लियोनल मेस्सीको टिम अर्जेन्टिना कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनल प्रवेश गरेको छ । मंगलबार राति भएको पहिलो सेमिफाइनल खेलमा दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिनाले युरोपियन राष्ट्र क्रोएसियामाथि ३–० को एकपक्षीय र शानदार जित निकाल्दै उपाधि नजिक पुगेको हो ।
सन् २०१४ को ब्राजिल विश्वकपको फाइनलमा पराजित अर्जेन्टिना अब कतार विश्वकपको च्याम्पियन बन्नबाट मात्रै एक जितले टाढा छ । प्रतियोगितामा समूह चरणको पहिलो खेलमा साउदी अरबसँग लज्जास्पद हार भागेको अर्जेन्टिना सम्हालिँदै आज फाइनल प्रवेश गर्न सफल भएको हो ।
यसपटक अर्जेन्टिनाले क्रोएसियालाई पराजित गरेर फाइनल मात्रै प्रवेश गरेको छैन, उसले सन् २०१८ को रसिया विश्वकपको समूह चरणमा भोगेको हारको बदला पनि लिएको छ । सो विश्वकपमा अर्जेन्टिनालाई क्रोएसियाले ३–० को अन्तरमा चुटाइ गरेको थियो ।
त्यसको ४ वर्षपछि अर्जेन्टिनाले क्रोएसियासँग विश्वकपको मञ्चमै मिठो बदला लियो, ठीक ३–० ले नै पराजित गरे । अर्जेन्टिनाका लागि सेमिफाइनलको यो नतिजा यस विश्वकपको सबैभन्दा उत्कृष्ट नतिजा पनि हो ।लुजाइल स्टाडियममा मध्यराति १२ः४५ बजेबाट सुरु भएको खेलको पहिलो हाफमा अर्जेन्टिनाले २–० को अग्रता लिएको थियो ।
आजको खेलमा पनि अर्जेन्टिनाको जितमा कप्तान लियोनल मेस्सीको प्रदर्शन प्रेरणादायी रह्यो । साथमा, २ गोल गर्ने युवा खेलाडी जुलियन अल्भारेज आजको खेलको मुख्य नायक बने । उनले उत्कृष्ट प्रदर्शन गर्दै २ गोल गरेर टिमको शानदार जितमा महत्त्वपूर्ण योगदान दिए ।
आजको खेलमा कप्तान मेस्सीले १ पेनाल्टी गोल गर्दै १ गोलमा असिस्ट पनि गरेर आफ्ने लय र स्तर कायम राख्न सफल भए ।खेलको ३४औं मिनेटमा कप्तान लियोनल मेस्सीले पेनाल्टीमार्फत् गोल गर्न सफल भए । बल लिएर अघि बढेका अर्जेन्टिनाका युवा खेलाडी जुलियन अल्भारेजलाई क्रोएसियाका गोलकिपरले बल क्लियर गर्ने क्रममा बक्स भित्र लडाएपछि रेफ्रीले सोझै अर्जेन्टिनालाई पेनाल्टी दिएका थिए,
जसमा कप्तान मेस्सीले कुनै गल्ती नगरी गोल गर्न सफल भए । पहिलो गोल गरेको ५ मिनेटमै क्रोएसियाले दोस्रो गोल खायो । यसपटक जुलियन अल्भारेज आफैंले गोल गर्न सफल भए । विपक्षीका खुट्टाबाट खोसेको बल उनले एक्लै अघि लगेर गोलकिपरलाई बिट गर्दै गोल गरेका थिए ।
सो क्रममा क्रोएसियन डिफेन्डरले चाँडै बल क्लियर गर्न नसक्दा गोल भएको थियो ।त्यसपछि दोस्रो हाफमा अर्जेन्टिनाले दोस्रो गोल हान्यो । खेलको ६९औं मिनेटमा मेस्सीले बडा जादुयी तरिकाले सिर्जना गरेको पासमा युवा खेलाडी अल्भारेजले बक्स अघिबाट सहजै गोल गरेपछि अर्जेन्टिनाले अग्रता तेब्बर बनायो । त्यसपछि बाँकी समयभरि दुवै तर्फबाट थप गोल हुन नसक्दा खेल अर्जेन्टिनाले ३–० ले जित्न सफल भयो ।
Leave A Comment