लियोनल मेस्सीको टिम अर्जेन्टिना साँघुरो जित निकाल्दै कतारमा जारी फिफा विश्वकप फुटबलको अन्तिम आठ (क्वार्टरफाइनल) प्रवेश गरेको छ । शनिबार राति भएको प्रि–क्वार्टरफाइनल खेलमा अर्जेन्टिनाले फिफा वरीयतामा आफूभन्दा निकै कमजोर टिम अस्ट्रेलियामाथि २–१ को जित निकाल्दै अन्तिम आठमा प्रवेश गरेको हो ।
यससँगै अर्जेन्टिनाले अन्तिम आठमा युरोपियन टोली नेदरल्यान्ड्ससँगको भेट पनि पक्का गरेको छ । नेदरल्यान्ड्स आजै पहिलो खेलमा अमेरिकामाथि ३–१ को जित निकाल्दै क्वार्टरफाइनल प्रवेश गरिसकेको थियो । अब सेमिफाइनल प्रवेशका लागि नेदरल्यान्ड्स र अर्जेन्टिनाको रोमाञ्चक भिडन्त हुनेछ ।
अहमद बिन अली रंगशालामा नेपाली समय अनुसार मध्यराति १२ः४५ बजेबाट सुरु भएको खेलको पहिलो हाफमा अर्जेन्टिनाले अस्ट्रेलियाविरुद्ध १–० को अग्रता बनाएको थियो । अर्जेन्टिनाका लागि कप्तान मेस्सीले निकै शानदार गोल गरेर टिमलाई सुरुआती अग्रता दिलाएका थि ।
खेलको ३०औं मिनेटसम्म निकै सुस्त देखिएको अर्जेन्टिनाका लागि ३५औं मिनेटमा मेस्सीले बक्स भित्रबाट लो सटमा हानेको शक्तिशाली सट गोलमा परिणत भएको थियो । अस्ट्रेलियाका ३ जना डिफेन्डरका माझबाट मेस्सीले बडा चलाखीपूर्वक लो सट हानेका थिए, जसमा विपक्षी गोलकिपरले बचाउने कुनै चान्स नै पाएनन् ।
मेस्सीको गोलमा निकोलस ओटामेन्डीले असिस्ट प्रदान गरेका थिए । यो गोल मेस्सीका लागि यस विश्वकपको तेस्रो गोल हो भने करियरमै विश्वकपको नकआउट चरणमा गरेको यो नै पहिलो गोल हो । आजको खेल मेस्सीका लागि करियरको कूल १०००औं खेल हो ।
जसमा मेस्सीले सुन्दर गोल गरेर टिमलाई समेत जिताउँदै आफ्नो हजारौं खेललाई सम्झनायोग्य बनाउन सफल भए । पोल्यान्डविरुद्धको खेलमा पेनाल्टी मिस गरेर आलोचित बनेका मेस्सीले आजको खेलमा गोल गरेर त्यसको जवाफ पनि दिएका छन् । पहिलो हाफमा अस्ट्रेलियाले निकै डिफेन्सिभ खेल्दा अर्जेन्टिनालाई पहिलो गोलका लागि निकै संघर्ष गर्नु परेको थियो ।
यतिसम्म कि, अर्जेन्टिनाले ३४औं मिनेटसम्म अस्ट्रेलियाको पोस्टमा एकपटक पनि अन टार्गेट सट प्रहार गर्न सकेको थिएन । मेस्सीको गोल भएको सट नै पहिलो अन टार्गेट थियो, जसमा गोल पनि भयो । पहिलो हाफमा १ गोल गरेको अर्जेन्टिनाले खेलको ५७औं मिनेटमा दोस्रो गोल निकाल्न सफल भयो ।
यसपटक अस्ट्रेलियाका लागि गोलकिपरले बक्सभित्र गल्ती गर्दा अर्जेन्टिनामा युवा खेलाडी जुलियन अल्भारेजले गोलकिपरबाट बल खोसेर गोल गरे । गोलकिपरले बक्सभित्र अर्जेन्टिनाका २ जना खेलाडी बीच बल छलाउन खोज्दा नजिकै रहेका अल्भारेजले अगाडि बढेर गोलकिपरले क्लियर गर्न लागेको बल खोसेर सजिलैसित गोल गरेका थिए ।
२ गोल गरेको अर्जेन्टिना सोही अग्रता लिएर सहज जिततर्फ अघि बेला उसले खेलको ७७औं मिनेटमा गल्तीले आफ्नै पोस्टमा गोल हान्यो । अस्ट्रेलियन खेलाडीले हानेको सट अर्जेन्टिनामा मिडफिल्डर इन्जो फर्नान्डेजलाइ लागेर रिफ्लेक्ट भएको बलले गएर सोझै जाली चुमेपछि अस्ट्रेलिया खेलमा फर्किने बाटो खुलेको थियो ।
तर, त्यसपछि बाँकी समयमा अस्ट्रेलियाले दोस्रो गोल फर्काउन नसक्दा खेल अर्जेन्टिनाले जित्दै अघिल्लो चरण गयो । र, अस्ट्रेलियाको विश्वकप यात्रा अन्तिम १६ मै सकियो ।
Leave A Comment