काठमाडौं : प्रत्येक ४ वर्षमा एक पटक हुने फुटबल विश्वकपको २२ औँ संस्करण यतिवेला कतारमा चलिरहेको छ। सेमिफाइनल समीकरणसमेत पूरा भइसकेको प्रतियोगिता अब लगभग अन्त्यतिर आइसकेको छ। अब प्रतियोगितामा जम्मा ४ खेल बाँकी छन्।
यो पटकको विश्वकपमा सेमिफाइनल पुगेका ४ देश अर्जेन्टिना, क्रोएशिया, मोरक्को र फ्रान्समध्ये जुन देशले जिते पनि केही रोचक कीर्तिमान बन्ने भएका छन्। सेमिफाइनलको आज हुने पहिलो खेलमा अर्जेन्टिना र क्रोएशियाले प्रतिस्पर्धा गर्दैछन्।सेमिफाइनल सहित फाइनल पनि जित्दै अर्जेन्टिना यो पटकको विश्व विजेता भएमा सन् २००६ देखि लगातार युरोपेली देशले जित्दै आएको विश्वकप २० वर्षपछि दक्षिण अमेरिका जानेछ।
साथै दुई पटकको विश्व विजेता अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकप उचाल्नेछ। र यो अर्जेन्टिनी खेलाडी लियोनेल मेसीको लागि पहिलो र सबैभन्दा महत्त्वपूर्ण उपाधि हुनेछ। त्यस्तै क्रोएशियाले विश्वकप जितेमा यो क्रोएशियाका लागि पहिलो विश्वकप हुनेछ। क्रोएशिया सबैभन्दा ढिलो र सबैभन्दा थोरै पटक विश्वकपमा खेलेर उपाधि जित्ने देश बन्नेछ।
सन् १९९८ मा पहिलो पटक विश्वकप खेलेको क्रोएशियाको यो छैटौँ सहभागिता हो। क्रोएशिया अघिल्लो पटक फाइनलमा पराजित भएर त्यसपछिको विश्वकप जित्ने तेस्रो देश हुनेछ।यसअघि सन् १९८६ मा फाइनलमा पराजित भएर जर्मनी सन् १९९० को विजेता बनेको थियो भने सन् १९९८ मा फाइनलमा पराजित भएको ब्राजिल २००२ मा विजेता बनेको थियो।
साथै लगातार पाँच पटक विश्वकपको उपाधि युरोप भित्रिँदै नयाँ कीर्तिमान बन्नेछ। अघिल्लो विश्वकपको उपाधि विजेता फ्रान्सले यो विश्वकप पनि जितेमा लगातार दुई पटक विश्वकप जित्ने तेस्रो देश बन्नेछ। यसअघि सन् १९३४ को विजेता इटलीले सन् १९३८ मा पनि जितेको थियो भने सन् १९५८ र सन् १९६२ मा ब्राजिलले जितेको थियो।
गएका ६० वर्षमा कुनै पनि टोलीले लगातार दुई पटक विश्वकप जित्न सकेका छैनन्। यो फ्रान्सको लागि तेस्रो विश्वकप उपाधि हुनेछ साथै सबैभन्दा बढी विश्वकप जित्ने देशको सूचीमा तेस्रो नम्बरमा आउनेछ। यसअघि ब्राजिलले ५ पटक तथा जर्मनी र इटलीले ४/४ पटक विश्वकपको उपाधि उचालेका छन्।
मोरक्कोले उपाधि जितेमा सबैभन्दा थोरै पटक विश्वकप खेलेर उपाधि जित्ने देश बन्नेछ। मोरक्कोका साथै अफ्रिका र अरब क्षेत्रका लागि पनि यो पहिलो विश्वकप उपाधि हुनेछ। योसँगै पहिलो पटक विश्वकपको उपाधि युरोप र दक्षिण अमेरिकाभन्दा बाहिर जानेछ।
Leave A Comment