Latest
img

अर्जेटिनाका प्रशिक्षक भन्छन्– क्रोएसियाको कमजोरीमा कसरी गोलको बर्षा गर्ने भनेर राम्रोसँग थाहा छ

काठमाडौं । प्रशिक्षक लियोनल स्कालोनीले कतार विश्वकपको सेमिफाइनलमा क्रोएसियाविरुद्ध खेल्दा अर्जेन्टिनाले आफ्नो ‘सिस्टम’मा विश्वास गर्ने बताएका छन् । उनले २०१८ को उपविजेतालाई कसरी हराउने भनेर गृहकार्य गरेको बताए ।

क्रोएसियालाई यस विश्वकपमा सेमिफाइनल पुग्ने टिमका रूपमा हेरिएको थिएन । तर, क्रोएसियाले २०१८ को सफलतालाई निरन्तरता दिँदै नकआउट चरणका दुई खेल पेनाल्टी सुटआउटमा जितेर अन्तिम चारमा स्थान बनाउन सफल भयो । “क्रोएसियाले धेरै राष्ट्रिय टोलीहरूलाई समस्यामा पारेका छन् ।

म उनीहरूको बलियो र कमजोर पक्ष तथा मुख्य खेलाडीबारे उल्लेख गर्दिनँ । तर, हामीले तिनीहरूको कुन कमजोर पक्षमा प्रहार गर्न सक्छौँ भनेर विश्लेषण गरेका छौँ । कहिलेकाहीँ यस्तो रणनीतिले काम गर्छ । कहिलेकाहीँ काम गर्दैन,” क्रोएसियाविरुद्धको खेलअघि अर्जेन्टिनाका प्रशिक्षक स्कालोनीले भने ।

अर्जेन्टिनाले क्वार्टरफाइनलमा नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा हराउँदै अन्तिम चारमा स्थान बनाएको हो । क्रोएसियाविरुद्धको सेमिफाइनल खेलबारे स्कालोनीले थपे, “हामी मैदानमा हरसम्भव प्रयास गर्नेछौँ । कहिलेकाहीँ भाग्य पनि चाहिन्छ । हामीले राम्रो प्रदर्शन गर्नसक्यौँ भने हामीले तय गरेको लक्ष्य भेट्टाउन सहज हुनेछ ।

तर, यो फुटबल हो । र, यस खेलमा कहिलेकाँही राम्रो टिमले पनि जित्न सक्दैन ।”अर्जेन्टिनाको केन्द्रमा लियोनल मेसी भएजस्तै क्रोएसियाको केन्द्रमा लुका मोड्रिच छन् । मोड्रिच ३७ वर्षको उमेरमा पनि उत्तिकै राम्रो प्रदर्शन गर्न सफल भएका छन् । स्कालोनी पनि मोड्रिचको प्रसंशा गर्न चुकेनन् ।

“हामीमध्ये धेरैका लागि मोड्रिच रोल मोडल हुन् । यो उनको प्रतिभाका कारणमात्र होइन, उनको व्यवहारले पनि हो,” स्कालोनीले भने, “उनको खेलबाट आनन्द लिन सक्नुपर्छ । फुटबललाई माया गर्नुहुन्छ भने मोड्रिचजस्तो खेलाडीको खेलबाट आनन्द लिन सक्नुपर्छ ।”

स्कालोनीले एन्जेल डी मारिया र रोड्रिगो डी पाउल दुवै पूर्ण फिट भएको बताए । साथै दुई पहेँलो कार्डका कारण निलम्बनमा रहेका मार्कोस अकुना र गोन्जालो मोन्टियलको अनुपस्थितिले टिममा असर नपर्ने बताए । “हामीसँग आफ्नै सिस्टम छ । आफ्नै खेल्ने शैली छ ।

पक्कै पनि कहिलेकाहीँ हामीले विपक्षी टिम कसरी खेलेको छ भनेर पनि ध्यान दिनुपर्छ,” स्कालोनीले भने, “हामी आफ्नो शैली परिवर्तन गर्ने पक्षमा छैनौँ । तर, खेलको परिस्थितिअनुसार हामी निर्णय लिनेछौँ ।”स्केलोनीलाई नेदरल्यान्ड्सविरुद्ध जित हासिल गरेपछि अर्जेन्टिनाका खेलाडीहरूको ‘खेल भावना विपरीतका व्यवहार’बारे पनि प्रश्न गरिएको थियो ।

जसको पछिल्लो समय चर्को आलोचना भइरहेको छ । “अघिल्लो खेलमा हामीले जसरी खेल्नुपर्ने हो त्यसरी नै खेलिरहेका थियो… यो फुटबल हो । र, कहिलेकाहीँ यस्ता घटना घट्छन् । तर्क वितर्क हुनसक्छन् । त्यसैले त्यहाँ रेफ्री हुन्छन्,” अर्जेन्टिनाका प्रशिक्षक स्कालोनीले भने, “अर्जेन्टिनाले जस्तो टिमले त्यस्तो व्यवहार गर्ने सोचलाई अन्त्य गर्न आवश्यक छ । हामी साउदी अरबसँग हार्‍यौँ र पनि केही भनेनौँ ।”

स्कालोनीले थपे, “हामीले ब्राजिलमा कोपा अमेरिका जित्यौँ । त्यतिबेला लियोनल मेसी, लिएन्ड्रो परेडेस, नेयमार लामो समय गफिएका थिए । सबै माराकानाको टनेलमा सँगै बसिरहेका थिए । जुन सबैभन्दा राम्रो खेलकुद व्यवहारको थियो । म वास्तवमै खेल भावना विपरीतका व्यवहारमा विश्वास गर्दिनँ ।”

क्वार्टरफाइनलपछि सम्पन्न पोस्ट म्याचमा मेसीले गरेको व्यवहारको पनि चर्को आलोचना भएको छ । तथापि अर्जेन्टिनाका रक्षक निकोलस टाग्लियाफिकोले आफ्नो कप्तान मेसीको प्रभावको प्रशंसा गरे ।“उनी सधैँ यस्तै रहन्छन् । उनी हाम्रो कप्तान र लिडर हुन् । सधैँ हामीलाई उत्प्रेरित र प्रोत्साहन गर्छन् ।

उनी मैदानमा हुँदा हामीलाई विशेष फाइदा हुन्छ । उनी हाम्रो प्रेरणाको ठूलो स्रोत हुन्,” टाग्लियाफिकोले मेसीको प्रसंशा गर्दै भने, “सबैको समर्थनमा हमी एउटै लक्ष्य प्राप्तिका लागि प्रयास गरिरहेका छौँ । हामी हाम्रो सपना पूरा गर्न चाहन्छौँ । र, यो यात्रामा हामीसँग मेसी हुनसबैभन्दा सुन्दर पक्ष हो ।”

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment