हाल कतारमा फिफा विश्वकप फुटबल खेलिरहेका अर्जेन्टिनाका सुपरस्टार लियोनल मेस्सीले आफ्ना करोडौं समर्थकका लागि एक भावुक बनाउने खबर दिएका छन् । त्यो खबर हो– मेस्सीका लागि आइतबार हुने विश्वकपको फाइनल खेल उनको ‘करियरको अन्तिम विश्वकप खेल’ हुनेछ ।
र, उनलाई अब फेरि कहिल्यै पनि विश्वकपको खेलमा देख्न पाइनेछैन । मेस्सी आफैंले यो कुरा बताएका छन् । अघिल्लो दिन सेमिफाइनल खेलमा क्रोएसियालाई पराजित गरेर फाइनलमा प्रवेश गरेसँगै मेस्सी आफैंले यसबारे बताएका छन् । उनले आइतबार हुने फाइनल खेल आफ्नो करियरको अन्तिम विश्वकप हुने बताए ।
करियरको पाँचौं विश्वकप खेलिरहेका मेस्सीले हालसम्म उपाधि जित्न सकेका छैनन् । र, यसपटक उनी त्यसको संघारमा पुगेका छन् । अब मात्रै एक खेल जित्न सके मेस्सीले अर्जेन्टिनाका साथमा विश्वकप उपधि जित्नेछन् । यस विश्वकपमा उनले हालसमम ६ खेलबाट ५ गोल गर्दै ३ गोलमा असिस्ट पनि गरिसकेका छन् ।
उनले ६ खेल मध्ये ४ खेलमा म्यान अफ् द म्याच अवार्ड पनि जितेका छन् । ‘मेरो विश्वकपको आफ्नो यात्रा फाइनलमा समाप्त पार्न र अन्तिम खेल फाइनल खेल्न पाउँदा म धेरै खुसी छु । यो वास्तवमा एकदमै आनन्दको कुरा छ,’ क्रोएसियासँग खेलपछि मेस्सीले भने ।
मेस्सीले अघि भनेका छन्, ‘यस विश्वकपमा मैले जसरी बाँचें, त्यो निकै भावनात्मक रह्यो । यो हेर्दै अर्जेन्टिनामा यसलाई कसरी आनन्द लिइरहेका छन् भनेर म मिठो अनुभूति लिन्छु । यस वर्षदेखि अर्को संस्करणसम्म धेरै वर्ष छन् । मलाई लाग्दैन, अब मैले गर्न सक्नेछु ।
अब बिसाउने समय आयो । र, अब फाइनल खेल नै मेरो जीवनको अन्तिम विश्वकप खेल हुनेछ । यस तरिकाबाट यस यात्रालाई टुंग्याउनु निकै शानदार छ । यो यात्रा र यो अन्त्यबाट म निकै खुसी हुनेछ । तर, यी सबैका साथमा म च्याम्पियन बन्न पनि चाहन्छु ।’
मेस्सीले फाइनलमा जो आए पनि आफूहरू उत्कृष्ट प्रदर्शन गरेर उपाधि जित्नका लागि तयार रहेको बताएका छन् । ‘हामी हाम्रो उत्कृष्ट प्रदर्शन दिनेछौं, फाइनलमा जोसुकै आओस् । को आउँछ भन्ने कुराले फरक पार्दैन । जसरी हामीले अहिलेसम्म दिएका पनि छौं ।
यसपटक यो पक्कै पनि सफल हुनेमा म विश्वस्त छु । हामी पक्कै जित्नेछौं,’ मेस्सीले भनेका छन्, ‘यसरी अन्तिम विश्वकपको खेल फाइनल खेल्नु र उपाधि जित्नु कति सुन्दर कुरा छ, कति मिठो हुन्छ । यो ज्यादै अद्भुत हुनेछ ।’आइतबार हुने फाइनल खेल अर्जेन्टिना र साबिक च्याम्पियन फ्रान्सका बीचमा हुनेछ ।
अर्जेन्टिनाले अघिल्लो संस्करणको फाइनालिस्ट टिम क्रोएसियालाई सेमिमा ३–० ले पराजित गरेर फाइनल प्रवेश गर्दा फ्रान्सले गत राति मोरक्कोमाथि २–० को सहज जित निकालेर अर्जेन्टिनासँगको उपाधि भिडन्त तय गरेको छ । अर्जेन्टिनाले अब उपाधिका लागि २०१८ को रसिया विश्वकपको च्याम्पियन टिमसँग प्रतिस्पर्धा गर्नुपर्ने छ ।
फाइनल खेल दुवै टिमका लागि उत्तिकै कठिन र दबाबपूर्ण हुनेछ । रसिया विश्वकपको अन्तिम १६ मा फ्रान्सले अर्जेन्टिनालाई ४–३ ले पराजित गरेर आउट गराएको थियो ।
Leave A Comment