Latest
img

टुकुचा खोलामा भेटियो डुबेको सहकारीको महत्वपूर्ण कागजात

टुकुचा खोला हराएको वर्षौ भइसक्यो । यदाकदा चर्चामा आउन भने छोडेको छैन । जय नेपाल हलको परिसरमा काठमाडौँ महानगरले डोजर लगाएर उत्खनन् गर्दा टुकुचा देखिएको पनि हो । तर, पूरातात्विक सम्पदा भन्दै त्यसलाई हालकै अवस्थामा छोडिदिन दबाब आएपछि महानगरका मेयर बालेन शाह पछि हटेका छन् ।

टुकुचा खोलाको यो प्रसंग यहाँ किन उल्लेख गरिएको हो भने, यो खेला किनारमा बनेका भवनहरुमा सरकारले खोजी गरेका कागजात भेटिन थालेको छ । यसको हालैको उदाहरण हो, समस्याग्रस्त घोषणा भएको चार्टर सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडको कागजात फेला पर्नु ।

२०७५ साल असार १८ गते समस्याग्रस्त घोषणा भएको यो सहकारी संस्थाको बारेमा हालसम्म केही पत्ता लागेको थिएन । तर, गत असोज दोस्रो हप्तामा एउटा घरको अण्डरग्राउण्ड सटरबाट यस सहकारी सम्बन्धि कागजात फेला परेको छ । अचम्मको कुरा के छ भने, त्यो अण्डरग्राउण्ड सटर टुकुचा खोलाभन्दा तल छ ।

‘टुकुचा माथि नै बनेको घर होइन, टुकुचाको किनारमा बनेको घर रहेछ’ कागजात जफत गर्ने टोलीका एक सदस्य भन्छन्, ‘त्यो अण्डरग्राउण्ड सटरबाट टुकुचा खोला माथि देखिँदो रहेछ ।’चार्टर सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड नामक सहकारी २०७५ साल असार १८ गते समस्याग्रस्त घोषणा भयो ।

त्यसपछि सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिलाई यो सहकारीमा बचत रहेका बचतकर्ताको रकम फिर्ता गराउने कार्यादेशसहित आवश्यक कारबाहीका लागि लिखित रुपमा पत्र पठायो ।तर, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले जति नै प्रयास गर्दा पनि यो सहकारीबारे केही जानकारी पाउन सकेन ।

निरन्तरको प्रयास असफल भएपनि समितिले प्रयास गर्न भने छोडेन ।उक्त सहकारीको कार्यालय बसेको घरको ठेगाना र घरधनी पत्ता लगाउन कोसिस गरियो । त्यो पनि सफल भएन । किनकी, घरधनीले अर्कै व्यक्तिलाई रेखदेख र भाडा उठाउने गरी घर जिम्मा लगाएका थिए ।

निकै कोसिस गरेपछि उक्त सहकारीमा कारोबार गर्ने एक महिला फेला परिन् । सुरुमा त उनले पनि जानकारी नरहेको नै भनिरहिन् । तर, प्रहरी लगाएरै फकाइफुल्याई गरेर सोधपुछ गरेपछि ती महिलाले कमलादीस्थित काठमाडौँ प्लाजासँगै जोडिएको घर देखाइन् ।

उक्त घरका घरधनी प्रदीप प्रसाद प्रधान रहेछन् । प्रधानले शोहन श्रेष्ठलाई रेखदेख र भाडा उठाउने गरी घर जिम्मामा छोडेको पनि खुल्न आयो । शोहनले नै हाल उक्त घर हेरचाह गरिरहेको पाइयो ।चार्टर सेभिङ एण्ड क्रेडिट को–अपरेटिभका कुनै कर्मचारी र सञ्चालक आउन छोडेपछि र १ वर्ष देखिको घरबहाल समेत नतिरेपछि उनै शोहनले अण्डरग्राउण्ड सटरमा लगेर ती कागजात राखेका रहेछन् ।

यसरी समितिले लामो कसरत गरेर बल्ल कागजात फेला पार्न सफल भएको छ ।काठमाडौँ महानगरपालिका वडा नम्बर २८, कमलादीस्थित उक्त को–अपरेटिभको कार्यालय रहेको भवनबाट जफत गरिएका कागजात धुलाम्मे छन् । कतिपयमा धमिरा लागेर बुझ्न समेत कठिन भइरहेको समस्याग्रस्त सहकारी व्यवस्थापन समिति स्रोत बताउँछ ।

तर, हालसम्म ती कागजात अध्ययन गर्दा ६ सय जना ऋणी फेला परेका छन् ।यो सहकारीबाट आफ्नो बचत फिर्ता नपाएको भन्दै १४ जनाले ब्याजसहित १ करोड ६५ लाख ३४ हजार ५ सय १८ रुपैयाँ १३ पैसा मागदावी गरेका छन् ।यसका सञ्चालकमा राजु श्रेष्ठ, शन्तोष आचार्य, प्रतिमा श्रेष्ठ, गोविन्द मरासिनी, स्वरुप मरासिनी, रेश्मा श्रेष्ठ र प्रसाद राइ लगायत रहेको खुलेको छ ।

‘समस्याग्रस्त घोषणा भएदेखि कोही पनि सम्पर्कमा छैनन्, सबै फरार छन्’ स्रोत भन्छ, ‘समस्याग्रस्त घोषणा गर्नै ढिला गरेपछि सञ्चालक र ऋणीहरु कागजात लुकाएर, फालेर आफ्नो सम्पत्ति लिएर फरार हुँदा रहेछन् ।’बिजपाटि

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment