Latest
img

प्रधानमन्त्री शेरबहादुर देउवालाई हेर्न १०० रुपैयाँको टिकट !

काठमाडौँ – प्रधानमन्त्री तथा नेपाली कांग्रेसका प्रधानमन्त्री शेरबहादुर देउवा बिहीबार सुदूरपश्चिम महोत्सव उद्घाटन गर्न धनगढी पुगेका थिए । एक दिनको समय लिएर धनगढी आएका देउवाको महोत्सव उद्घाटनबाहेक अरू कुनै कार्यक्रम थिएन ।

गएको मंसिर ४ मा सम्पन्न निर्वाचनबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि पहिलोपटक धनगढी पुगेका देउवालाई हेर्न सर्वसाधारणहरू महोत्सवस्थल पुगेका थिए । तर, आयोजकले उद्घाटनको दिन पनि अवलोकनकर्तालाई १०० रुपैयाँको टिकट अनिर्वाय गरेपछि आयोजकको आलोचना भएको छ ।

महोत्सव अवलोकनकर्ताहरूले आफ्नै प्रधानमन्त्रीलाई हेर्नसमेत टिकट काट्नुपरेको भन्दै आक्रोश पोखेका छन् ।”देशको प्रधामन्त्रीजस्तो व्यक्तिलाई हेर्न टिकट काट्नुपर्ने भयो । उद्घाटनको दिन भाषण मात्रै हुन्छ किन टिकट काट्न लगाइयो ?,” धनगढीकी निता खत्रीले आक्रोश पोखिन् ।

बिहीबार सार्वजनिक बिदा भएकाले महोत्सवको उद्घाटन सत्र हेर्न धेरै जना आएका थिए । धेरैलाई लागेको थियो– प्रधानमन्त्रीको उपस्थितिमा हुने उद्घाटनको दिन टिकट तोकिएको छैन होला । तर, अयोजकले उद्घाटनको दिन पनि टिकट अनिवार्य गरेपछि धेरै मान्छे महोत्सवस्थल बाहिरैबाट फर्किए ।

धनगढीकी ईश्वरी जोरालाई पनि ‘नेताहरूको भाषणका लागि’ समेत टिकट अनिवार्य गरिएको मन परेको छैन । आयोजक कैलाली उद्योग वाणिज्य संघले अतिथिहरूका लागि निमन्त्रणा कार्डको व्यवस्था गरेको थियो । तर, सर्वसाधारणलाई टिकट अनिवार्य थियो ।

संघका महासचिव ओम विष्ट उद्घाटनको दिनमा केही कमजोरी भएको स्वीकार्छन् । “सबै कार्यक्रममा व्यस्त भयौँ । समीक्षा गर्नेछौँ,” उनले भने । उता प्रधानमन्त्री शेरबहादुर देउवाले पश्चिम सेती र पञ्चेश्वरजस्ता विकासका योजनाको निर्माण पूरा भएपछि विकास र समृद्धि आउने बताएका छन् ।

आज धनगढीमा सुरु भएको सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले पश्चिम सेती जलविद्युुत् परियोजना निर्माण गर्ने भारतीय कम्पनीले अनुमतिपत्र लिइसकेकाले छिट्टै आयोजनाको निर्माण पूरा हुने विश्वास व्यक्त गरे ।उनले पश्चिम सेती, चमेलिया जलविद्युत् परियोजना, रानी जमरा कुलरिया,

महाकाली सिँचाइ आयोजना र पञ्चेश्वरजस्ता योजनाको निर्माणलाई सरकारले प्राथमिकता दिएको बताए । पर्यटन तथा कृषिको विकासमार्फत आर्थिक समृद्धि गर्न सकिनेमा जोड दिँदै उनले विकासका लागि प्रदेश सरकार र स्थानीय सरकारबीच समन्वय हुनुपर्नेमा जोड दिए ।

को रोना महामारीले थला परेको उद्योग व्यवसायलाई माथि उठाउन सरकार गम्भीर रहेको बताउँदै प्रधानमन्त्री देउवाले सुदूरपश्चिमको कृषि तथा पर्यटन विकासका लागि महोत्सवले टेवा पुर्‍याउने बताए ।यस क्षेत्रलाई आर्थिक केन्द्रका रूपमा विकास गर्नु आजको आवश्यकता रहेको उनको भनाइ छ ।

सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशीले प्रदेशको विकासका लागि महोत्सवले टेवा पुर्‍याउने बताए ।श्रम तथा रोजगार तथा समाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले उद्योग व्यवसायलाई सशक्त र व्यवस्थित बनाउन सरकारको ध्यानाकर्षण भएको बताए ।उनले अर्थतन्त्रमा पछिल्लो समय देखिएको समस्या समाधान गर्न सरकार गम्भीर भएर लागेको दाबी गरे ।

देशमा पुँजी परिचालन अपेक्षाअनुसार हुन नसक्दा समस्या भइरहेको उनको भनाइ थियो । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशमा लगानी भित्र्याउनका लागि लगानीकर्तालाई जग्गाको उपलब्धता, लगानीको सुनिश्चितता र सुरक्षाको प्रत्याभूति आवश्यक रहेको बताए ।

समारोहमा कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुष्पराज कुँवरले प्रधानमन्त्रीसमक्ष ज्ञापनपत्र पेस गरे । उक्त अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तिलाई प्रधानमन्त्री देउवाले सम्मानपत्र प्रदान गरेका थिए ।समृद्ध सुदूरपश्चिमका लागि आर्थिक समृद्धि भन्ने नारासहित सुरु भएको महोत्सव पुस २ सम्म सञ्चालन हुनेछ ।

महोत्सवमा झण्डै चार सय व्यापारिक कक्ष राखिएको छ । सुदूरपश्चिम प्रदेशको कृषि, उद्योग, पर्यटन, कला संस्कृति र व्यापार व्यवसायको प्रवद्र्धन गर्ने उद्देश्यले २०६३ सालदेखि हरेक वर्ष सुदूरपश्चिम महोत्सवको आयोजना हुँदै आएको छ । महोत्सव कोरोना महामारीका कारण भने विगतमा दुई वर्ष हुन सकेको थिएन ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment