किनकिन यसपालिको विश्वकप फुटबल अनि मेरो देशको चुनावको नतिजा उस्तै उस्तै पो लाग्न थाल्यो। सायद नेपालको आम निर्वाचन र विश्वकपको उद्घाटन एकै दिन भएर पो हो कि? पूर्वीय ज्योतिषशास्त्रलाई मान्ने हो भने एकै दिन घटेका कतिपय घटनाहरू संयोगवश मिल्न पनि सक्छन्।
ज्योतिषशास्त्रले पनि आखिर कतिपय अवस्थामा ग्रहका खेलहरू मिल्न सक्ने प्रमाणित गरेकै छ क्यार। फेरि विश्वकप र नेपालको चुनाव एउटै महादेशमा भएका कारण पनि कतिपय आधारबाट यी दुई फरक घटनाका फल मिलेको हुन सक्ला कि? ज्योतिष विद्यामा कमजोर भएका कारण यसलाई अरू नतन्काउँ क्यार!
तर, विश्वकप र आम निर्वाचनको आयोजना तथा नतिजाले भने धेरै दिनदेखि केही लेख्न हातमा कुतकुती लगाइरहेको थियो। निर्वाचन र विश्वकपका बारे अनुमानहरू भयंकर गरिए। सम्भावित विजेताहरूका अनेकौँ नाममा दाबी गरिए। अन्त्यमा दाबी दुई नाममा सीमित भएका छन्।
यता प्रधानमन्त्रीको दाबी शेरबहादुर देउवा र प्रचण्डमा खुम्चिएको छ। अनि उता सम्भावित विश्व विजेताको सूची अर्जेन्टिना र फ्रान्समा अड्किएको छ। आम निर्वाचन र विश्वकप भएसँगै दिनदिनै देखिएका नतिजाले सबैलाई काउकुती लगाइरहेकै थियो। नेपालमा नयाँ शक्ति र युवाहरूको जोसले नतिजामा ठाडो हस्तक्षेप गर्दै थियो।
उता कतारमा पनि नसोचेका टोलीहरूले महारथीहरूलाई डुबाइरहेका थिए। दक्षिण कोरिया, जापान, मोरक्कोजस्ता टोली जसरी ठूला टोलीको टाउको दुखाइ बनिरहेका थिए। यहाँ पनि राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी ठूला दलका टाउको दुखाइ बन्दै थिए।
कतारमा ठूला टोलीलाई सानाले विश्वविजेता बन्न रोकिरहेको देख्दा यहाँका ठूला नेताहरू पनि साना दलकै कारण प्रधानमन्त्री बन्न पाउँदिनँ कि भन्ने चिन्तामा डुब्दै थिए। मैँ हुँ भन्ने खेलाडीहरू उता पनि रोइरहेका थिए, यता पनि रोइरहेका थिए। पराजयको पीडामा।
एकपछि अर्को नतिजासँगै झलनाथ खनाल,ईश्वर र शंकर पोखरेलजस्ता राजनीतिका माहिर खेलाडीहरू कतारमा रोनाल्डो, नेमार, ह्यारी केन झैँ आँसु बगाइरहेका थिए। अनि नेपालका राजनीति दलहरू ब्राजिल, स्पेन, पोर्चुगल झैँ ढल्दै थिए। दुवैतिर गज्जब हुने भयो अब भन्ने अनुमान लगाइँदै थिए।
नयाँ र साना दलसँगै स्वतन्त्र उम्मेदवारहरू मोरक्को, जापान, दक्षिण कोरियाझैँ उदाइरहेका थिए। साउदी अरबले अर्जेन्टिनालाई प्रभु साहले एमालेलाई झैँ झट्का दिएकै थियो। यो उदयले विश्वकप र नेपाली राजनीतिको परम्परागत ढर्रामा केही परिवर्तन ल्याउँछ कि भन्ने अपेक्षा पनि गरियो। तर, न विश्वकपको न त नेपाली राजनीतिकै चाल र ढाल बदलियो।
उता कतारमा नयाँ टोलीहरूको हस्तक्षेप हरेक रातसँगै ढल्दै गए। मोरक्कोको हारसँगै विश्वकप फेरि उही परम्परागत शक्तिको कब्जामा जाने निश्चित भयो। यता हरेक दिन राजनीतिको भित्री खेलले नयाँ उदाएका शक्तिहरूलाई खिन्न बनाउँदै छ। सत्ताभन्दा टाढा राख्दै छ। केही गर्छु भन्ने युवाजोशलाई कमजोर बनाउँदै छ।
परम्परागत राजनीतिमा हस्तक्षेप गर्न नदिने चक्रव्यूह निर्माण गर्दै छ। त्यही कारण राष्ट्रिय राजनीतिमा फेरि उही प्रमाणित चाउरिएका अनुहारहरूले कब्जा जमाउने पक्कापक्की हुँदै छ।बीच बाटोबाटै बाहिरिएको ब्राजिलझैँ नेकपा एमालेको मुहार पनि अहिलेसम्म हँसिलो बन्न सकेको छैन।
ब्राजिलले उसका समर्थकहरूको चाहना पुरा गर्न अब चार वर्ष कुर्नै पर्छ। तर, एमाले जस्तो शक्तिलाई भने सत्तामा चढ्न अर्को चुनावसम्म कुर्नु आवश्यक छैन। कुनै पनि बेला स्वार्थ बदल्न सक्ने नेताहरूको तानाबानामा आगामी पाँच वर्षभित्र जनताले धेरै सरकार देख्न पाउने छन्। यो पक्का हो।
त्रिशंकु संसद् बन्दा कागजस्ता नेताले काइदाको फाइदा लिएका उदाहरण खोज्न विदेश जानु पर्दैन भनेर हाम्रै इतिहास साक्षी छ। साढे दुई दशकदेखि हामीले भोग्दै आएको नियति नै यही त हो। तर, जे जति हातखुट्टा चलाए पनि अबको पाँच वर्ष हामीमाथि हामीले नचाहेकै व्यक्तिले राज गर्नेछन्। यो पनि पक्का हो।
उपाधि र सत्ताको भोक कहिल्यै थामिँदैन। त्यसैले त खेल र राजनीतिले सधैँ ‘एटेन्सन’ पाइरहन्छन्। त्यसैले पाँच कार्यकाल प्रधानमन्त्री बनिसकेका देउवा र पाँच पटक विश्वकप जितिसकेको ब्राजिललाई सत्ता र उपाधिको मोह अहिले पनि उत्तिकै छ, जति पहिलो पटक हात लाग्दा थियो।
लामो राजनीतिक संघर्षपछि शक्तिशाली प्रधानमन्त्री बनेका केपी शर्मा ओलीलाई कुर्सीको तातो जति प्यारो छ, चार वर्षअघि मात्रै उपाधि जितेको फ्रान्सलाई लगातार उपाधि जित्ने भोक त्यति नै छ। कतारमा होस् वा नेपालमा जो कोही पनि इतिहास दोहर्याउन र कीर्तिमान बनाउन चाहन्छन्।
फ्रान्स आधा शताब्दीपछि एउटै टोलीले लगातार दुई विश्वकप जितेको इतिहास दोहर्याउन चाहन्छ। अर्जेन्टिना विश्वकप चुमेर ३६ वर्ष लामो प्यास मेटाउन चाहन्छ। मेस्सी र अर्जेन्टिनाको यो चाहना कमल थापाको चुनावी सपना झैँ बन्छ भनेर यकिनसाथ भन्न चाहिँ सकिँदैन।
किनकि मेस्सीलाई इतिहास लेख्ने अवसर आइतबारसम्म छ, थापाले भने अवसर खेर फालिसकेका छन्। सूर्य चिन्ह लिएर जसरी थापाले राप्रपाविरुद्ध चुनाव लडेका थिए, त्यसरी नै अहिले फ्रान्सको नुन खाइरहेका मेस्सीको बाध्यता कर्मथलोलाई हराएर जन्मथलोलाई विश्व विजेता बनाउनु पर्नेछ।
नेपालका नेताले राजनेता बनेको सपना जति पटक देखेका छन्, त्यति नै पटक मेस्सीले सार्वकालिक महान् खेलाडी बन्ने प्रयास गरेका छन्। आफ्नो कप्तानीमा अर्जेन्टिनालाई फेरि एक पटक विश्व विजेता बनाएर। नेपालका नेताको राजनेता बन्ने सपना जति असम्भव छ,
महानतम् खेलाडी बनिसकेका मेस्सीलाई सार्वकालिक महान खेलाडी बन्न त्यति कठिनाइ छैन। विश्वविजेता कप्तान बन्न बस् उनलाई अब एक जितको आवश्यकता छ। त्यसका लागि उनले हाम्रा नेताझैँ षडयन्त्रका कुनै तानाबाना बुन्न पर्ने छैन। बस्, आफ्नो प्रतिभाको सही उपयोग गरे मात्रै पुग्छ।
