३ प्रतिशतको थ्रेस होल्ड समेत कटाउन नसकेर राष्ट्रिय पार्टी बन्न नसकेको नेकपा एमाले विभाजन गरेर बनेको दल नेकपा एसले प्रतितिनिधीसभाको निर्वाचनमा गठबन्धनको बलमा प्रत्यक्षमा १० सिट जितेको छ । त्यो बचाउन पनि हम्मे हम्मे पर्ने अवस्था देखिएको छ ।
४ जना सांसद एकातिर हुँदा पार्टीनै विभाजन हुन सक्ने अवस्था आए पछि पार्टी कसरी एक राख्ने भन्ने बिषयमा सो पार्टीका अध्यक्ष माधव कुमार नेपाल तनावमा परेका छन् । अब एस पार्टीको स्वतन्त्र अस्तित्व लामो समय नचल्ने चर्चाकै विच एमालेसँग एकता गर्ने कि माओवादी केन्द्रसँग एकता गर्ने भन्ने बिषयमा विवाद देखिएको छ ।
नेकपा एमालेबाट विभाजन भएर गठन भएको नेकपा एकीकृत समाजवादीभित्र माओवादी केन्द्रसँग एकता गर्ने वा नगर्ने भन्ने विषयमा विवाद चुलिन थालेको छ अध्यक्ष माधव नेपाल एकताका लागि सकारात्मक देखिए पनि नेताहरु मुकुन्द न्यौपाने, महासचिव बेदुराम भुसाल र झलनाथ खनाल निकट नेताहरु एकताको विपक्षमा देखिन थालेका हुन् ।
कतिपय नेताहरु त एमालेसँग वार्ता गरेर पार्टी एक गर्नुपर्नेमा समेत जोड दिन थालेका छन् । उपमहासचिव जगन्नाथ खतिवडा तथा सचिव रामकुमारी झाँक्री लगायतका केही नेताहरु सकभर चाँडो पार्टी एकता गरेर अघि बढ्नुपर्ने पक्षमा देखिएका छन् । अझ दुईपार्टीबीच तत्कालै एकता हुनेखालका समाचार बाहिरिन थालेपछि महासचिव भुसालले विज्ञप्ती नै जारी गरेर भ्रामक प्रचारको पछि नलाग्न अपिल समेत गरेका थिए ।
‘नेपाली कम्युनिस्ट आन्दोलनलाई एकतावद्ध बनाउनुपर्ने आवश्यकता छ भन्नेमा हामी प्रस्ट छौ तर अहिले त्यससम्बन्धमा निर्णय त के कुनै छलफल, वार्ता वा सम्वाद केही पनि भएको छैन, हुँदै नभएको प्रचार गराएर भ्रम सिर्जना गर्न खोजिएकोले त्यस्तो भ्रममा नपर्न सबैमा अनुरोध छ’ नेता भुसालले जारी गरेको विज्ञप्तीमा भनिएको थियो ।
उनले दुई पार्टीबीच एकताका लागि वार्ता समिति गठन गर्ने तयारी भएपनि हालसम्म छलफल समेत अघि नबढेको प्रष्ट बनाएका छन् ।नेता खनाल निकट एक नेताले पनि चुनावी परिणाम राम्रो नआउँदै पार्टी एकता गरिहाल्नु नहुने बताएका छन् । ‘पार्टीको विचार र सिद्धान्त स्पस्ट हुनुपर्छ त्यसमा विवाद छैन
तर कसैले निर्वाचन हारेको झोंकमा पार्टी एकता वा अर्को गठबन्धन पनि भने होलान् तर त्यो क्षणिक आक्रोशबाहेक केही होइन’ उनले भने । साथै उनले नेता खनाल एमालेमा जाने भन्दापनि यहीँ पार्टी बलियो बनाएर लैजाने पक्षमा रहेको प्रष्ट पारेका छन् ।अर्का नेता मुकुन्द न्यौपाने माओवादीसँग एकता गरेर विद्रोह पुष्टि नहुने भन्दै एमालेमै जानुपर्ने सुझाव दिन्छन् ।
अझ उनले वाम सरकार निर्माण गरेर अघि जानुपर्ने कुरामा जोड दिदैँ आएका छन् । एकातिर पार्टीलाई राष्ट्रिय पार्टी बन्न सकस परिरहेको छ भने अर्कातिर नेताहरुबीच मतान्तर बढ्ँदै जाँदा थप संकट देखापर्ने देखिएको छ । तरपनि, अधिकांश नेताहरु पार्टी एकताकै पक्षमा देखिएका छन् ।-
Leave A Comment