नोभेम्बर २० बाट सुरु भएको कतार विश्वकप फुटबलमा अर्जेन्टिनाले त्यसको २ दिनपछि नोभेम्बर २२ मा समूह चरणको पहिलो खेल साउदी अरबसँग खेल्दा २–१ को लज्जास्पद हार भोग्यो । खेलमा पहिला अग्रता लिए पनि अर्जेन्टिनाले त्यसलाई बचाउन नसक्दा हार बेहोर्नु परेको थियो ।
लियोनल मेस्सीले यस विश्वकपको पहिलो गोल सोही खेलमा पेनाल्टीमार्फत् गरेका थिए । तर, दोस्रो हाफमा साउदीले मात्रै ५ मिनेटको बीचमा २ गोल गरेर नतिजा उल्ट्यायो । त्यस अग्रतालाई बचाएर खेल पनि २–१ ले जित्यो ।विश्वकप फुटबलको एक प्रमुख उपाधि दाबेदार मानिएको अर्जेन्टिनाले प्रतियोगिताको पहिलो खेलमै निकै लज्जास्पद हार भोग्यो,
फिफा वरीयतामा आफूभन्दा ४८ स्थान जुनियर टिमसँग । वरीयताको तेस्रो स्थानको अर्जेन्टिनालाई ५१औं स्थानको साउदीले नमिठो गरी हराएको थियो । साउदीसँग पराजित भएपछि अर्जेन्टिनाको चर्को आलोचना भयो । धेरैले अर्जेन्टिनाको उपाधि दाबेदारीमाथि प्रश्न उठाए । कतिले मजाक नै बनाए ।
अवस्था यस्तो थियो कि, साउदीसँग हारेपछि अर्जेन्टिना दोस्रो खेलमा मेक्सिको पराजित भएको थियो भने अर्जेन्टिना अन्तिम खेलअघि नै विश्वकपबाट आउट हुने थियो ।दोस्रो खेलमा मोरक्कोमाथि २–० को जित निकालेर प्रतियोगितामा जीवित बनेको अर्जेन्टिनाले अन्तिम खेलमा पोल्यान्डमाथि २–० कै जित निकाल्यो ।
यस खेलमा कप्तान मेस्सीले पेनाल्टी मिस गरेका थिए । यदि यो खेलमा अर्जेन्टिना हारेको थियो र अर्को खेलमा साउदीले जितेको भए पनि अर्जेन्टिना समूह चरणबाटै आउट हुन सकथ्यो । तर, अन्तिम खेलमा साउदी मोरक्कोसँग पराजित भयो र अर्जेन्टिनाले अन्तिम खेलमा पोल्यान्डलाई हराएपछि ऊ समूह विजेता बन्दै अन्तिम १६ मा गयो ।
पहिलो खेल हारेको अर्जेन्टिना ३ खेल सकिँदा समूह विजेता नै बन्यो ।त्यसपछि अन्तिम १६ मा अर्जेन्टिनाले सहज प्रतिस्पर्धी अस्ट्रेलियामाथि २–१ को कठिन जित निकाल्यो । यो खेल जितेर उपाधितर्फ अघि बढेको अर्जेन्टिनाले अन्तिम आठमा युरोपियन राष्ट्र नेदरल्यान्ड्समाथि पेनाल्टी सुटआउटमा ४–३ को जित निकाल्यो ।
यो खेल निकै विवादित थियो । जहाँ स्पेनिस रेफ्रीले १७ वटा कार्ड देखाएका थिए, जुन विश्वकपकै रेकर्ड थियो । यो खेल पनि जितेर अघि बढेको अर्जेन्टिनाले सेमिफाइनलमा २०१८ को रसिया विश्वकपको फाइनल खेलेको क्रोएसियामाथि ३–० को शानदार जित निकाल्यो । र, फाइनल प्रवेश गर्ने पहिलो टिम बन्यो ।
त्यत्ति मात्रै हैन, रसिया विश्वकपको समूह चरणमा क्रोएसियासँग भोगेको ३–० को नमिठो हारको बदला पनि अर्जेन्टिनाले क्रोएसियासँग यस विश्वकपको सेमिफाइनलमा लिन सफल भयो । लगातार दोस्रो विश्वकपको फाइनल खेल्ने सपना बोकेर हिँडेको लुका मोड्रिचको टिममाथि शानदार जित निकालेको अर्जेन्टिना भोलि फाइनल खेल्दै छ ।
