Latest
img

समानुपातिकतर्फको मतगणना सकियो, एकीकृत समाजवादी राष्टिय दल बनेन , अरु कुनले कति पाए ?

काठमाडौं । प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मतगणना सम्पन्न भएको छ ।निर्वाचन आयोगका सहायक प्रवक्ता ऋषिराम भुसालले समानुपातिकतर्फको मतगणना सकिएको जानकारी दिएका हुन् ।अन्तिम मत परिणामअनुसार सात दलले कुल सदर मतको ३ प्रतिशत कटाएका छन् ।

थ्रेसहोल्ड कटाउन आवश्यक ३ लाख १६ हजार ८०२ मत कटाउन सफल भएका सात दल राष्ट्रिय पार्टी बन्न सफल भएका छन् ।जसमा नेकपा (एमाले) बाट विभाजन भएको दल एकीकृत समाजवादी भने राष्ट्रिय दल बन्न असफल भएको छ ।१० सिट प्रत्यक्षमा जिते पनि उसले समानुपातिकमा सदर मतको ३ प्रतिशत मत पाउन सकेन ।

उसले दुई लाख ९८ हजार ३९१ मत प्राप्त गर्दा राष्ट्रिय दल बन्नका लागि १८ हजार ४११ मत अपुग भएको आयोगले जनाएको छ ।समानुपातिकतर्फ निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम तथ्यांक अनुसार एमाले पहिलो दल बनेको छ । प्रत्यक्षतर्फ भएको निर्वाचनमा एमालेले ४४ सिट प्राप्त गर्दा

समानुपातिकतर्फ २८ लाख ४५ हजार ६४१ मत पाएको छ ।प्रत्यक्षमा ५७ सिट जित्दै पहिलो दल बनेको नेपाली कांग्रेस भने समानुपातिकतर्फ दोस्रो स्थानमा रहेको आयोगको भनाइ छ । कांग्रेसले २७ लाख १५ हजार २२५ मत प्राप्त गरेको छ । जुन एमाले भन्दा एक लाख ३० हजार ४१६ ले कम मत हो ।

त्यस्तै, माओवादी केन्द्रले समानुपातिकर्फ ११ लाख ७५ हजार ६८४ मत प्राप्त गरेको छ । चौथोमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख ३० हजार ३४४ मत प्राप्त गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ८८ हजार ८४९ मत पाएको छ ।जनता समाजवादी पार्टी नेपालले ४ लाख २१ हजार ३१३ मत प्राप्त गरेको आयोगले जनाएको छ ।

जनमत पार्टीले ३ लाख ९४ हजार ५६६ मत प्राप्त गरेको छ ।कुल १ करोड ५ लाख ६० हजार ६७ मत सदर भएको छ र नेकपा एमाले २८ लाख ४५ हजार ६४१ मतसहित पहिलो दल बनेको छ । यसअनुसार एमालेले ३४ सिट पाउनेछ ।प्रत्यक्षतर्फ ४४ सिट जितेको एमाले ७८ सांसदसहित प्रतिनिधिसभाको दोस्रो दल बनेको छ ।

कांग्रेसले २७ लाख १५ हजार २२५ मत पाएको छ । यसअनुसार उसले ३२ सिट पाउने छ । प्रत्यक्षतर्फ ५७ सिट जितेको कांग्रेस ८९ सांसदका साथ प्रतिनिधिसभाको पहिलो दल बनेको छ ।माओवादी केन्द्र समानुपातिकमा पनि तेस्रो दल बनेको छ । उसले ११ लाख ७५ हजार ६८४ मत पाएको छ र, १४ सिट पाउनेछ ।

प्रत्यक्षतर्फ उसले १८ सिट जितेको छ । दुबै जोड्दा उसको ३२ सिट पुग्छ ।प्रमुख तीन दलले समानुपातिकतर्फ मत गुमाएका छन् । एमालेले २०७४ मा ३१ लाख ७३ हजार ४९४ अर्थात ३३.२४८५ प्रतिशत मत पाएको थियो भने कांग्रेसले ३१ लाख २८ हजार ३८९ अर्थात सदर मतको ३२.७७५९ प्रतिशत मत पाएको थियो ।

