Latest
img

क्वार्टरफाइनल पुगेपछि मेस्सीले खुलाए विश्वकपको फाइनलमा आफूहरूले खेल्न नचाहेका दुई टिम

लियोनल मेस्सीको टिम अर्जेन्टिना जारी फिफा विश्वकप फुटबलको क्वार्टरफाइनल प्रवेश गरेको छ । गत राति भएको अन्तिम १६ को खेलमा अर्जेन्टिनाले सहज प्रतिस्पर्धी अस्ट्रेलियालाई २–१ ले पराजित गर्दै उपाधि यात्रामा थप एक कदम अघि बढेको हो ।

अर्जेन्टिनाको जितमा १ गोल कप्तान मेस्सीले गरे भने अर्को गोल युवा खेलाडी जुलियन अल्भारेजले गरे । मेस्सी सो खेलको म्यान अफ् द म्याच घोषित भएका थिए । मेस्सीले जारी विश्वकपमा दोस्रोपटक म्यान अफ् द म्याच अवार्ड जितेका हुन् । उनले विश्वकपका ४ खेलबाट ३ गोल गर्दै १ गोलमा असिस्ट गर्दा एक पेनाल्टी पनि मिस गरेका छन् ।।

गत रातिको खेल मेस्सीका लागि समय करियरको १०००औं खेल थियो । उनले रेकर्ड खेलमा गोल गरे भने म्यान अफ् द म्याच अवार्ड पनि जिते । यसै खेलमा गरेको १ गोलको मदतमा मेस्सीले आफ्नै देशका महान खेलाडी डिएगो म्याराडोनाको ८ विश्वकप गोललाई पनि पछि पारे ।

गत रातिको गोल मेस्सीले विश्वकपको नकआउट चरणमा गरेको पहिलो गोल पनि थियो । अस्ट्रेलियालाई हराएर क्वार्टरफाइनल प्रवेश गरेपछि मेस्सीले निकै उत्साहित प्रतिक्रिया दिएका छन् । उनले आफूहरू अब उपाधिको थप नजिक पुगेको बताएका छन् भने आफूहरू फाइनल पुगेको खण्डमा त्यहाँ आफूहरूले फाइनलमा खेल्न नचाहेका २ देशको नाम समेत लिएका छन् ।

अब अर्जेन्टिनाले क्वार्टरफाइनलमा युरोपियन देश नेदरल्यान्ड्सको सामना गर्ने पक्का भएको छ । नेदरल्यान्ड्स अन्तिम १६ मा अमेरिकालाई ३–१ ले हराएर अघि बढेको छ । यदि अर्जेन्टिनाले क्वार्टरफाइनलमा नेदरल्यान्ड्सलाई पराजित गर्न सके सेमिफाइनलमा अर्जेन्टिनाको भेट ब्राजिलसँग हुने सम्भावना धेरै छ ।

नेदरल्यान्ड्सलाई अर्जेन्टिनाले पराजित गर्न सक्ने सम्भावना भए पनि सेमिफाइनलमा ब्राजिलसँगको भेट अर्जेन्टिनामा लागि फलामको चिउरा हुने पक्का छ । त्यहाँ जिते फाइनलमा अर्जेन्टिनाको भेट पोर्चुगल, फ्रान्स, इंग्ल्यान्ड, स्पेन मध्ये कुनै एक टिमसँग हुने सम्भावना छ । विश्वकपको क्वार्टरफाइनल पुगेपछि गत राति मेस्सीले दिएको ४ प्रतिक्रिया तल हेरौं–

१. क्वार्टरफाइनलमा नेदरल्यान्ड्सकोको खेलका विषयमा– ‘अब हामीले धेरै नै कठिन खेल खेल्दै छौं । मलाई लाग्छ कि, यो धेरै गाह्रो हुनेछ । उनीहरूले हामीबाट बल निकाल्न चाहन्छन् । यस बिन्दुमा विश्वकप अझ कडा हुँदैछ । नेदरल्यान्ड्स अहिले कति राम्रो खेलिरहेको छ भन्ने कुरा हामीले ख्याल गरेका छौं ।

उनीहरूले नहारेको धेरै लामो समय भइसकेको छ । मेरो विचारमा अर्जेन्टिना विश्वकपको उपाधि जित्न योग्य छ वा छैन भन्ने कुरा थाहा पाउन नेदरल्यान्ड्ससँगको खेल हाम्रा लागि पहिलो परीक्षा हुनेछ ।’२. १००० खेलका विषयमा– ‘मैले आज थाहा पाएँ कि यो १,००० औं खेल थियो ।

म यस क्षणमा बाँचिरहेको छु । हामी जसरी बाँचिरहेका छौं? त्यसमा म रमाइलो गर्छु । र, म क्वार्टरफाइनलमा पुग्नका लागि थप एक कदम चाल्न पाउँदा खुसी छु । आगामी खेल र यात्राका लागि टिमलाई सघाउन म तयार छु । अबका दिनमा हामी सबैले धेरै मेहनत गर्नुपर्ने छ । किनभने, अब हाम्रा लागि हरेक खेल ज्यादै महत्त्वपूर्ण छन् ।’

३. परिवार खेल हेर्न रंगाशलामा पुग्ने गरेको विषयमा– ‘मेरो परिवार सधैं रंगशालामा उपस्थित हुन्छ, विशेष गरी मेरा छोराछोरीहरू । किनभने, तिनीहरू हुर्केका छन् । र, सबै कुरा बुझ्छन् । आज उनीहरूलाई भित्रबाट हेर्दा उनीहरू कस्तो महसुस गर्छन् र उनीहरू कस्तो जीवन बिताइरहेका छन्,

त्यो शानदार छ । उनीहरू उत्साहित र खुसी छन् । रंगशालामा मेरो परिवार आएर खेल हेर्दा र जित्दा मलाई धेरै खुसी लाग्छ । मेरो लागि यी कुरा जीवनका धेरै सुन्दर कुराहरू हुन् ।’४. अबको बाटो र फाइनल खेलबारे– ‘अर्को लक्ष्य हासिल गर्न पाउँदा धेरै खुसी छु ।

लक्ष्यतर्फ थप एक कदम चाल्न हामी सफल भएका छौं । अब हामी फाइनलबाट दुई जित टाढा छौं । र, च्याम्पियन बन्नबाट तीन जित । मलाई विश्वास छ कि, हामी अर्को फाइनल खेल्न गइरहेका छौं । म यो कुरालाई लिएर धेरै उत्साहित छु । फाइनलको प्रतिस्पर्धी ?

जो टिम त्यहाँ पुग्छ, बलियो टिम हुनेछ । यदि अर्जेन्टिना फाइनल पुग्यो भने म व्यक्तगत रूपमा फ्रान्स र इंग्ल्यान्ड हाम्रो प्रतिस्पर्धी नहोस् भन्ने चाहन्छु । तर, हामीले सबै टिमको सामना गर्न तयार हुनुपर्छ ।’

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment