Latest
img

साउथ फिल्मको ४० सेकेन्डको दृश्यमा लोभिँदा म्युजिक भिडियो निर्देशक हिमाली भए ‘चोर’

काठमाडौं । गायक हिमाल सागरको ‘ए होर माया’ बोलेको गीतको म्युजिक भिडियो रिलिज भएको २ हप्तामै सुपर हिट भयो युट्युबमा। मङ्गलवारसम्म यो गीतको म्युजिक भिडियो ५ दशमलव ६९ मिलियनले हेरिसकेका छन्। यतिको दर्शक पाउनु त्यो पनि २ सातामै भनेको गजबै हो नि।

तर के गर्नु नेपाली फिल्मका निर्देशकमा सरेको दक्षिण भारतीय फिल्मको रोगले म्युजिक भिडियो निर्देशक मौसम हिमालीलाई पनि छाएर अलि झुर भयो। म्युजिक म्युजिक भिडियोमा फिचर्ड भएका विमल अधिकारीको नृत्य कमजोरी प्रस्टै देखिए पनि सनिसा भट्टराईसँगको जोडी भने सुहाएको छ।

उनको फेसियल एक्सप्रेसन गजबै छ भने सनिसाको मुस्कान किलर देखिएको छ। सबै ठिकठाक हुँदा हुँदै ४० सेकेन्डको एउटा सटले कोरियोग्राफर तथा निर्देशक मौसम हिमालीलाई सट चोरको सूचीमा सूचीकृत गर्‍यो। खै के जोस चलेछ कुन्नि उनलाई एकाएक मोडल विमललाई दक्षिण भारतीय फिल्मका चर्चित नायक महेशबाबु बनाउन मन लागेछ अनि सनिसालाई अभिनेत्री कृत्ति सुरेश।

अनि चर्चित दक्षिण भारतीय फिल्म ‘सरकारु भारी पाता’ को ‘कालाभाथी’ बोलको गीतको एक सट चट्ट हल्का मोडिफाई गरेर ल्याएर ‘ए होर माया’ मा चट्ट मिसाइदिएछन्। ‘कालाभाथी’ मा रेस्टुरेन्टमा रहेकी कृतिको पोसाकको पछाडिको चेन अलिकति खुल्ला हुन्छ। महेशबाबुले ऐनामा देखेपछि उनलाई इशाराले बताउँछन्।

अभिनेत्रीले चेन लगाइदिन बोलाएपछि उनी केही थाहा नभए जस्तै गरेर गएर चेन लगाइदिन्छन्। यता ‘ए होर माया’ मा हिमालीले चेनलाई तुना बनाइदिएर ठ्याक्कै उही सट लिएर म्युजिक भिडियोमा राखिदिए। अब अहिलेको बेलामा उनको यो चोरी काम कहाँ लुक्थ्यो र पोल खुलिहाल्यो।

उनले सोचे होलान् मलाई मन परेको सट अरूलाई कहाँ थाहा हुन्छ र! अब नेपालमा उनी एक्ला महेश बाबुको फ्यान त पक्कै हैनन्। महेशबाबुको फ्यान फलोइङ राम्रै छ नेपालमा। अब उनलाई जसरी त्यो सट गजब लाग्यो अन्य कसैलाई पनि त्यही सट गजब लागेको हुनसक्छ नै।

फिल्म हेर्न हलमा जानु पनि परेन। युट्युबमै गीत छ नै। अनि उनको चोरी काम पक्डियो। हिमाल सागर अनि अनु चौधरीको मिठो स्वर रहेको म्युजिक भिडियो लोकप्रिय हुँदाहुँदै कोरियोग्राफर अनि निर्देशकको रूपमा भने हिमाली चोरकै सूचीमा परे।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment