८ खेल खेलेका छन् ।
लामो समय बार्सिलोनामा खेल्दा उनले त्यहाँ १७ वर्षको दौरान ७७८ खेल खेलेका छन् । डेढ वर्षअघि पिएसजीमा पुगेका मेस्सीले सो क्लबका लागि हालसम्म ५३ खेल खेलेका छन् । जसमा उनले अर्जेन्टिनामा लागि ९३ गोल गर्दा पिएसजीका लागि २३ गोल र बार्सिलोनाका लागि ६७२ गोल गरेका छन् ।
समग्रमा उनले हालसम्म ९९९ खेलबाट ७८८ गोल गरेका छन् । मेस्सी अब करियरको ८०० गोलबाट मात्रै १२ गोलले टाढा छन् ।आजबाट सुरु भएको अन्तिम १६ को खेल अन्तर्गत दोस्रो खेलमा अबको केहीबेरमा प्रतीक्षित खेलमा अर्जेन्टिना र अस्ट्रेलियाको खेल हुँदैछ ।
सो खेलका लागि अर्जेन्टिाका प्रशिक्षक लियोनल स्कालोनीले आफ्नो प्लेइङ ११ सार्वजनिक गरेका छन् ।क्वार्टरफाइनल प्रवेशका लागि निर्णायक खेलमा स्कालोनीले फ्रन्ट लाइनमा कप्तान लियोनल मेस्सीका साथमा युवा खेलाडी जुलियन अल्भारेजलाई राखेका छन् ।
शारीरिक रूपमा फिट नरहेका एन्जल डि मारियाको स्थानमा आज पापु गोमेजले स्थान पाएका छन् । उनी विङबाट खेल्नेछन् । गोल पोस्टमा इमी मार्टिनेज ठीकठाक रहेका छन् ।
Leave A Comment