यात्रा– पहिलो खेलमा साउदीसँग लज्जास्पद हार भोगेर विश्वकप यात्रा सुरु गरेको अर्जेन्टिना भोलि साबिक च्याम्पियन फ्रान्ससँग उपाधि भिडन्त गर्दैछ । अर्जेन्टिनाको यो यात्रा निकै अपत्यारिलो र सम्झनायोग्य छ ।भोलि फाइनल जिते यो झनै भावनात्मक र मिठो हुनेछ ।
तर, पराजित भए यो यात्रा केवल खराब सपना जस्तो मात्रै बन्नेछ, जसलाई सम्झिँदा भन्दा पनि बिर्संदै राम्रो । जब अर्जेन्टिना समूह चरण छिचोलेर समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको थियो, कप्तान मेस्सीले आफूहरूले फाइनल खेलेरै छाड्ने र आफूहरूले करोडौं समर्थकलाई सजिलै निराश हुन नदिने बताएका थिए ।
‘हामी जहाँ हुनुपर्ने हो, त्यहीं हुँदैछौं । अर्जेन्टिनाबिनाको विश्वकपको नकआउट हामी कल्पना गर्न सक्दैनौं । हामी सबैलाई भन्न चाहन्छौं– अर्जेन्टिना फेरि एकपटक फाइल खेल्न गइरहेको छ ।’३५ वर्षका मेस्सीले खराब समयमा टिमलाई सम्हालेर अघि बढाए । र, आफ्नो बाचा पूरा गरे ।
उनको बाचा अनुसार नै अर्जेन्टिना आज विश्वकपको फाइनलमा छ । सेमिफाइनलमा क्रोएसियामाथि ३–० को जित निकालेर फाइनल पुगेपछि मेस्सीले फेरि अर्को बाचा गरेका छन् कि, यो समय अर्जेन्टिनाले विश्वकप जित्ने समय हो । ‘हामी जहाँ हुनुपर्ने हो, आज त्यहाँ छौं ।
अर्जेन्टिना फेरि एकपटक विश्वकपको फाइनल खेल्दै छ । र, हाम्रा सबै समर्थक र अर्जेन्टिनाका जनतालाई भन्न चाहन्छु– यो अर्जेन्टिनाले विश्वकप जित्ने समय हो । हामी आइतबार एक उत्कृष्ट र उत्सवको रात बाँच्न गइरहेको छौं ।’अहिले अर्जेन्टिना र मेस्सीका धेरै समर्थकलाई के आशा छ भने– यस विश्वकपका २०१० को विश्वकपको कहानी दोहोरिनेछ ।
२०१० को विश्वकपको विजेता स्पेनले समूह चरणको पहिलो खेलमा स्वीट्जरल्यान्ड्सँग पराजित भएको थियो । तर, फाइनलमा उसले नेदरल्यान्ड्सलाई १–० ले हराएर उपाधि नै जित्यो । यसपटक विश्वकपमा सोही कथा दोहोरिने धेरैको अपेक्षा छ । कतार विश्वकपमा लियोनल मेस्सीको टिम अर्जेन्टिना पहिलो खेलमा साउदी अरबसँग २–१ ले हारेर यात्रा सुरुआत थियो ।
र, अर्जेन्टिना समूहबाट विजेता बन्दै अघि बढेर आज फाइनलमा छ । के यस विश्वकपमा अर्जेन्टिनाले २०१० मा स्पेनकै जस्तै कहानी दोहोराउन सक्ला ?के भोलि मेस्सीले गरेको यो बाचा पूरा हुने दिन हो ? के अर्जेन्टिना ३६ वर्षपछि फेरि एकपटक विश्वको च्याम्पियन बन्दैछ । के भोलि मेस्सीले सन् २०१४ को ब्राजिल विश्वकपमा भोगेको हारको पीडा भुल्ने दिन हो ?
के ७ पटक बालोन डिओर जितेका ३५ वर्षका मेस्सी करियरको अन्तिम विश्वकप खेल्दै गर्दा उपाधि जितेर सुखद् बिदाइ लिन जाँदैछन् ? वा, फुटबल इतिहासकै एक महान खेलाडी मेस्सी विश्वकप उपाधि नजिती आँसुका साथ बिदा लिँदैछन् ? यी सबै प्रश्नको जवाफ भोलि फ्रान्ससँगको खेलपछि एकैपटक आउनेछ ।
Leave A Comment