कतारमा जारी फिफा विश्वकप फुटबलको सेमिफाइनल र फाइनल खेल निःशुल्क हेर्न पाइने भएको छ । सेमिफाइनलमा आज राति पौने १ बजे अर्जेन्टिना र क्रोयसिया बीच भिडन्त हुँदै छ ।मिडिया हब प्रालि र हिमालय टेलिभिजनबीच भएको सम्झौताको चार खेल निःशुल्क देखाउन सम्झौताअनुसार सेमिफाइनल र फाइनल खेल हेर्नका लागि पैसा तिर्नुनपर्ने भएको हो।
यसअघि ५६५ रूपैयाँ नतिरेका ग्राहकहरूले पनि यी तीन खेल हेर्न पाउनेछन्। टेलिभिजले यसअघिको ओपनिङ सेरेमोनी र पहिलो खेल पनि निःशुल्क देखाएको थियो। सर्वोच्च अदालतमा रकम लिन रोक्नुपर्ने मागसहित दायर रिटको सुनुवाइ गर्दै प्रकाशकुमार ढुंगाना र डा मनोजकुमार शर्माको संयुक्त इजलासले चार खेल निःशुल्क देखाउने अवस्थामा मात्र पैसा उठाउन पाउने अन्तरिम आदेश दिएको थियो।
त्यसअघि अदालतले अल्पकालिन अन्तरिम आदेश दिएर भइरहेका सम्पूर्ण काम रोक्न भनेको थियो। तर ढुंगाना र शर्माको इजलासले विश्वकप फुटबल प्रसारण गर्न छुट्टै ५ सय रूपैयाँ तिरी टिभी च्यानलमार्फत फुटबल उपभोक्तालाई हेर्न पाउने कुरा नियमित नभई नितान्त स्वेच्छिक देखिने ठहर गरेको थियो।
उता प्रशिक्षक लियोनल स्कालोनीले कतार विश्वकपको सेमिफाइनलमा क्रोएसियाविरुद्ध खेल्दा अर्जेन्टिनाले आफ्नो ‘सिस्टम’मा विश्वास गर्ने बताएका छन् । उनले २०१८ को उपविजेतालाई कसरी हराउने भनेर गृहकार्य गरेको बताए ।
क्रोएसियालाई यस विश्वकपमा सेमिफाइनल पुग्ने टिमका रूपमा हेरिएको थिएन । तर, क्रोएसियाले २०१८ को सफलतालाई निरन्तरता दिँदै नकआउट चरणका दुई खेल पेनाल्टी सुटआउटमा जितेर अन्तिम चारमा स्थान बनाउन सफल भयो । “क्रोएसियाले धेरै राष्ट्रिय टोलीहरूलाई समस्यामा पारेका छन् ।
म उनीहरूको बलियो र कमजोर पक्ष तथा मुख्य खेलाडीबारे उल्लेख गर्दिनँ । तर, हामीले तिनीहरूको कुन कमजोर पक्षमा प्रहार गर्न सक्छौँ भनेर विश्लेषण गरेका छौँ । कहिलेकाहीँ यस्तो रणनीतिले काम गर्छ । कहिलेकाहीँ काम गर्दैन,” क्रोएसियाविरुद्धको खेलअघि अर्जेन्टिनाका प्रशिक्षक स्कालोनीले भने ।
अर्जेन्टिनाले क्वार्टरफाइनलमा नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा हराउँदै अन्तिम चारमा स्थान बनाएको हो । क्रोएसियाविरुद्धको सेमिफाइनल खेलबारे स्कालोनीले थपे, “हामी मैदानमा हरसम्भव प्रयास गर्नेछौँ । कहिलेकाहीँ भाग्य पनि चाहिन्छ । हामीले राम्रो प्रदर्शन गर्नसक्यौँ भने हामीले तय गरेको लक्ष्य भेट्टाउन सहज हुनेछ ।
तर, यो फुटबल हो । र, यस खेलमा कहिलेकाँही राम्रो टिमले पनि जित्न सक्दैन ।”अर्जेन्टिनाको केन्द्रमा लियोनल मेसी भएजस्तै क्रोएसियाको केन्द्रमा लुका मोड्रिच छन् । मोड्रिच ३७ वर्षको उमेरमा पनि उत्तिकै राम्रो प्रदर्शन गर्न सफल भएका छन् । स्कालोनी पनि मोड्रिचको प्रसंशा गर्न चुकेनन् ।
