काठमाडौँ । नगर पिच नगरिएको भन्दै काठमाडौँको थलीवासीले सडकमा उत्रिएका छन् । उनीहरूले आज बिहानैदेखि थली–साँखु सडकखण्ड बन्द गराएका छन् ।आज ‘सडक पीडित जनता’को नामबाट जारी सूचनामा अनिश्चितकालीन समयसम्म सडक बन्द गरिएको उल्लेख छ।
थली–साँखु सडकको थली बजारमा २२ गतेदेखि सडक कालोपत्र गर्ने भनिए पनि काम सुरु नभएकाले सडक बन्द गरिएको जनाइएको छ ।यसअघि पनि थलीका व्यवसायी र स्थानीयले सडक बन्द गरेर कालोपत्र गर्न माग गर्दै आएका छन् । तर, उनीहरूको माग अझैसम्म पूरा भएको छैन ।
उता तानसेन–रिडी सडक खण्ड बन्द भएको छ। यस सडक खण्डको सिरुखर्क, माल्मुल क्षेत्रमा चौडा गर्नका लागि विहीबारदेखि सडक बन्द गरिएको हो। मंसिर २२ गतेदेखि पुस ७ गतेसम्मका लागि दैनिक १० घण्टाका दरले १५ दिनसम्म सडक बन्द गरिएको सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ।
सडक डिभिजन कार्यालय पाल्पाले एक सूूचना जारी गर्दै सडक चौडा गर्नुपर्ने भएकाले बाटो बन्द गरी सडक निर्माण कार्य गरिने जनाएको छ। सडक निर्माणको समय बिहान ५ बजेदेखि ९ बजेसम्म, दिउँसो १२ बजेदेखि ३ बजेसम्म र बेलुका ६ बजेदेखि ९ बजेसम्म सडक बन्द रहने छ।
उक्त क्षेत्रमा सडक बन्द रहे पनि यो सडक खण्ड हुँदै गुल्मी, बागलुुङ्ग , अर्घाखाँची जाने आउने साना सवारी साधन भने लुहुङ्ग –बतासेडाँडा भएर चल्न सक्ने छन्। त्यस्तै म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक स्तरोन्नतिको काम रोकिएको छ ।
पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गादेखि जलजला गाउँपालिकाको ८, ७, ४ र ३ नम्बर वडा हुँदै म्याग्दीको सदरमुकाम बेनी जोड्ने सडक निर्माण रोकिदाँ यात्रुलाई सास्ती र जोखिम बढेको छ । उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी कोरीडोर बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत १३ किलोमिटर दूरीको मालढुङ्गा–बेनी सडक
स्तरोन्नतिका लागि २०७७ चैतमा एपेक्स–खड्का–कृष्ण जेभीले ५२ करोड ८६ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो ।एपेक्स–खड्का–कृष्णको सहायक ठेकेदार ओमकारेश्वर कन्स्ट्रक्सनले गत कात्तिक ६ गतेयता सडक निर्माणको काम गरेको छैन । ओम कारेश्वरका सञ्चालक अमृत दाहालले सडक निर्माणका लागि आवश्यक पर्ने ढुङ्गा, गिट्टी, बालुवा र रोडा नपाएपछि काम रोक्नुपरेको बताए ।
‘तिहार अघिसम्म तीव्र गतिमा काम गरेका थियौँ । छ किलोमिटर सडक विस्तार, नाली र पर्खाल सकेर ग्राभेल गर्ने तयारी छ,’ उनले भने ‘ठेक्का सम्झौताअनुसार सडक निर्माणका लागि आवश्यक नदीजन्य कच्चा पदार्थको स्रोत कालीगण्डकी हो । नदी जन्य पदार्थ नपाएपछि प्रशोधन गर्न स्थापना गरेको अस्थायी क्रसर सञ्चालन भएको छैन ।
ग्राभेल गर्न आवश्यक पर्ने नदीजन्य पदार्थ नभएपछि सयौँ मजदुर, दर्जनौँ डोजर, टिप्पर थन्काएर राख्नुपरेको छ ।’नदीजन्य कच्चा पदार्थ उपलब्ध हुने र काम गर्ने वातावरण बनाउन अनुरोधसहित सडक विभाग, बेनी–जोमसोम–कोरला सडक आयोजना, पर्वतको जिल्ला प्रशासन, समन्वय समिति, कुश्मा नगरपालिका, जलजला गाउँपालिकामा यही मङ्सिर १५ गते पत्राचार गरे पनि पहल नभएको दाहालले गुनासो गरे ।
सर्वोच्च अदालतको २०७८ असार २९ गतेको आदेशानुसार कालीगण्डकीबाट नदीजन्य पदार्थ उत्खनन गर्न रोक लागेकाले ठेक्का लगाउन नसकिएको, करोडौँ राजस्व गुमेको र विकास आयोजनामा असर देखिएको जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले बताए ।
विसं २०७९ चैत महिनासम्मको म्याद रहेको यो सडक योजनाको हालसम्मको भौतिक प्रगति २४ प्रतिशत रहेको बेनी–जोमसोम–कोरला सडक आयोजनाले जनाएको छ । सडक निर्माणको काम रोकिँदा यातायातका साधन सञ्चालन र यात्रुहरुलाई आवतजावतमा समस्या भएको छ ।
खाल्डाखुल्डी, धुलो, हिलोका कारण यात्रा गर्न सास्ती भएको बेनीका बद्री शर्माले बताए ।‘सहज हुँदा ३० मिनेटमा बेनीदेखि मालढुङ्गा पुगिन्थ्यो, अहिले डेढ घण्टा लाग्छ,’ उनले भने ‘धुलो, हिलो र साँघुरो सडकमै राखिएका निर्माण सामग्रीले आवतजावतमा असहजतासँगै दुर्घटनाको जोखिम बढेको छ ।’
यो सडकमा म्याग्दी, मुस्ताङ र पर्वतको जलजला गाउँपालिकाका स्थानीय बासिन्दाका साथै पर्यटक र तीर्थयात्री आवतजावत गर्छन् ।बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख जगत प्रजापतिले सडक निर्माणमा देखिएको समस्याका विषयमा सडक विभागमा जानकारी गराएको र रोकिएको कामलाई सञ्चालन गराउन स्थानीयस्तरमा सहजीकण गरिएको बताए ।
‘कामका लागि खाद्यान्न’ कार्यक्रमअन्तर्गत २०५२ सालमा मार्ग खुलेको मालढुङ्गा–बेनी सडक बेनी सडक २०६८ सालमा कालोपत्र गरिएको थियो । मुस्ताङको कोरला नाकादेखि दक्षिणको सुनौलीसम्म जोड्ने कालीगण्डकी कोरिडोरअन्तर्गत यो सडकलाई ११ मिटर चौडा र कालोपत्रे गर्न लागिएको हो ।
Leave A Comment