काठमाडौं- ब्राजिलका महान फुटबल खेलाडी पेलेले आफू सकारात्मक र मजबुत रहेको बताएका छन्। सामाजिक सञ्जाल इन्स्टाग्राममा उनले सबैलाई शान्त र सकारात्मक राख्न चाहेको बताएका हुन्। प्रशंसकहरूले पठाइरहेको सन्देश र विश्वकपमा ब्राजिललाई खेलिरहेको देख्दा आफूलाई ऊर्जा प्राप्त भइरहेको पेलेले बताएका छन्।
उनले भनेका छन्,‘म भरोसाहरूले भरिएको छु, मजबुत छु र सँधैको जस्ता आफ्नो उपचार गराइरहेको छु। मैले पाइरहेको राम्रो हेरचाहका लागि सबै मेडिकल र नर्सिङ टिमलाई धन्यवाद दिन चाहन्छु।’ आफूलाई भगवानमाथि विश्वास रहेको र दुनियाँभरबाट प्राप्त भइरहेको मायालाई ऊर्जा प्रदान गरिरहेको पेलेले उल्लेख गरेका छन्।
‘मलाई भगवानमाथि विश्वास छ र दुनियाँभरबाट प्राप्त भइरहेको सन्देशले ऊर्जा थपिरहेको छ। मैले विश्वकपमा ब्राजिललाई हेरिरहेको छु। यो सबै चिजका लागि धन्यवाद,’ पेलेले भनेका छन्। ८२ वर्षीय पेले साओ पाउलोस्थिति के इस्राइलिटा अल्बर्ट आइन्स्टाइन अस्पतालमा उपचार गराइरहेका छन्। मंगलबार श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि उनलाई अस्पतालमा भर्ना गरिएको थियो।
पेलेको स्वास्थ्य अवस्था स्थिर रहेको शुक्रबार अस्पतालले जनाएको थियो। तर, शनिबार केही सञ्चारमाध्यमहरूले पेलेको स्वास्थ्य अवस्था गम्भीर भएको र उनको शरीरमा किमोथेरेपीले असर नगरेको जनाएको थियो।पछि अस्पतालले एक आधिकारिक बयान जारी गरेर पेले ठीक रहेको र उनका शरीर उपचारमा प्रतिक्रिया दिइरहेको बताएको थियो।
यो पनि – लिओनल मेसी र जुलियान अल्भारेजकाे गाेलका कारण अस्ट्रेलियाविरुद्ध २–१ गाेलकाे नतिजा निकाल्दै अर्जेन्टिना क्वाटरफाइनल प्रवेश गरेकाे छ। शनिबार राती भएकाे दाेस्राे प्रि–क्वाटर फाइनल खेलमा अस्ट्रेलियाले पूर्वविश्व च्याम्पियन टिमलाई दबाबमा राख्न सफल भयाे।
पहिलाे हाफकाे ३५ मिनेटसम्म अर्जेन्टिनी अग्रपक्तिलाई नियन्त्रणमा राखेकाे सकरुजका लागि मेसी एक पल्ट फेरि अफाप सावित भए। उनले डिबक्सभित्र ओटामेन्डीले मिलाइदिएकाे बललाई गाेलमा परिणत गर्दै पहिलाे हाफमा अर्जेन्टिनालाई अग्रता दिलाएका थिए।
मेसीकाे याे विश्वकपमा अस्ट्रेलियाविरुद्धकाे गाेल तेस्राे थियाे भने विश्वकपकाे नवाै। दाेस्राे हाफमा पनि अस्ट्रेलियन डिफेन्डरले खेललाई नियन्त्रणमा राखेका थिए। तर आफ्नै डिफेन्डर र गाेलकिपरकाे गल्तीका कारण ५७ मिनेटमा जुलियान अल्भारेजले गाेल गरे।
अर्जेन्टिनाले ७७ मिनेटमा आत्मघाती गाेल खायाे। ग्रेग गुडविनले २५ यार्ड टाढाबाट हानेकाे प्रहार इन्जाे फर्नान्डेजकाे शरीरमा लागेर गाेलमा परिणत भएकाे थियाे। सुरुमा याे गाेल गुडविनकाे नाममा दर्ता गरिएकाे थियाे तर पछि आत्मघाती गाेलमा परिणत गरियाे।
खेलकाे ८५ मिनेटपछि खेलमा थुप्रै ड्रामा देखियाे। मेसी र लाउटाराे मार्टिनेजकाे थुप्रै प्रहार अस्ट्रेलियन गाेलरक्षकले राेकेका थिए। अन्त्यमा अस्ट्रेलियाले पनि बराबरी गाेल गर्ने माैका पाएकाे थियाे। तर अर्जेन्टिनी गाेरक्षकले जाेगाए। अर्जेन्टिना २०१४ पछि विश्वकपकाे क्वाटरफाइनलमा प्रवेश गरेकाे हाे।
अब उसकाे भिडन्त ९ डिसेम्बरमा नेदरल्याण्ड्ससँग हुनेछ। पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले पनि अर्जेन्टिना र अस्ट्रेलिया विरुद्धको खेल हेरेका छन्। भट्टराईले सामाजिक संजाल मार्फत मेस्सी अन्तिम विश्वकप खेलिरहेका कारण अबेर सम्म बसेर विश्वकप हेरेको सामाजिक संजालमा उल्लेख गरेका छन्।
“मेस्सीलाई वर्ल्ड कपमा फेरि हेर्न पाइन्छ पाइन्न भन्ने उत्सुकताले राति अवेरसम्म बसेर हेरियो! उत्कृष्टताको राम्रै रसास्वादन भयो।फुटबल सामुहिक खेल हुनाले टिमवर्कको महत्व पनि राम्रै वोध भयो।बाॅकी खेलहरू पनि रोचक रहून्! सबै खेलाडीहरूलाई सलाम!”,बाबुरामले लेखेका छन्।
Leave A Comment