“हामीमध्ये धेरैका लागि मोड्रिच रोल मोडल हुन् । यो उनको प्रतिभाका कारणमात्र होइन, उनको व्यवहारले पनि हो,” स्कालोनीले भने, “उनको खेलबाट आनन्द लिन सक्नुपर्छ । फुटबललाई माया गर्नुहुन्छ भने मोड्रिचजस्तो खेलाडीको खेलबाट आनन्द लिन सक्नुपर्छ ।”
स्कालोनीले एन्जेल डी मारिया र रोड्रिगो डी पाउल दुवै पूर्ण फिट भएको बताए । साथै दुई पहेँलो कार्डका कारण निलम्बनमा रहेका मार्कोस अकुना र गोन्जालो मोन्टियलको अनुपस्थितिले टिममा असर नपर्ने बताए । “हामीसँग आफ्नै सिस्टम छ । आफ्नै खेल्ने शैली छ ।
पक्कै पनि कहिलेकाहीँ हामीले विपक्षी टिम कसरी खेलेको छ भनेर पनि ध्यान दिनुपर्छ,” स्कालोनीले भने, “हामी आफ्नो शैली परिवर्तन गर्ने पक्षमा छैनौँ । तर, खेलको परिस्थितिअनुसार हामी निर्णय लिनेछौँ ।”स्केलोनीलाई नेदरल्यान्ड्सविरुद्ध जित हासिल गरेपछि अर्जेन्टिनाका खेलाडीहरूको ‘खेल भावना विपरीतका व्यवहार’बारे पनि प्रश्न गरिएको थियो ।
जसको पछिल्लो समय चर्को आलोचना भइरहेको छ । “अघिल्लो खेलमा हामीले जसरी खेल्नुपर्ने हो त्यसरी नै खेलिरहेका थियो… यो फुटबल हो । र, कहिलेकाहीँ यस्ता घटना घट्छन् । तर्क वितर्क हुनसक्छन् । त्यसैले त्यहाँ रेफ्री हुन्छन्,” अर्जेन्टिनाका प्रशिक्षक स्कालोनीले भने, “अर्जेन्टिनाले जस्तो टिमले त्यस्तो व्यवहार गर्ने सोचलाई अन्त्य गर्न आवश्यक छ । हामी साउदी अरबसँग हार्यौँ र पनि केही भनेनौँ ।”
स्कालोनीले थपे, “हामीले ब्राजिलमा कोपा अमेरिका जित्यौँ । त्यतिबेला लियोनल मेसी, लिएन्ड्रो परेडेस, नेयमार लामो समय गफिएका थिए । सबै माराकानाको टनेलमा सँगै बसिरहेका थिए । जुन सबैभन्दा राम्रो खेलकुद व्यवहारको थियो । म वास्तवमै खेल भावना विपरीतका व्यवहारमा विश्वास गर्दिनँ ।”
क्वार्टरफाइनलपछि सम्पन्न पोस्ट म्याचमा मेसीले गरेको व्यवहारको पनि चर्को आलोचना भएको छ । तथापि अर्जेन्टिनाका रक्षक निकोलस टाग्लियाफिकोले आफ्नो कप्तान मेसीको प्रभावको प्रशंसा गरे ।“उनी सधैँ यस्तै रहन्छन् । उनी हाम्रो कप्तान र लिडर हुन् । सधैँ हामीलाई उत्प्रेरित र प्रोत्साहन गर्छन् ।
उनी मैदानमा हुँदा हामीलाई विशेष फाइदा हुन्छ । उनी हाम्रो प्रेरणाको ठूलो स्रोत हुन्,” टाग्लियाफिकोले मेसीको प्रसंशा गर्दै भने, “सबैको समर्थनमा हमी एउटै लक्ष्य प्राप्तिका लागि प्रयास गरिरहेका छौँ । हामी हाम्रो सपना पूरा गर्न चाहन्छौँ । र, यो यात्रामा हामीसँग मेसी हुनसबैभन्दा सुन्दर पक्ष हो ।”
Leave A Comment