कुरा जता र जति बङ्ग्याए पनि चुरो एउटै हुने रहेछ। नयाँले उफ्रिने मैदान मात्रै पाउँदा रहेछन्। चाहे नेपालको राजनीतिमा होस् वा कतारमा जारी विश्वकपमा। नयाँले जति ठेकी मथेपनि नौनी खाने त जानकार बाठा बिराला नै हुँदा रहेछन्। कतार र नेपालमा यही कुरा अहिले प्रमाणित हुँदै छ।
नेपालको भविष्यको राजनीतिको कुरो गर्ने हो भने आकासै नखसे मात्रै नत्र अबको पाँच वर्ष नयाँ अनुहारले यो देशमा शासन गर्ने छैन। जसरी विश्वकपले अबको चार वर्ष नयाँ विजेता पाउन सक्दैन, त्यसरी नै। होला नयाँ उदाएका दल र स्वतन्त्रले राजनीतिको कुनै गल्ली वा मोडमा मन्त्री वा लाभको कुनै पद पड्काउलान्।
तर, प्रधानमन्त्री बन्छु भनेर दाबी गर्ने नयाँ र युवा नेताहरूले आगामी पाँच वर्ष उही चाउरिएका अनुहारलाई नै नेता मानेर बस्नु पर्नेछ। प्रधानमन्त्रीज्यू भन्नु पर्नेछ। उता, नेपाली राजनीतिको कोर्स बदल्छु भनेर अजङ्ग बनेको राष्ट्रिय स्वतन्त्र पार्टीको हैसियत साउदी अरब झैँ बन्न नसक्ला पनि भन्न सकिँदैन।
कल्पना गरौँ, आइतबार राति आफूले हराएको अर्जेन्टिनाले कदंकदाचित विश्वकप चुम्यो भने साउदी अरबले के सोच्ला, आफूलाई विश्वविजेता दाबी गर्न त अवश्य सक्दैन। त्यही अवस्था हुनेछ, मुठ्ठीभर सिट जित्ने पार्टीले कहिले यता र कहिले उता समर्थन गर्दै सत्ताको स्वाद चाख्दा राष्ट्रिय स्वतन्त्र पार्टीको पनि।
राजनीतिका चतुर खेलाडीहरूले जोस भएका तर राजनीतिको अवगुण सिक्न नभ्याइसकेका यी युवा नेताहरूलाई बिरालोले मुसा खेलाए झैँ खेलाउँदैनन् भन्न सकिँदैन। संसद र सत्तामा हस्तक्षेपकारी भूमिकामा नरहँदा उनीहरूका वाचा खेर नजालान् पनि भन्न सकिँदैन। हुन त सेमिफाइनलसम्म पुगेको मोरक्कोले पनि देशबासीलाई एक पटक विश्वविजेताको सपना देखाएकै थियो।
तर, जसरी फ्रान्सले चुरीफुरी देखाएर सेमिफाइनलसम्म आएको मोरक्कोको हालत बनाइदियो, त्यही अवस्थामा रास्वपा नआउला भन्न सकिँदैन। फ्रान्ससँग विश्व विजेता बन्ने जुन अनुभव र क्षमता छ, त्यसकै अभावमा मोरक्कोले कडा टक्कर दिँदा पनि जित हात पार्न सकेन।
त्यही मोरक्कोकै अवस्थामा ल्याएको छ, यो आम निर्वाचनले रास्वपालाई पनि। ठूला खेलाडीले अनेक चाल चलेरै नयाँ उदाएका शक्तिलाई कमजोर बनाउने छन्। यस्तै हुन्छ, असल फुटबल र खराब राजनीतिको नियति। जुन कतार र नेपालमा महसुस गरिँदै छ। अब त हेर्न धेरै केही बाँकी छैन।
हेर्न बाँकी छ त बस्, कतारमा फ्रान्सले आधा शताब्दी पुरानो इतिहास दोहर्याउला कि मेस्सीको अर्जेन्टिना साढे तीन दशकपछि विश्व विजेता बन्ला भन्ने। अनि नेपालमा हेर्नुछ, पहिलो पालोमा शेरबहादुर नै प्रधानमन्त्री बन्लान् कि प्रचण्ड। फरक बस् यति छ, कतारमा विश्वकप सकिँदैछ। नेपालमा राजनीतिक चलखेल अब पो सुरु हुँदै छ!
Leave A Comment