यो पटक दुबै दलले करिव ६ प्रतिशत विन्दुले मत गुमाएका छन् ।माओवादीले अघिल्लो पटक १३ लाख ३ हजार ७२१ मत अर्थात १३.६५९० प्रतिशत मत पाएको थियो । उसले पनि करिव २ प्रतिशत विन्दुले समानुपातिक मत गुमाएको छ ।ठूला दलहरुको मत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपातिर गएको देखिन्छ ।

यो चुनावमा उदाएको रास्वपाले प्रत्यक्षतर्फ ७ सिट जित्दा समानुपाातिकतर्फ ११ लाख ३० हजार ३४४ मत पाएको छ । यसअनुसार उसले १३ सिट पाउने छ ।अघिल्लो पटक थ्रेस होल्ड कटाउन नसकेको राप्रपाले यो पटक ५ लाख ८८ हजार ३१३ मत पाएको छ । प्रत्यक्षतर्फ ७ सिट जितेको उसले समानुपातिकमा पनि ७ सिट नै पाउनेछ र १४ सांसदसहित संसदको पाँचौ दल हुनेछ ।

तराई मधेश केन्द्रित दलमध्ये जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (जसपा) को भोट सीके राउत नेतृत्वको जनमत पार्टीले काटेको छ ।उपेन्द्र यादव नेतृत्वको जसपाले ४ लाख २१ हजार ३१३ मत पाएर थ्रेसहोल्ड कटाएको छ र ५ सिट पाउनेछ । जबकी अघिल्लो चुनावमै उसले ४ लाख ७० हजार २०१ अर्थात ४.९२६३ प्रतिशत मत पाएको थियो ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले भने थ्रेस होल्ड नै कटाउन सकेन । जबकी महन्थ ठाकुर नेतृत्वको तत्कालीन राष्ट्रिय जनता पार्टीले अघिल्लो पटक ४ लाख ७२ हजार २५४ अर्थात ४.९४७८ प्रतिशत भोट पाएको थियो ।पहिलो पटक संसदीय चुनाव लडेर सप्तरी २ मा उपेन्द्र यादवलाई हराएका सीके राउत नेतृत्वको पार्टी जनमत पार्टीले भने जसपाकै सरह ५ सिट पाउने भएको छ ।

उसले समानुपातिकतर्फ ३ लाख ९४ हजार ६५५ मत पाएको छ ।७ दलले समानुपातिकको थ्रेस होल्ड (कुल सदर मतको ३ प्रतिशत) कटाएका छन्, प्रत्यक्षतर्फ पनि चुनाव जितेका ती पार्टीहरुले राष्ट्रिय दलको मान्यता पाउनेछन् ।प्रत्यक्षतर्फ १० सिट जितेको एकीकृत समाजवादी, ४ सिट जितेको लोसपा, ३ सिट जितेको नागरिक उन्मुक्ति पार्टी र एक–एक सिट जितेको नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाले भने थ्रेसहोल्ड कटाउन सकेनन् ।

समानुपातिकतर्फ सबभन्दा थोरै भोट भने सुदीप रुवाली नेतृत्वको नेश्नलिस्ट पिलल्स पार्टीले पाएको छ । उसले २ हजार १८ मत मात्र पाएको छ । यो पार्टीले प्रत्यक्षतर्फ २० क्षेत्रमा उम्मेदवार उठाएको थियो, जसमध्ये सबभन्दा धेरै महोत्तरी ३ का जिवछी देजीले २४२ मत पाएकी थिइन् ।

अघिल्लो चुनावमा २ लाख १२ हजार बढी भोट पाएको विवेकशील साझा पार्टीले ४ हजार ४९ मत पायो भने कमल थापा नेतृत्वको राप्पन नेपालले १२ हजार ३४० मत पाएको छ ।हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टीले १८ हजार ५९, नेकपा एमालेले ३० हजार ५९९ मत पाउँदा राष्ट्रिय जनमोर्चाले ४६ हजार ५०४ मत पाएको छ । नेपाल मजदुर सकिसान पार्टीले समेत लाख कटाउन सकेन । उसले जम्मा ७५ हजार १६८ मत पाएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment