Latest
img

मोरक्कोसँगको खेल जित्ने रणनीतिले एम्बप्पे र फ्रान्स ठूलो तनाबमा !

विश्वकप फुटबलको दोस्रो सेमिफाइनलमा आज डिफेन्डिङ च्याम्पियन्स फ्रान्सको सामना यस विश्वकपको ‘जाइन्ट किलर’ टिम मोरक्कोसँग हुदै छ ।यो खेल नेपाली समय अनुसार राति १२: ४५ बजे कतारको दोहास्थित अल बायट स्टेडियममा हुदै छ । यस खेलको विजेताले फाइनलमा अर्जेन्टिनाको सामना गर्ने छ ।

फ्रान्स र मोरक्को विश्वकपमा पहिलो पटक एक आपसमा खेल्दै छन् । दुवै बीच अहिलेसम्म विश्वकप भन्दा बाहिर ११ पटक खेल भएको छ । जसमा फ्रान्सले ७ खेल जितेको छ भने मोरक्कोले एक जित हासिल गरेको छ । त्यस्तै ३ खेल बराबरी भएका थिए ।

दुवै देशबीच अन्तिम पटक २००७ मा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल भएको थियो जुन २-२ को बराबरीमा सकिएको थियो ।मोरक्को यस विश्वकपमा ‘जाइन्ट किलर’ टिमको रुपमा सेमिफाइनल खेलिरहेको छ । समुह एफमा २ जित र एक बराबरीसहित मोरक्को समुह विजेताको रुपमा राउण्ड १६ मा पुगेको थियो ।

त्यस्तै राउण्ड १६ मा मोरक्कोले २०१० को विश्वकप विजेता स्पेनलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै क्वाटरफाइनलमा पुगेको थियो । त्यसपछि क्वाटरफाइनलमा बलियो मानिएको पोर्चुगललाई १-० गोल अन्तरले पराजित गर्दै पहिलो पटक विश्वकपको सेमिफाइनलमा पुगेको छ ।

विश्वकपको समुह डी मा रहेको फ्रान्सले समुह चरणमा २ खेलमा जित हासिल गरेको थियो भने एक खेलमा हार बेहोरेको थियो ।फ्रान्सले समुह चरणको पहिलो खेलमा अस्ट्रेलियालाई ४-१ गोल अन्तरले पराजित गरेको थियो भने दोस्रो खेलमा डेनमार्कलाई २-१ गोल अन्तरले पराजित गरेको थियो ।

त्यस्तै समुह चरणको अन्तिम खेलमा फ्रान्स ट्युनिसियासँग १-० ले पराजित भएको थियो ।त्यसपछि फ्रान्सले राउण्ड १६ मा पोल्याण्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलको यात्रा तय गरेको थियो । त्यसपछि क्वाटरफाइनलमा फ्रान्सले इङल्याण्डलाई २-१ गोल अन्तरले पराजित गर्दै लगातार दोस्रो विश्वकपको सेमिफाइनलमा पुगेको छ ।

मोरक्को छैटौं पटक विश्वकपमा खेलिरहेको छ र पहिलो पटक विश्वकपको सेमिफाइनलमा समेत पुगेको छ । यस विश्वकपमा बेल्जियम, स्पेन र पोर्चुगललाई हराएर ‘जाइन्ट किलर’ उपाधि पाएको छ मोरक्कोका स्टार खेलाडीमा चेल्सीबाट खेल्ने २९ बर्षिय हाकिम जिएच रहेका छन् ।

उनले मोरक्कोका लागि अहिलेसम्म ४७ खेलमा १९ गोल गरेका छन् । त्यस्तै पिएसजीबाट खेल्ने डिफेन्डर अचरफ हाकिमी पनि मोरक्कोका प्रमुख खेलाडी हुन् । स्टार खेलाडीका बाबजुद मोरक्कोले यस विश्वकपमा अहिलेसम्म एक टिम भएर खेलेको देखिएको छ ।

फ्रान्स विश्वकप फुटबलको डिफेन्डिङ च्याम्पियन हो । फ्रान्सले २०१८ को रसियामा आयोजित विश्वकप जितेको थियो । फ्रान्सले अहिलेसम्म दुई पटक विश्वकपको उपाधि जितेको छ । त्यसअघि १९९८ मा फ्रान्सले विश्वकप जितेको थियो । फ्रान्सले योसहित १६औं पटक विश्वकपमा खेलिरहेको छ भने सेमिफाइनलमा योसहित सातौ पटक खेल्न लागेको छ ।

त्यस्तै फ्रान्स स्टार खेलाडीहरुले भरिएको टिम हो । तर केहि महत्वपूर्ण खेलाडीको इन्जुरीले फ्रान्स संकटमा रहे पनि विश्वकपमा अहिलेसम्म राम्रो प्रदर्शन गरिरहेको छ । फ्रान्सका स्टार खेलाडी करिम बेन्जमा, मिडफिल्डर द्वय पाउल पोग्वा र एनगोलो कान्टे इन्जुरीका कारण विश्वकप टिममा छैनन् ।

अहिले फ्रान्सका लागि किलियन एम्बप्पे प्रमुख खेलाडी हुन् । एम्बाप्पेले फ्रान्सका लागि अहिलेसम्म ६३ खेलमा ३३ गोल गरेका छन् । साथै यस विश्वकपमा एम्बाप्पेले अहिलेसम्म ५ गोल गरेर गोल्डेन बुटको दौडमा आफुलाई सबैभन्दा अगाडी राखेका छन् ।

त्यस्तै ओलिभर जिरोउडले पनि यस विश्वकपमा ४ गोल गरेर गोल्डेन बुटको दौडमा एम्बाप्पेलाई पछ्याइरहेका छन् । त्यस्तै जिरोउडले फ्रान्सका लागि ११८ खेलमा ५३ गोल गर्दै फ्रान्सका लागि अहिलेसम्म धेरै गोल गर्ने खेलाडी पनि बनेका छन् । त्यस बाहेक एन्टोनी ग्रीजम्यान, ओसमान डेम्बेले जस्ता स्टार खेलाडीले फ्रान्सलाई यस विश्वकपको प्रमुख दाबेदार बनाएको छ ।

यासैब्चिह मोरक्कोका प्रशिक्षक वालिद रेग्रागुईले इतिहार रच्ने आफ्नो टिमका लागि विश्वकप पुग्नुमा मात्र सन्तुष्ट हुन नहुने बताएका छन् । बुधबार हुने विश्वकप दोस्रो सेमिफाइनलमा फ्रान्सलाई स्तब्ध पार्ने आशा उनको छ ।फुटबलको सबैभन्दा प्रतिष्ठित प्रतियोगिताको ९२ वर्षको इतिहासमा पहिलोपल्ट अरब र अफ्रिकी देश सेमिफाइनलमा पुगेको हो ।

‘हामी थुप्रै विश्वस्तरीय खेलाडी र एक निकै उत्कृष्ट प्रशिक्षकका साथ विश्व च्याम्पियनसँग खेल्न गइरहेका छौं,’ मोरक्कन राष्ट्रिय टिमका पूर्व खेलाडीसमेत रहेका रेग्रागुईले पत्रकार सम्मेलनमा भने, ‘हामी उत्कृष्ट फुटबल खेल्नेछौं र उनीहरुलाई कमजोर बनाउने प्रयास गर्नेछौं ।

हामी विश्वकप फाइनलमा किन नपुग्ने ? हामी सपना देख्न सक्छौं । सपना देख्नका लागि कुनै खर्च लाग्दैन ।’क्लब करिअरमा फ्रान्सेली टोली टोउलोसबाट खेलेका रेग्रागुईका अनुसार उनको टिम विश्वकपको उपाधि दावेदार नहुनाका बाबजुद अझै ठूलो सफलताका लागि भोको छ ।

‘यो नै पर्याप्त हो भन्ने मलाई लाग्दैन । मलाई थाहा छ, हामी प्रतियोगिताको दावेदार टिम होइनौं तर, हामी आत्मविश्वासी छौं,’ उनले थपे, ‘अरव देश र अफ्रिकी देशका लागि हामी भिड्न जाादैछौं ।’

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment